४५ अर्बको युरेनियम डेढ अर्बमा डिल, चार पक्राउ (भिडियाेसहित)

डिल्ली पाण्डे

काठमाडाैं

प्रहरीले ४५ अर्ब बराबरको युरेनियमसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका अभियुक्तले डेढ अर्बमा बेच्न तयार भएको शुक्रबार आयोजित पत्रकार सम्ेलनमा प्रहरीले बताए। 

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले २ किलो ५ सय ग्रामसहित चार जनालाई सार्वजनिक गरेको हो। नेपाल प्रहरीको ६ दशक लामो इतिहासमा यति ठूलो परिमाणमा पहिलो पटक युरेनियम समातिएको हो। 

प्रहरीले युरेनियम बिक्रि वितरण गरेको आरोपमा चार जनालाई पक्राउ गरेपनि युरेनियम ल्याएर घरमा राख्ने मानिसलाई पक्राउ गर्न सकेको छैन। 

मुख्य अभियुक्त नेपालमा नभएको प्रहरीको दावी छ।

प्रहरीले ४० वर्षीय नारायण सिंह तामाङ, ४० वर्षका जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र २० वर्षीय मनोज न्यौपानेलाई नियन्त्रणमा लिएको हो। 

‘युरेनियम ल्याएर राख्ने मुख्य मानिस भने बाहिर भएको खुल्यो,’ महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एआइजी हरिबहादुर पालले भने।युरेनियम भने करिव २० वर्षअघि भारतबाट अमर लामा भन्ने व्यक्तिले ल्याएको खुलेको छ। 

उनी हाल अमेरिकामा उपचार गराइरहेको प्रहरीले जानकारी दिएको छ। उनी पाँच वर्ष अघिदेखि प्यारालाइसिस भएर अमेरिकामा उपचार गराइरहेको एआइजी पालले जानकारी दिए।
प्रहरीले बरामद गरेको युरेनियम २३८ क्याटोगोरीको छ। प्रहरीका अनुसार २ सय ३५ क्याटोगोरिको युरेनियम सबैभन्दा उत्कृष्ट मानिन्छ। युरेनियम–२३५ को मूल्य १ किलोको १८ अर्ब रुपैयाँसम्म पर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो। 

भेटिएको युरेनियम राष्ट्रिय विधि विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा सक्कली पुष्टि भएको थियो। 

कमिसन नै २ करोड रुपैयाँ

पक्राउ परेका चार जनामध्ये तीन जना भने बिक्रि गरेर कमिसन पाउने मानिस हुन्। नारायण सिंह तामाङ, २० वर्षीय प्रकाश चौहान र २० वर्षीय मनोज न्यौपानेले कमिसनको लोभमा काम गरेको प्रहरीले जानकारी दिएको छ। 

उनीहरुले युरेनियम बेचेपछि दुई करोड रुपैयाँ पाउने सहमति भएको थियो। उनीहरुले किन्ने मानिस खोजेका थिए। त्यो बेचे बापत दुई करोड रुपैयाँ दिने मौखिक सहमति भएको बताएका छन्,’ एक प्रहरी अधिकृतले सुनाए। 

पक्राउ परेकी जानुका भने युरेनियम भारतबाट ल्याउने पुरुषकी आफन्त पर्छिन्। उनलाई नाराणण सिंहले युरेनियमको मूल्य र महत्वबारे जानकारी दिएका थिए। नारायण सिह फार्मेसिस्ट हुन्। 

दुबै जनाको योजनामा युरेनियम बेच्न सल्लाह भएको थियो। युरेनियम बिक्रि गर्ने सुचना पाएपछि प्रहरी नै ग्राहक बनेर पुगेको थियो। 
उनीहरुले १ अर्ब ५० करोड रुपैयाँमा युरेनियम बेच्न तयार भएका थिए।

प्रहरीले सुरुमा सक्कली हो वा होइन भनेर चेक गर्न केही परिणाममा युरेनियम लगेको थियो। सुरुमा लिएको युरेनियम मार्च ३ मा प्रयोगशालबाट प्रमाणित भएको थियो। 

त्यसपछि थप युरेनियम किन्ने भन्दै कुरा अगाडी बढाएको थियो। उनीहरु बिहिबार युरेनियमसहित आएपछि पक्राउ गरेको हो।

‘हामी ग्राहक बनेर पुगेका थियौं। ल्याबमा परीक्षण गर्दा प्रमाणित भएपछि थप मानिस र सामान बरामद गरेका हौं,’ एक प्रहरी अधिकारीले सुनाए।

प्रकाशित मिति: : 2021-03-12 18:50:00

प्रतिकृया दिनुहोस्