म्याग्दीमा झुटा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्ने पक्राउ

Symbolic photo

म्याग्दीमा झुटा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्ने पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा धवलागिरि गाउँपालिका–३ का ५५ वर्षीय रेशमबहादुर भण्डारी रहेका छन्। 

अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोजेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। 

दीपक भण्डारीकी १५ वर्षीया छोरी दिवा भण्डारीको नाबालक परिचयपत्र बनाउन आफ्नो छोरी भएको नक्कली कागजात पेश गरेका रेशमबहादुरलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए।

‘रेशमबहादुरले पेश गरेका कागजात शङ्कास्पद भेटिएपछि प्रशासनको निर्देशनमा छानबिनका लागि नियन्त्रणमा लिएका हौँ’ 

झुटा विवरण पेश गरेर लिखतसम्बन्धी कसुर गरेको अभियोगमा पक्राउ परेका उनीमाथि थप छानबिन गर्न अदालतबाट म्याद थप गर्न अनुमति मागेको राईले बताए।

दिवालाई विदेश (जापान) पठाउनका लागि नाबालक परिचयपत्र बनाउन लागेको प्रारम्भिक बयानका क्रममा रेशमबहादुरले बताएका थिए।


 

प्रकाशित मिति: : 2021-02-21 17:47:00

प्रतिकृया दिनुहोस्