दहेजको ओतमुनि विलुप्त कानून

वरपक्षः सुनीं, मोटरसाइकल नाया चाहीं।
(सुन्नुस्, मोटरसाइकल नया“ चाहिन्छ)।

वधुपक्षः (दुलहीका मामा अनुनय विनय गर्दै) सुनिना, जाथापाथा बहुत कम बा बहनोई साहेब लगे, तनी रहम करल जा'व (सुन्नुस् न, सम्पती थोरै छ भिनाजुस'ग, अलि विचार गर्नुहोस्)।

वरपक्षः (वरको फुपाजु चुरोटको धुँवा मुख र नाकबाट फाल्दै) अपने के पाता बा ? (कन्याको बुबालाई औंला देखाउँदै, रुखो स्वरमा) ऐथी वाला आइल रहलन त का–का देत रलन, ओतना त कह दियाई त अपने सकबे ना करेम (तपाईलाई थाहा छ ? फलानो आएका थिए त के–के दिन भनेका थिए, त्यति बताइदियो भने त तपाईं सक्दै सक्नु हुन्न)।

वधुपक्षः (दुलहीको बुबा गम्छाले अनुहार पुच्छदै) सम्धीजी। (लवज अवरुद्ध हुन थालेपछि, भूइँतिर हेर्दै) बच्ची हमर शिक्षित हिं ना शुशील भी बिया। अपने के घर के लायक बिया। कृपा कर के स्वीकार करीं। खातिरदारी में कौनो कमी ना होखे देहेम्। (छोरी मेरो शिक्षित मात्र होइन सुशील पनि छिन्। तपाईंको घरको लायक छिन्। कृपया स्वीकार गर्नुहोस्। स्वागतमा कुनै कमी हुन दिने छैन।)

माथि उल्लिखित सम्वाद जस्तै देहातमा दहेजको विषयमा वाद–प्रतिवाद हुने गर्दछ। शिक्षित वर्गको पक्की घरहरुको बन्द कोठाभित्र हुने सम्वाद झन् अकल्पनीय नै भन्नुपर्छ। आफूलाई देशको नीति–निर्माताको कतारमा उभ्याइरहने पात्रहरुको दहेज, विवाह र भव्य भोजभतेरको सवालमा कानून मिचाइ“लाई वर्णन गर्नु वा शब्दमा कोर्नु असाध्य छ। 

पहिलो विडम्बना, जो दहेज माग गर्ने कार्यमा बढी उद्यत छन्, उनीहरु स्वयम् आफ्नी बहिनी/छोरीको विवाहमा भ्याएसम्म दहेज प्रथाको विरोध गर्छन्। 

दोस्रो, बहिनी÷छोरीको विवाहमा दिएको दहेजभन्दा दोब्बर/तेब्बर दहेज भाइ/छोराको विवाहमा माग गर्ने मानसिकता बढ्दो छ। 

तेस्रो, छिमेकीभन्दा आफूलाई अब्बल देखाउने प्रवृत्तिले पनि दहेजप्रथा झाँगिदै गइरहेको छ।

‘मोटरसाइकिल कहिया ले कसाई ? नगदी पैसा कबले देहेम ? लडका के कपडा आ सिलाई के पैसा अभी तक काहे ना देनी ? बियाह कैसै होइ ?’ लगायतका प्रश्नहरु वैवाहिक लगन सुरु भएसँगै केटी पक्षलाई तारम्तार केटा पक्षबाट ताकेता गर्नु नौलो विषय होइन। 

देशको सामाजिक विकृतिहरुमध्ये दहेज (दाइजो) प्रथा पनि एक हो। दहेज प्रथा सामाजिक रोग मात्र होइन, यो महारोग हो। यो वा त्यो बहानामा दहेज प्रथाले कोरोना भाइरस जस्तै अदृश्य रुपमा समाजलाई क्षत–विक्षत पारिरहेको छ।  

पिताको पीडा

एक कन्याका पिताले पोखेको दुखेसो यहाँ प्रस्तुत गर्न उपयुक्त हुन्छ। सम्वेदनशीलतालाई मध्यजनर गरी ती पिताको नाम र वतन उल्लेख गरिएको छैन। 

रोज ६ सय रुपैयाँ बनिहारी (ज्याला) मा परिवार पालिरहेका ती मजदुर पिताको भनाइ अत्यन्तै वियोगान्तक छ। उनी पर्साको ग्रामीण क्षेत्रका वासिन्दा हुन्। उनी भन्छन्, ‘जेठी छोरीको विवाह गर्न लागेको हुँ। दाइजोमा एक नयाँ मोटरसाइकल र नगदीसमेत गरी करीब आठ लाख रुपैयाँ खर्च हुुने अनुमान छ।’ 

उनी तीन छोरी र एक छोराको बुबा हुन्। सम्पत्तिको सवालमा उनीस“ग सात कठ्ठा खेत, एक खपडाको घरसहित पाँच धुर घडेरी छ। सात कठ्ठा खेतको अन्नले छ जनाको परिवार पाल्न सम्भव छैन। विवाहको समग्र खर्च व्यहोर्ने क्रममा कम्तिमा पनि उनले दुई कठ्ठा खेत बिक्री गर्नुको विकल्प छैन। 

यसरी तीन छोरीको विवाह गर्दासम्म उनीसँग भएको खेत दहेजमा स्वाहा हुन्छ। अब उनीसँग छ धुर घडेरी र ओत लाग्ने एक घरबाहेक केही पनि बच्दैन। दुई छाकको भोजन, औषधि, लत्ताकपडा आदिको पूर्ति छ सय रुपैयाँको बनिहारीले सम्भव देखिँदैन। 

यद्यपि छाक टार्नको लागि उनले वर्षको तीन सय ६५ दिन मरी–मरी काम गर्नुपर्छ। बिरामी परेमा परिवार भोकै बस्नुको विकल्प छैन।

उक्त घटना त केवल प्रतिनिधि उदाहरण मात्र हुन्। मालवस्तुसरह मोलमोलाई गरी अत्यधिक दहेज लिएर छोरा बिक्री गर्ने प्रवृति नै ‘दहेजप्रथा’ हो। वधुपक्षमाथि बज्रपात हुनेगरी दहेज लिएर वरपक्ष कसरी खुशी मनाउदो होला ? आश्चर्यलाग्दो छ। 

यो सामाजिक कुरीतिले पिताहरुमा चिन्ता बढ्ने, मानसिक तनाव हुने, दीर्घरोगी हुने र अल्पायुमै दिवंगत हुने अदृश्य अवस्था विद्यमान छ। दहेज प्रथाले कोरोना भाइरसजस्तै समग्र समाजलाई सङ्क्रमित तुल्याइरहेको छ। 

पुरातनकालमा ‘कोसेली’ 

परापूर्वकालमा दहेजलाई साकारात्मक मान्यतासहित सुरुवात गरिएको पुरनियाहरु बताउ“छन्। त्यतिबेला दहेज तय गरी विवाह गर्ने चलन थिएन। माइती पक्षले आफूखुशी छोरीलाई ‘बाएन’ (कोशेली) दिने परम्परा थियो। माइतीपक्षको लागि छोरी जहिल्यै पनि मान्यवर हुन्।

माइतीबाट छोरी बिदाई हुँदाका बखत ‘बाएन’ सहित बिदाइ गर्ने चलन पहिले पनि थियो र अहिले पनि छ। र, यो सदियौंदेखिको स्थापित चलन हो। मानव सभ्यताको विकाससँगै ‘कोशेली’ नै ‘दहेज’ को स्वरुपमा विकासित भएको पुरनियाहरु बताउँछन्। अहिले दहेज विकृतिको रुपमा जरा मात्र गाडेको छैन्, झाँगिदै गइरहेको छ। 

पुरातनकालमा अपवादबाहेक प्रायः बालविवाह नै हुन्थ्यो। विवाहका बेला बेहुला–बेहुली सानो उमेरको भएकोले नयाँ जीवन शुभारम्भ गर्ने हेतुले केटी पक्षले उपहार स्वरुप जेबर, लत्ताकपडा, बत्र्तन, फर्निचर, अन्न आदि दिएर छोरीलाई बिदाइ गर्ने प्रचलन थियो। 

जेवर दिनुको मुख्य उद्देश्य भनेकोे आर्थिक सङ्कट परेका बेला दम्पतीले जेवर बन्धकी राखेर वा बेचेर समस्या समाधान गर्ने अभिप्राय थियो। यही सोचका कारण मातापिताले छोरीको जीवन आरम्भको अभिप्रायले गच्छेअनुसारको सामग्री सहित ‘कन्या– दान’ गर्दथे। अहिले बालविवाह कानूनतः निरुत्साहित छ। 

शिक्षा, नोकरी र परिपक्व उमेरमा केटाकेटीको बिहे हुन थालेको छ। तसर्थ, दहेज प्रथा आजको परिवेशमा लाजमर्दो कुरा हो। विगतकोे सकारात्मक सुरुवात अहिले विकृतिको रुपमा फैलिरहेको छ। सूर्यलाई बादलले ढाकेजस्तै हाम्रो मूल संस्कृति आधुनिकताको परतमुनि विलुप्त हुने क्रममा छ। ‘कन्यादान’ किन ‘दहेजदान’मा आधारित हुन थालेको छ ? दोषी कसलाई मान्ने ? तपाईं आफैसँग प्रश्न गर्नुहोस्।

दहेजप्रथाबारे विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग गरिएको कुराकानीको संक्षिप्त अंश प्रस्तुत छ।

No description available.  
दहेज, विवाह र जन्ती नियन्त्रण सम्बन्धी कानून छ। सामाजिक व्यवहारमा सुधार गर्न ‘सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ बनेको छ। सामाजिक व्यवहार भन्नाले विवाह, ब्रतबन्ध, चूडाकर्म, पास्नी, न्वारान, जन्मदिवस, छैठी (छठीयार), बूढो–पास्नी र पितृ–कार्य समेतलाई जनाउ“छ। 

यो ऐन सकारात्मक रुपमा कार्यान्वयन गर्ने होे भने दहेज प्रथा र विवाहसँग सम्बन्धित कुरीतिहरु निर्मूल गर्न सकिन्छ तर यसको लागि राज्य पक्षबाट उत्तरदायित्व सहित तदारुकता आवश्यक छ। यदि राजनितिक दल सही मानेमा समाजको भलोको निम्ति तत्पर छन् भने कानून पालनाको सवालमा सबभन्दा पहिले उनीहरुले आफैँबाट सुरुवात गरेर देखाउनुपर्छ। 

सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ मा अङ्कित कानूनी प्रावधानहरु मध्ये केही बुँदाहरु प्रस्तुत छ।

सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ को दफा ३ को तिलकमा नियन्त्रण को उपदफा (१) ‘विवाह हुँदा तिलक लिन दिन हु“दैन’ उल्लेख छ। 

त्यस्तै, ऐ. ऐनको दफा ५ दाइजोमा नियन्त्रण को उपदफा (१) ‘विवाह हुँदा वा विवाहपछि दुलही पक्षबाट दुलही वा दुलहालाई यति नगद, जिन्सी, दाइजो, दान, बकस, भेटी, विदाई उपहार समेत जुनसुकै रुपमा दिनुपर्छ भनी दुलहा पक्षले कर लगाउन वा यति लिनेदिने भनी दुवै पक्षले अगावै तय गर्नु हुँदैन र दाइजो दिएन भनी दुलहा पक्षले टण्टा गर्न वा विवाह गर्न इन्कार गर्न वा विवाह भइसकेको भए दुलही विदाई गराई साथ नलग्ने वा दुलही पछि मात्र विदाई गराई लग्ने प्रथा भएकाहरुले पछि बिदाइ गराई लग्न इन्कार गर्नु हुँदैन।’ 

उपदफा (२) मा ‘विवाह हुँदा जिउमा लगाएको एकसरो गहनाबाहेक आफ्नो कुल परम्पराअनुसार राजीखुशीले दिनेले पनि बढीमा १० हजार रुपैया“सम्मको मात्र दाइजो दिन हुन्छ।’

त्यस्तै, ऐ. ऐनको दफा ७ जन्त सम्बन्धी नियन्त्रण को उपदफा (१) ‘बाजावाला लगायत ५१ जनाभन्दा बढी बरीयात लान हुँदैन’, उपदफा (२) ‘जन्तमा कुनै प्रकारको भाडावाल नाँच लग्न हुँदैन’, उपदफा (३) ‘जन्तमा आतसबाजी गर्न हुँदैन’, उपदफा (४) ‘जन्तमा एघार जनाभन्दा बढी बाजावाला राख्न हुँदैन’, उपदफा (५) ‘यस दफा उलङ्घन गर्नेलाई १० हजार रुपैयाँसम्म जरिवाना वा १५ दिनसम्म कैद वा दुवै सजाय हुनेछ’, भनी उल्लेख छ।

त्यस्तै ऐ. ऐनको दफा ८ विवाह भोजमा नियन्त्रण को उपदफा (१) ‘दुलहा र दुलही पक्षबाट आयोजित भोजमा नजिकको नातेदार बाहेक अरु छरछिमेकी इष्टमित्रहरुमध्येबाट ५१ जनाभन्दा बढी व्यक्तिलाई आमन्त्रण गर्नुहुँदैन।’

ऐ. ऐनको दफा १३ स्थानीय तहको दायित्व को उपदफा (१) ‘यो ऐन बमोजिम गर्न नहुने काम कुनै व्यक्तिबाट हुन वा गर्न लागेको बुझिएमा सो कार्य नगर्नु भनी स्थानीय गाउँ वा नगरपालिकाले सम्बन्धित व्यक्तिलाई सम्झाउनु बुझाउनुपर्नेछ।’

उपदफा (२) ‘उपदफा (१) बमोजिम सम्झाउँदा बुझाउँदा पनि सम्बन्धित व्यक्तिले अटेर गरी गर्न नहुने काम गरेमा वा गर्न लागेमा त्यस्तो व्यक्ति उपर कानूनी कारवाई हुन जिल्ला कार्यालयमा जनाउ दिनुपर्ने छ।’

No description available.
दहेजप्रथाको विरुद्धमा सञ्चारमाध्यमहरुले पहिलेदेखि नै आवाज उठाउँदै आइरहेका छन्। दहेज निर्मूल गर्ने सन्दर्भमा कुनै एक पक्षको क्रियाशीलताले मात्र सम्भव हुँदैन। यसको लागि समग्र समाजले आआफ्नो उत्तरदायित्व बुझ्नुपर्छ। 

वैवाहिक सम्बन्ध भनेको नित्तान्त रुपमा दुलहा–दुलहीसँगै दुई परिवारको अन्तर्घुलन पनि हो। दहेज लेनदेनको प्रकृयामा कुनै एकपक्ष मात्र दोषी छ भन्ने लाग्दैन। छोरी जन्मिनासाथ अभिभावकमा अब दहेज दिएर छोरीको विहे गर्नुपर्छ भन्ने मानसिकता पलाउनु दुर्भाग्यपूर्ण हो। 

गरीबी र अशिक्षा पनि कारण हो। छोरीले आफ्नो खुट्टामा उभ्न सक्ने क्षमताको विकासको लागि अभिभावक वर्गले छोरीको शिक्षामा बढी जोड दिनुुपर्छ। वरवधुपक्षले एकअर्काको पीरमार्का बुझ्नुपर्छ। 

समाजमा उदाहरणीय बन्नसक्ने प्रकृतिको वैवाहिक क्रियाकलाप अपेक्षित छ। यसविरुद्ध सञ्चारमाध्यमहरुले अझ सशक्त रुपमा आवाज उठाउनु आवश्यक छ। जागरुकता फैलाउने कार्य निरन्तर गर्नुपर्छ।

No description available.

दहेज जस्तो सामाजिक कुप्रथाको विषयमा उठान गर्नु भएकोमा तपाईंलाई धन्यवाद छ। हामी सबैलाई थाहा छ –यो सामाजिक विकृति हो। निर्मूल हुनुपर्छ। 

कानूनी पक्ष लागू गर्ने सवालमा नीतिनिर्माण तहबाट सक्रियता सहितको शुरुवात हुन जरुरी छ। कानूनविरोधी कार्य गर्ने जो कोही किन नहोस्, प्रचलित कानून बमोजिम दण्डित गर्नुपर्छ। यसो गर्दा कानून लाग्छ भन्ने सचेतना समाजमा फैलिन्छ। 

नियामक निकायकोे काम कारवाही पनि उत्तिकै महत्वपूर्ण छ। समाजलाई कानूनको मूल्य मान्यता अनुभूति गराउने सवालमा जिम्मेवारी बहन गर्नुपर्छ। ‘सानालाई ऐन र ठूलालाई चैन’ जस्तो प्रवृतिको अन्त्य हुनुपर्छ। 

ठूलाबडाहरुको उपस्थितिमा कानूनको उलङ्घन भइरहेको कुरा सर्वज्ञात छ। धेरैलाई यो नराम्रो लाग्न सक्छ तर यो कटु सत्य हो। राजनीतिक दलहरुले सामाजिक भलोको काममा इमान्दार हुन जरुरी छ  । 

‘मोछ के सवाल बा’ अर्थात्  आनबान र शानको कुरालाई इङ्गित गर्दछ ।  मानसिकताले पनि सामाजिक कुरीतिमा मलजल भइरहेको पाइन्छ। निर्मूल हुन सकिरहेको छैन। छिमेकीले गरेको खर्च भन्दा आफू बढी खर्च गरी दुनियाँलाई देखाउने प्रवृति दुर्भाग्यपूर्ण भन्नुपर्छ। 

कतिपय केटा पक्षले केटी पक्षलाई विहेको लागि प्रस्ताव गर्दा नानाथरिका शंका उपशंका गर्ने प्रवृति पनि देखिन्छ। केटापक्षले किन पहल गरेको होला ? केटामा केहि समस्या छ कि ? भन्ने खालका शशंकित मानसिकताले परिवर्तन कसरी हुन्छ ? यसले के सिद्ध हुन्छ भन्ने छोरी पक्षले मात्र विहेको लागि पहल गर्नुपर्छ। 

यो पुरातन मानसिकता परिवर्तन हुन जरुरी छ। समय बदलि“दो छ। केटापक्षले विहेको लागि प्रस्ताव राख्नु समयसापेक्ष परिवर्तन हो भनेर बुझ्नुपर्छ। सराहनीय भन्नुपर्छ। 

छोरीको विवाह गर्दा दहेज दिनु अपराध झैं लाग्ने अभिभावकलाई छोराको विवाह गर्दा मनग्ये दहेज लिने मनोविज्ञानले पनि दहेजप्रथा उन्मूलन हुन सकिरहेको छैन। दहेजप्रथा निर्मूल गर्ने सवालमा सामाजिक सचेतना आवश्यक छ।

प्रकाशित मिति: : 2021-02-21 16:15:00

प्रतिकृया दिनुहोस्