कोरोना–केन्द्र बने राजधानीका विद्यालय, विश्वनिकेतन र पद्मोदय स्कुलमा पनि कोरोनाका बिरामी (भिडियोसहित)

कमल प्रभात

काठमाडौं

काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयका ५२ वर्षीय एक शिक्षकमा गत चैत अन्तिम साता कोरोना संक्रमण भएको पुष्टि भयो।

शिक्षक संक्रमित भएको भोलिपल्टै सोही स्कुलका कक्षा १२ मा पढ्ने १८ वर्षीय छात्रलाई पनि कोरोना लाग्यो।

घटनाले विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोनाको संत्राश फैलियो। आफूमा पनि संक्रमण भइसकेको हुनसक्ने आशंकाले शिक्षक र विद्यार्थी आत्तिन थाले।

कतिपय अभिभावकले आफ्ना सन्तानलाई विद्यालयसँग सल्लाह गरेर घरमै पढाउन सुरु गरे। ‘कन्ट्याक ट्रेसिङ’ मा परेका केही विद्यार्थीलाई घरैमा ‘आइसोलेशन’ बस्न भनियो।

कोरोनाको जोखिम भएपनि सरकारले शैक्षिक क्षेत्र बन्द गर्नेबारे निर्णय नगरेका कारण स्कुल बन्द गरिएको छैन।

शिक्षक र विद्यार्थीमा कोरोना पुष्टि भएपछि कोरोनाको त्राश झनै फैलिएको छ। दिनहुँ स्कुलमा विद्यार्थी घट्दै गएका छन्। विद्यार्थी यति घटे कि पढाइ नै प्रभावित हुने अवस्था आयो।

विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने, ‘हाम्रो स्कुलमा करिब तीन हजार नौ सय विद्यार्थी र ७० जनाभन्दा बढी शिक्षक छन्। स्कुल कोरोना भाइरसको उच्च जोखिममा छ।’

राजधानीकै अर्को सामुदायिक विद्यालय पद्मोदय हाइस्कुलको अवस्था पनि उस्तै छ। प्रदर्शनी मार्गस्थित पदमोदय माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीमा पनि उस्तै संत्राश सृजना भएको छ। त्यहाँ पनि विद्यालयको पठनपाठन प्रभावित भएको छ।

पद्मोदयका प्रधानाध्यापक नारायणप्रसाद गौतममा पनि कोराना जोखिमकै कारण विद्यार्थीको उपस्थिति पातलिँदै गएको बताउँछन्।

उनका अनुसार, अभिभावकले कोरोना जोखिम बढेको अवस्थामा आफ्ना सन्तानलाई स्कुल पठाउन गाह्रो हुनाले केही दिन विद्यालय बन्द गर्न सुझाव दिएका छन्।

विद्यालयमा दिनहुँ पाँच–छ जना विद्यार्थीमा कोरोनाजस्तै लक्षणका बिरामी भेटिने गरेको जानकारी दिँदै उनले भने, ‘कोरोना पुष्टि त कसैमा भएको जानकारी छैन छर विद्यार्थीमा त्राश फैलिएको छ।’

कोरोनाको जोखिम बढ्दै गएपछि काठमाडौंका निजी विद्यालयले कक्षा बन्द गरेर अनलाइन कक्षा सुरु गरेका छन् तर सामुदायिक विद्यालयका प्रधानाध्यापक चाहिँ जोखिम मोलेरै सरकारको निर्णय पर्खेर बसेका छन्।

ललितपुरको पाटनढोकास्थित रातो बंगला स्कुलले गत साताबाटै विद्यालय बन्द गरेर अनलाईन कक्षा चलाइरहेको छ। उक्त स्कुलले चल्दैगरेको परीक्षासमेत स्थगित गरेर विद्यालय बन्द गरेको हो।



कोरोनाबाट बच्न गर्नुपर्ने कर्तव्यलाई वास्ता गरेनौँ भने आगामी दिनमा थप जोखिम हुन्छ: डा. शेरबहादुर पुन (भिडियो)



त्यस्तै, ललितपुरकै हात्तीवनस्थित लिटिल एञ्जेल स्कुलले पनि प्राथमिक तहका कक्षाहरु बन्द गरिसकेको छ।

अन्य स्कुलहरुले पनि कोरोनाको जोखिम बढ्दै गएपछि छिट्टै अनलाइन कक्षा चलाउने तयारी गरेका छन् तर सरकारको निर्णयका कारण रोकिएको बताएका छन्।

नयाँ प्रजातिको कोरोना संक्रमण फैलिएपछि आफ्ना बालबालिकालाई विद्यालय पठाउने विषयमा अभिभावक चिन्तित भएका छन् तर सरकारले तत्काल विद्यालय बन्द गर्ने विषयमा निर्णय गर्न सकेको छैन। यसअघि बसेको शिक्षा मन्त्रालयको बैठक तत्काल विद्यालय बन्द नगर्ने बताएको छ।

प्याब्सन, एन प्याब्सनसहित विद्यालय सञ्चालकका संघ–संगठनहरु भने विद्यालय बन्द नगर्न सरकारलाई दबाब दिइरहेका छन्।

प्रधानाध्यापकद्वय गौतम र कँडेल भने तत्काल केही समयको लागि विद्यालय बन्द गरेर बैकल्पिक प्रणालीबाट पठनपाठन गर्नुपर्नेमा जोड दिन्छन्।

‘कतिपयलाई अभिभावकले घरमै पढाउन थालेका छन्, कतिपय विद्यालय आएका छन्। यसले विद्यार्थीलाई झन् चिन्तित बनाएको छ’, असहज बनाएको छ’, विश्वनिकेतनका प्रधानाध्यापक कँडेलले भने, ‘त्यसैले तत्काल विद्यालय बन्द गरेर अनलाईन प्रणालीमा सबैलाई लैजानु राम्रो हुन्छ।’

पदमोदय मा.विका प्रधानाध्यापक गौतम पनि कँडेलको धारणासँग सहमत छन्। उनले भने,‘तत्कालका लागि विद्यालय बन्द गरेर अनलाइन प्रणालीमा जनुपर्छ। ठूला विद्यार्थीले त ख्याल गर्लान् तर प्राथमिक तहका विद्यार्थीले जनस्वास्थ्यका मापदण्ड अपनाउन सक्दैनन, जसले असहज अवस्था आउन सक्छ।’

यता, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, (नेशनल प्याप्सन) ले भने तत्काल विद्यालय बन्द गर्नुपर्ने अवस्था नरहेका बताउँदै आएको छ।

जनस्वास्थ्यविज्ञहरु भने यो अवस्थामै विद्यालय बन्द गरेर वैकल्पिक माध्यमबाट पठनपाठन गर्नुपर्ने सुझाव दिन्छन्। कोरोना भाइरससम्बन्धी अध्ययन तथा अनुन्धान गर्दै आएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुनले केही समयका लागि विद्यालय बन्द गर्नुपर्ने बताए।

कोरोना भाइरस ‘म्युटेशन’ भएको अवस्थामा बालबालिकामा संक्रमण बढी देखिएको छ। त्यस हिसाबले पनि अन्य क्षेत्रजस्तै विद्यालय पनि जोखिममा छन्। विशेष गरी कोरोनाले दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई असर गर्छ।

‘स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न सकिन्छ, तर बालबालिकाहरु खेल्न रुचाउँछन्। त्यो समयमा संक्रमण बढ्नसक्ने देखिन्छ। संक्रमित विद्यार्थीले परिवारमा पनि कोरोना फैलाउन सक्छन्। परिवार नै संक्रमित हुन पुग्यो भने समुदायमा पनि फैलिने संभावना हुन्छ’, डा.पुनले भने।

डा. पुनले भने, ‘कलेज पढ्नेहरु डराउलान् तर कलेज सकिएपछि साथीहरुसँगै बसेर खाजा खाँदा तथा घर फर्किदा संक्रमण फैलिन सक्छ। यसरी विद्यालय जुन अहिलको हिसाबले चलिरहेका छन्। त्यो पक्कै पनि जोखिमपूर्ण छ। बालबालिका कोरोना संक्रमणको माध्यम बन्न पुगेको अवस्थामा झन ठूलो खतरा हुन सक्छ। त्यसैले तत्काल विद्यालय बन्द गर्नु उचित हुन्छ।’ 

प्रकाशित मिति: : 2021-04-16 16:42:00

प्रतिकृया दिनुहोस्

    science

    • 2 बर्ष अगाडि
    • Dipendra Dhami