सेयर बजारमा करेक्सन

४१ अंकले बढ्यो नेप्से, कारोबार रकम तीन अर्बमा खुम्चियो

Symbolic photo
Symbolic photo

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा करेक्सन भएको छ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार मंगलबार बजार ४१ दशमलव ८४ अंकले बढेको हो।

एक दशमलव ६३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक दुई हजार ६१२ दशमलव ६५ अंकमा उक्लिएको छ।  सेयर बजारमा  मंगलबार करेक्सन देखिए पनि कारोबार रकम भने निराशाजनक रह्यो।

मंगलबार २२३ कम्पनीको ५८ लाख ४२ हजार एक सय ३५ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ९९ करोड ६८ लाख १९ हजार ६ सय ८३ रुपैयाँ बराबरको मात्र कारोबार भएको हो।

नेप्सेका अनुसार मंगलबार शिखर इन्स्युरेन्सको संस्थापक सेयरको उच्च कारोबार भएको छ। शिखरको १३ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको हो।

सबैभन्दा धेरै फाइनान्स समूह चार दशमलव १६ प्रतिशत अर्थात् ८६ दशमलव ९८ अंकले बढेको छ। मंगलबार बजार बढेको दिनमा ट्रेडिङ समूह मात्र ओरालो लागेको छ। ट्रेडिङ समूह ५६ दशमलव ०५ अंकले घटेको हो। अरु बाँकी सबै समूहमा हरियाली छाएको छ।

बजारमा करेक्सन आएको दिन मंगलबार विभिन्न सात कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। मल्टिप्रप्रोज फाइनान्स, समता घरेलु लघुवित्त र हिमालय पावरको सेयर मूल्य १०/१० प्रतिशतले बढेको हो।

त्यसैगरी, मैलुङ खोला जलविद्युत् नौ दशमलव ९७, सिभिल लघुवित्त नौ दशमलव ०४, छ्याङ्दी हाइड्रोपावर नौ दशमलव ८९ र जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य नौ दशमलव ८४ प्रतिशतले बढेको हो।

त्यसैगरी, एनआईसी एसिया लघुवित्त १० प्रतिशत, रिलायन्स लाइफ तीन दशमलव ३२ प्रतिशत र माउन्टेन इनर्जीको सेयर मूल्य तीन दशमलव ३० प्रतिशतले घटेको हो। 

प्रकाशित मिति: : 2021-10-05 16:15:00

प्रतिकृया दिनुहोस्