खुला सिमानाको काराण रोकिएन इन्धन तस्करी

नेपाल आयल निगमको ढुवानीकर्ता जय गौरीशङ्खर ढुवानी सेवा प्रालिको नाममा रहेको ट्याङ्करलाई नेपाल प्रहरीले गत फागुन २ गते नियन्त्रणमा लियो।

उक्त ट्याङ्करको चेम्बर र फ्युल ट्याङ्कमा एक हजार ३६० लिटर डिजेल अनधिकृतरुपमा भारततर्फ लैजाँदै गरेको भेटिएपछि प्रहरीले कारवाही गरेको थियो।

यसपछि निगमले सो ट्याङ्करमा इन्धन भर्ने पर्साको जगरनाथपुरस्थित श्वेता आयल सेन्टरलाई निगमले सिलबन्दी गरी कारवाही प्रक्रिया अगाडि बढायो।

केही महिनाअघि भारतबाट पेट्रोल लोड गरी आएका दुई ट्याङ्करमा फल्स चेम्बर बनाई इन्धन चोरी तस्करी गरी ठगी गरेको पाइएपछि निगमले थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई पत्र काट्यो।

प्रहरी अनुसन्धनबाट उक्त दुई ट्याङ्करले फल्स चेम्बर बनाई इन्धन लुकाइ भारत लगेर बेच्ने र निगमलाई हानी नोक्सानी पुर्याएर ठगी गरेको पुष्टि भयो। सो प्रकरणमा संलग्न बाराका अमलेखगञ्ज–६ का अजय लामा र विकेश लामालाई पक्राउ गरी ब्यूरोले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। 

भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुँदा पछिल्ला केही समययता नेपालबाट भारततर्फ इन्धन चोरी तस्करी भइरहेको घटनाक्रमले पुष्टि गरेको छ।

नेपाल–भारत खुला सिमानाको फाइदा उठाउँदै लुकीछिपी भारततर्फ इन्धन तस्करी हुँदै आएको छ। सीमावर्ती भारतीय क्षेत्रमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर ३३ रुपैयाँ ४२ पैसा र डिजेल प्रतिलिटर ३९ रुपैयाँ ६१ पैसा सस्तो छ। रासस

प्रकाशित मिति: : 2021-03-19 16:05:00

प्रतिकृया दिनुहोस्