आइतबार होली खेल्ने क्रममा दुई जना किशोरले एसिड प्रहार गरेका छन्।
काठमाडौंको शंखरापुर नगरपालिकास्थित चापाकोट भन्ने ठाउँमा होली भन्दै उनीहरुले सल्फरिक एसिड प्रहार गरेका हुन्।
एसिड प्रहारबाट तीन जना घाइते भएका छन्। घाइते हुनेहरुमा ११ र ९ वर्षीय बालक र १६ वर्षीया किशोरी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए।
'दुध डेरीभित्र दुध फटाउन प्रयोग हुने एसिड राखेको रहेछ। उनीहरुले त्यसैलाई होली मनाउने भन्दै छ्यापेको देखिन्छ,' एसएसपी सिंहले भने।
घाइते तीन जनाको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले एसिड प्रहार गर्ने दुई किशोर र डेरी संचालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
त्यस्तै हिजो बसन्तपुरमा दुई युवा समूहबीच खुकुरी हानाहान भएको थियो। सामान्य विवादमा खुकुरी तथा फलामके रड प्रहार भएको हो।
प्रहारबाट ४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी वृत जनसेवाको टोलीले खुकुरी प्रहार गरेको अभियोगमा ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ।