सत्तारोहणको चर्चासँगै कांग्रेसमा नयाँ विवाद प्रवेश

नेपाल लाइभ

काठमाडाै‌ं

लिलु डुम्रे

मुलुक नयाँ राजनीतिक ‘कोर्ष’मा प्रवेश गरेसँगै नेपाली कांग्रेसमा नयाँ विवादको विजारोपण भएको छ। प्रतिनिधि सभा पुनःस्थापना भएसँगै भावी सरकारमा कांग्रेस ‘जानुपर्ने र जान नहुने’ विषयमा कांग्रेसभित्र मतभिन्नता देखिएको छ। संस्थापन पक्ष सरकारको नेतृत्व प्राप्त गर्ने गरी सत्तामा जानुपर्ने तर्क गरेको छ। तर, संस्थापनइतरका नेताहरूले भने सत्तामा जाने कांग्रेसलाई 'म्यान्डेड' नभएको तर्क अघि सारिरहेका छन्।

नेकपाको प्रचण्ड–माधव पक्षले प्रधानमन्त्रीका रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई स्विकारेको छ। सरकारको नेतृत्व देउवाले प्राप्त गर्ने अवसर आए पनि कांग्रेसका लागि ‘प्रत्युत्पादक’ हुने टिप्पणी कांग्रेसभित्र उठ्न थालेको छ। बुधबार देउवालाई नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले भेटेका थिए। उनीहरुले भावी सरकारमा सहकार्यको प्रस्ताव गरेका थिए। पार्टीभित्र थप छलफल गरेर निर्णय लिने गरी दुई पक्षको बुधबारको भेट सकिएको थियो। पार्टीको आधिकारिक धारणा तय गर्न देउवाले बिहीबार पदाधिकारी बैठक बोलाएका छन्।

देउवाले प्रधानमन्त्रीको आश्वासन पाए पनि सरकारका लागि हतारिन नहुने आवाज पार्टीभित्र उठेको छ। देउवासँग प्रचण्ड र माधवको भेटबारे बुधबार नै एक कार्यक्रममा प्रतिक्रिया दिँदै महामन्त्री डा शशांक कोइरालाले भनेका थिए, ‘सभापतिलाई प्रधानमन्त्री बन्ने अवसर आएको होला। उहाँले के गर्नुहुन्छ मलाई थाहा छैन। मेरो विचारचाहिँ हाम्फाल्नु हुन्न भन्ने हो।’

प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलन गर्दा संसद पुनःस्थापनाको मागलाई नउठाएको भन्दै संस्थापनइतर देउवासँग चिढिएको छ। अदालतलाई प्रभाव पार्ने गरी आन्दोलन गर्न नहुने देउवाको तर्क थियो। वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले संसद पुर्नबहालीको मागसहित सडकमा जाऔं भन्दा देउवाले टेरेनन्। अन्ततः संसद पुनःस्थापना भयो। संसद पुनःस्थापनापछि पार्टी सभापतिले राजीनामा दिनुपर्ने नेता डा शेखर कोइरालाले भनिसकेका छन्। सरकारमा जानै नहुने मत कोइरालाको छ। 

प्रकाशित मिति: : 2021-02-25 17:02:00

प्रतिकृया दिनुहोस्