सुधिर भण्डारी
२०१९ अक्टोबरमा चोयु हिमाल आरोहणपछि पासाङ शेर्पालाई कोरोना कहरले बेरोजगार बनायो । १६ महिनासम्म उनी बेरोजगार भए । बचत निख्रिँदै गयो ।
बेकारीका दिन कटाउन उनी सामाजिक सञ्जालको सहयोग लिन्थे । ओछ्यानमा पल्टिएर फेसबुक चलाउँदै गर्दा उनले टुटलको पोस्ट देखे ।
मोटरसाइकलमा यात्रु पुर्याएर टुटलबाट पैसा कमाउन मिल्छ भन्ने थाहा पाए उनले । रित्तिँदै गएको बचत, आरोहण सुरु हुने नहुने अन्योलले उनलाई दुविधामा पार्यो । एकछिन घोत्लिए, छेउमै पढिरहेका छोरा-छोरीको अवोध अनुहार हेरे । छोरोलाई बोइङ जहाजको पाइलट बनाउने आफ्नो सपना सम्झिए ।
अनि उनले आफ्नी श्रीमतीलाई सोधे, ‘टुटलमा काम गरौँ ?’
‘काम सानो हुँदैन गर्नुस् न त,’ श्रीमतीले भनेको सम्झिँदै उनी भन्छन्, ‘त्यसपछि टुटलमा काम गर्ने निधो गरे ।’
हिमाली पठार र चुचुरोमा पुर्याउने सारथिबाट उनी एकाएक शहरका चिल्ला सडक र गल्लीको गन्तव्यमा पुर्याउने सारथि बने । माघको पहिलो हप्ता उनी टुटलको कार्यालय पुगेर तालिम लिए । अनि आफ्नो मोटरसाइकल टुटलमा दर्ता गराएर फर्किए ।