महोत्तरी: झा दम्पतिको अवस्था अझै अज्ञात

विजय साह

जनकपुर

महोत्तरीको पिपराबाट सोमबार मध्यरातीदेखि बेपत्ता भएका झा दम्पतिको अवस्था अझै अज्ञात रहेको छ। उनीहरूको अवस्थाबारे बुधबार बिहानसम्म पनि केही थाहा हुन सकेको छैन।

महोत्तरी प्रहरीले मंगलबार दिनभरि खोजेपनि उनीहरूको अवस्था बारे पत्ता लगाउन सकेनन्।

शंकास्पद व्यक्तिहरुलाई बोलाएर बेपत्ता दम्पतीबारे सोधपुछ गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए।

जिल्लाको पिपरा गाउँपालिका ५ सहोडवाका ६५ बर्षिय मोसाफिर झा र उनकी ६० बर्षीया पत्नी गीतादेवी झा सोमबार राति सुतेकै ठाउँबाट बेपत्ता अवस्थामा छन्। घटनाको झण्डै ३० घण्टा बित्दा पनि कुनै सुराक फेला नपर्नु घटना रहस्यमय बन्दै गएको छ। 

प्रहरीले शंकाको आधारमा आधा दर्जन व्यक्तिसँग सोधपुछ गरेपनि ठोस उपलब्धी हासिल गर्न सकेको छैन।

झा दम्पति अचानक बेपत्ता भएपछि घटनाको सत्यतथ्य छानबिनको माग गर्दै स्थानीय बासीले जलेश्वर–जनकपुर खण्ड बिहानैदेखि अवरुद्ध गरेर दिनभर प्रदर्शन गरेका थिए। स्थानीय बासीले मुल सडकमा बाँसको घेरा लगाएर सडक अवरुद्ध गरेपनि सहायक बाटो हुँदै सवारीसाधन आवतजावत भइरहेका थिए। आज भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

बेपत्ता भएका झा दम्पति मोही जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका थिए। अदालतमा विचाराधीन मुद्दाका विपक्षीसँग झाको विवाद समेत भएको थियो। 

बेपत्ता भएको ठाउँमा रगत समेत भेटिएकाले घटना शंकास्पद बनेको छ। बेपत्ता झा दम्पतिको तीव्र खोजी गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक केसीले बताए।

बिहानै अबेरसम्म झा दम्पति नउठेपछि घरमा हेर्दा झा दम्पति ओछ्यानमा नभेटिएको र त्यहाँ रगत पनि देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित मिति: : 2021-02-24 10:23:00

प्रतिकृया दिनुहोस्