प्रधानन्यायाधीशसँग ‘साइनो’ भएको एउटा मुद्दा जसले बसाउँदैछ भ्रष्टाचार मुद्दामा नजिर

नेपाल लाइभ

काठमाडाै‌ं

काठमाडौं- २०७२ सालदेखि एउटा मुद्दा सर्वोच्च अदालतका एक पछि अर्को इजलासमा रुमल्लिइरहेको थियो। गत माघ २९ गते त्यो मुद्दामा अन्तिम सुनुवाई शुरु भएको छ। यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको कुरा हो।

अख्तियारले दर्जनौं मुद्दा अदालतमा लैजान्छ। उसले दायर गरेको तिनैमध्ये एउटा मुद्दाको चर्चा किन भन्ने प्रश्न पनि उठ्न सक्छ। हुन पनि सर्सर्ती हेर्दा यो एक थान मुद्दा मात्र हो। तर, यसले बोकेको वजन निकै ठूलो छ। ठूलो वजन यसकारण कि यो मुद्दाबाट अख्तियारले विगतमा दायर गरेका मुद्दा र भविष्यमा दायर गर्ने मुद्दासम्मका लागि लागि नजिर कायम हुनसक्छ। 

यो मुद्दाको पछिल्लो पेसी फागुन ६ गते तोकिएको थियो। न्यायाधीशहरु पुरुषोत्तम भण्डारी, शुष्मालता माथेमा र मनोज शर्माको इजलासले यसलाई हेर्दाहेर्दैमा राखेर सुनुवाई गरिरहेको छ। सर्वोच्च अदालतमा पाँच वर्षदेखि विचाराधीन यही एउटा मुद्दाका कारण करिव ४ सय  भ्रष्टाचारका  मुद्दा फैसला हुन सकेका थिएनन्। जस्तो कि, पूर्वमन्त्री गोविन्दराज जोशीलगायतका ‘हाइप्रोफाइल’ मुद्दा वर्षौंदेखि फैसला हुनबाट रोकिनुको कारण यही मुद्दा हो। किनभने यो मुद्दा २०७२ सालदेखि निरन्तर पेसी चढ्ने तर सुनुवाइ नहुने हुँदै आएको थियो।  

अख्तियारले २०५० सालदेखि दर्ता गरेका र हाल पुनरावलोकनका लागि सर्वोच्च अदालतमा आइपुगेका भ्रष्टाचारसम्बन्धी कैयौं मुद्दा  यही मुद्दामा ब्याख्या हुन नसक्दा इजलासमा रोकिँदै आएका छन्। पूर्वमन्त्री एवं नेपाली काग्रेसका नेता गोविन्दराज जोशीको मुद्दामा अन्तिम वहश सकिएर फैसलाको तयारी अवस्थामा पुग्दा पनि यही मुद्दामा निर्माण हुने नजिर पर्खनुपर्ने भएपछि रोकिएको छ। 

प्रकाशित मिति: : 2021-02-21 09:39:00

प्रतिकृया दिनुहोस्