'नदी सप्तक' कविता शृङ्खला- १०

मान्छे र कालीगण्डकी

राखी गौचन

अमेरिका

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै। यो त आफैँमा जागरण पनि हो। चेत पहिल्याउने बाटो पनि हो। कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी। अर्को नदी अर्थात् कालीगण्डकी। यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले।

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी। ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन्। पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो। यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ। स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ।

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ। नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन्।

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ। नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ। यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ।

त्यसलाई कवितामार्फत मुखरित गर्न ’कालीगण्डकी बचाऔँ अभियान’ले 'नदी सप्तक श्रृङखला' (आन्दोलन कविता) सुरू गरेकाे छ।

यस अन्तर्गत दशाैँ श्रृंखलामा कवि राखी गौचनकाे कविताः

मान्छे र कालीगण्डकी

जन्म र मृत्यबीचको छोटो दुरीलाई 
के कुनै एकाइ छ नाप्ने ? 

तर एउटा इतिहास लेखिन सक्छ 
सुखद बाचिरह्यो भने
कालीगण्डकीको निलो पानी 
हाँसिरह्यौ भने शालिग्राम निस्फिक्री बगरमा 
खिइँदै जानुमा र खियाउँदै लैजानुमा फरक नदेख्ने आँखाहरुबाट 
पक्कै बग्दैन आँसु 
बेचेर माटोको रङ 
कस्तो भविष्य छोड्न खोजिरहेछौं हामी ?

क्षितिजपारिबाट हेरिरहेको नवजात घामलाई 
पत्रपत्र च्यातेर आमाको गुन्युझैं 
किन सेक्न खोजिरहेछौं हामी आफ्नो मात्रै देह ?
भत्काइदिएर प्रकृतिको घर... 
किन आतुर छौं हामी 
प्लास्टिकका फूलहरूमा सुगन्ध खोज्न ?
फाँडेर हरिया जंगलहरू 
किन सजाइरहेछौं 
कंक्रिटको टावरमा आर्टिफिसियल ट्रिज ?
भत्किएपछि पद्धति 
कहाँ बाँकी रहला र हाम्रो अस्तित्व ।

पानी खतरनाक हुन्छ 
यसले बिर्सिएपछि 
बाटो तहसनहस हुन सक्छ 
तहसनहस हुन सक्छ 
मान्छेको अभिमान र
उग्र सभ्यता

को हो कालीगण्डकीको  डिलमा बसेर 
पानीमा बल्छी लगाइरहेको शासक जस्तो मान्छे ?

यसलाई पाेस्टरमा पनि पढ्न सकिन्छः

प्रकाशित मिति: : 2021-09-27 20:30:00

प्रतिकृया दिनुहोस्