चुडामणि शर्माको फाइल खोल्दै अख्तियार 

भ्रष्टाचारका ८७ वटा फाइल खोल्दा २१ अर्ब अनियमितता भएको अनुमान 

File Photo/Rss
File Photo/Rss

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मामाथि परेको उजुरीमाथि पुनः छानबिन सुरु गर्ने भएको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा शर्माले कम्तिमा २१ अर्ब रुपैयाँ राजश्व हिनामिना गरेको पाइएको छ।

अख्तियारले शर्माले गरेको अनियमितताका १ हजार ७८ फाइलमध्ये ८७ वटा फाइलको अनुसन्धान पहिल्यै गरेको थियो। अब शर्माको बाँकी फाइलको अनुसन्धान अघि बढाउने भएको हो। 

प्रारम्भिक अनुसन्धानका क्रममा ४० अर्ब ८३ करोड बढी कर फछर्यौटको निर्णय गर्दा राज्यकोषमा दाखिला हुनुपर्ने २१ अर्ब रुपैयाँ छुट दिएको देखिएको छ। अख्तियारका एक उच्च अधिकारीले भने, ‘अहिलेसम्मकै सबैभन्दा ठूलो घोटाला हो यो।’

सहसचिव शर्माले कर फछ्र्यौटका क्रममा अधिकांश करदाता कम्पनीलाई ९९ प्रतिशतसम्म कर छुट गराएर राज्यलाई घाटा पारेको देखिएको छ।

त्यस्तो रकम संलग्नहरुबीच बाँडफाँड भएको देखिएको छ। उनले मदिरा उत्पादक कम्पनीलाई यस्तो छुट दिएका छन्।

एक मदिरा कम्पनीले छुट माग गरेको रकम नै नखुलाई पटक–पटक गरी छुट दिएको, मदिरा बनाउने कच्चा पदार्थ गोलमाल गरी लुकाएकोमा निर्धारण भएको कर पनि मिनाहा गरेको पाइएको छ।

यतिसम्म कि एउटा मेशिन खरिद कम्पनीले कट्टा गर्नुपर्ने कर २६ लाख र कम्पनीको आयकर १ करोड २५ लाख रुपैयाँका लागि ३ लाख रुपैयाँमा सहमति गरी बाँकी रुपैयाँ मिनाह गरेको देखिएको छ। यसरी उनले राज्यले पाउनुपर्ने राजस्व रुपैयाँमध्ये कम्तिमा ९९ प्रतिशतसम्म मिनाह गरेको पाइएको हो।

यस्तै, कर फ्छर्यौट आयोगले सफाई दिएको एउटा व्यापारिक फर्मले ४ अर्ब रुपैयाँ राजस्व तिर्नुपर्ने देखिएको थियो। आयोगले ४ करोड रुपैयाँ असुलेर अरु रकम मिनाह गरेको पाइएको एक अनुसन्धान अधिकृतले बताए।

शर्मा बिशेष अदालतमा १ करोड धरौटी बुझाएर छुटेका व्यक्ति हुन्। उनको मुद्दा चलिरहेको छ।

प्रकाशित मिति: : 2021-02-22 18:06:00

प्रतिकृया दिनुहोस्