बाल माविको कमाउ धन्दा

विद्यालय नै ग्रेड बृद्धि र पास गराउने नाममा विद्यार्थीबाट एक लाख रुपैयाँ अशुल्ने

वैशाख २६ गतेदेखि सुरु भएकाे कक्षा १२ को परीक्षामा पास गराइदिने भन्दै जाजरकोटको एउटा विद्यालयले विद्यार्थीबाट झण्डै एक लाख रुपैयाँ अशुलेको छ।

छेडागाड नगरपालिका ११ झाप्रामा रहेको बाल माध्यमिक विद्यालयले विद्यार्थीहरुबाट एक लाख रुपैयाँ अशुलेको हो। अघिल्लो वर्षको परीक्षामा कम अंक ल्याएका विद्यार्थीको ग्रेड बृद्धि गर्न सहयोग पुर्‍याउने र अन्य विद्यार्थी पास गराउन सहयोग गर्ने (चिट चोराउने) भन्दै विद्यालयले परीक्षा व्यवस्थापनका नाममा मोटो रकम पैसा अशुलेको हो।

विद्यालय व्यवस्थापन समितिबाट निर्णय नै गरेर रकम अशुल गरेको वडाध्यक्ष लोकेन्द्र बहादुर थापाले जानकारी दिए। जसमध्ये विद्यालयले ८२ जना विद्यार्थीबाट ७ सयका दरले ५७ हजार ४ सय रुपैयाँ, विद्यालय अध्ययन नगरी परीक्षामा मात्रै सहभागी हुने १५ जना विद्यार्थीबाट १५ सयका दलरे २२ हजार ५ सय र अघिल्लो वर्ष ग्रेड वृद्धिका लागि २७ जनाबाट प्रतिव्यक्ति ७ सयका दरले  १८ हजार ९ सय रकम असुलेको हो। 

विद्यार्थीलाई परीक्षामा सहयोग गर्ने भन्दै खर्च व्यवस्थापनका लागि लाखौ रकम असुलेको उनको भनाइ छ। विद्यार्थीहरुले निःशुल्क पाउने प्रवेशपत्र ७ सय र १५ सय असुली धन्दा चलेको हो। प्रहरीदेखि केन्द्राध्यक्ष, विषयविज्ञ कृष्ण अधिकारीलाई मिलाउँछौ भन्दै पैसा असुल गरेको हो।

कक्षा १२ को परीक्षामा चिट चोर्ने वातावरण मिलाउँछौ भन्दै विद्यालयले पैसा अभिभावकहरुले बताए । बालमावि झाप्राबाट छेडागाड नगरापालिका १२ नारायणी उच्च माविमा परीक्षा केन्द्र तोकिएको छ। परीक्षा दिन जानुअघि विद्यार्थीहरुले पैसा बुझाएर मात्रै  प्रवेशपत्र लिएर परीक्षा केन्द्रमा गएको विश्वस्त स्रोतले जनाएको छ।

अभिभावकको सहमतिमा परीक्षा व्यवस्थापनका लागि विद्यालय व्यवस्थापन समितिले शुल्क उठाउने निर्णय नै गरेर समितिका अध्यक्ष डिल्लीकुमार बिटालुले बताए। परीक्षामा सहभागी हुन जाने विद्यार्थीलाई सहजिकरण गर्न पैसा उठाएको उनको भनाइ छ।

‘विद्यार्थीलाई लिएर जाने शिक्षकहरुको खर्चका लागि पैसा उठाएका हौँ’ उनले भने, ‘विद्यालयको खर्च परियोजनका लागि पैसा उठाइएको होइन।’ विद्यालय व्यवस्थापन समितिले नै नियमित ८२ जना विद्यार्थीबाट प्रतिव्यक्ति ७ सय, नियमित अध्ययन नगर्ने १५ विद्यार्थीबाट १५ सय र ग्रेड बृदिमा गर्ने २७ जना विद्यार्थीबाट प्रतिव्यक्ति ७ सयका दरले पैसा संकलन भएको विद्यालयका प्रधानाध्यापक कमल बहादुर बस्नेतले बताए। ‘परीक्षा सेन्टरमा प्रहरीदेखि कर्मचारीसम्मलाई खाजा, खानको व्यवस्थापन गर्नुपर्छ’ उनले भने, ‘उठाएको सबै पैसा विद्यार्थीकै हितमा खर्च हुन्छ।’ विद्यार्थीबाट उठाएको कुल रकमध्ये ३० हजार विद्यालयको लागि राखेर बाँकी सबै रकम परीक्षा व्यवस्थापनका लागि पठाएको उनले बताए।
पैसा नदिनेलाई फेल बनाइ दिने प्रअको धम्की
यस्तै विद्यार्थीबाट पैसा अशुल्दै आएको विद्यालयले तोकिएको रकम नतिर्ने र रकम उठाएको विषयमा विवाद गर्ने विद्यार्थीलाई फेल बनाइ दिने धम्की दिएको आरोप लागेको छ। विद्यालयका प्रधानाध्यापक कमलबहादुर बस्नेतले नै शुल्क उठाएको विषयमा विवाद उत्पन्न गराउने र पैसा नतिर्ने विद्यार्थीलाई परीक्षामा फेल गराइ दिने धम्की दिएको हुन्। उनले परीक्षा व्यवस्थापनका लागि तोकिएको रकम नतिर्ने विद्यार्थीलाई प्राटिकल नम्बर नपठाएर फेल गराइ दिने धम्की दिएको एक विद्यार्थीले बताए।

त्यहाँका ४२ जना विद्यार्थीले पैसा फिर्ता मागेका थिए। सोही झोकमा प्रअले प्राक्टिकल विषयमा नम्बर नपठाएर फेल गराइ दिने धम्की दिएका हुन्। ‘नियमित पढ्न नआउने परीक्षा दिन मात्र आउने, पैसा उठाउँदा अनावश्यक विवाद गर्ने विद्यार्थीलाई प्राक्टिकल नम्बर काट्छु भन्दै प्रअले विद्यार्थीलाई धम्की दिएका छन्।

यता जिल्ला प्रहरी कार्यालयले भने परीक्षा व्यवस्थापनका नामका प्रहरीले कुनै पनि विद्यालयसँग रकम नमागेको निमित्त प्रहरी प्रमुख नबिन चुडालीले बताए। प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले विद्यार्थीबाट पैसा अशुल्ने विद्यालय र सम्बन्धित व्यक्तिलाई कानुनी कारबाही गर्ने बताएका छन् । राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा १२ को वार्षिक परीक्षा शिक्षा तथा समन्वय इकाइ कार्यालयको समन्वय हुन लागेको हो।

 

प्रकाशित मिति: : 2023-05-11 18:33:00

प्रतिकृया दिनुहोस्