नेपाललाई घरेलु मैदानमा उपाधि जित्ने अवसर

थ्री नेसन्स कपका रूपमा ६ वर्षपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल फर्किएको छ। यस्तोमा नेपाली टोलीलाई घरेलु मैदानमा सोमबार उपाधि जित्ने अवसर रहेको छ। नेपालले सोमबार थ्री नेसन्स कपको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशको सामना गर्दै छ। खेल साँझ ५ः३० बजेपछि हुनेछ।

नेसन्स कपको राउन्ड रोविन लिगमा नेपालले दुई खेल खेल्दा एक गोल पनि नगरी लिगमा दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको थियो। बंगलादेशले पनि एक गोल पनि नगरी फाइनलमा स्थान बनाएको थियो। किर्गिस्तानको ओलम्पिक टोलीविरुद्धको १–० को जितमा आत्मघाती उपहार पाएको थियो। लिगको तीन खेलमा त्यही आत्मघाती एक गोल नै एक्लो गोल हो।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका छन्। थ्री नेसन्स कपको फाइनल अघि आइतबार भएको प्रि–म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक महर्जनले टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका हुन्। ‘हामीले दुई खेल खेल्यौं। प्रदर्शन राम्रै गरेका छन्। सोचेअनुसार खेलेका छौं। तर, गोल गरिरहेका छैनांै’, महर्जनले भने, ‘हाम्रो भोलिको मुख्य लक्ष्य भनेकै गोल गर्दै नतिजा निकाल्नुहुनेछ।’

प्रकाशित मिति: : 2021-03-29 06:45:00

प्रतिकृया दिनुहोस्