कोही शोकमा, कोही चिन्तामा

खाडीका नेपाली भन्छन्- 'हामीलाई लिन जहाज पठाउ'

दुबईको एक गल्फ क्लबमा कार्यरत धादिङका रोशन परियार ५ दिनदेखि शोकमा छन्।

७ महिनादेखि 'प्यारलाईसिस'ले थलिएका उनका बुवाको गएको सोमबार देहान्त भयो। ईमर्जेन्सीमा घर आउन उनलाई ताराम्तार फोन आईरह्यो तर सरकारले हवाई उडान स्थगित गरेकाले परदेशमै झोक्राएर बस्न बाध्य भए।

संखुवासभाका फडिन्द्र श्रेष्ठको भिजा क्यान्सिल भएको १ महिना पुग्न लाग्यो। आगामी मे १८ भित्रमा उनले युएई नछाडे 'ओभर स्टे' जरिवाना शुरु हुन्छ। उनको थाप्लोमा कोभिड-१९ को नियम उल्लंघन गरेबापतको ३ हजार दिराम जरिवानाको बोझ पनि छ।

अबुधाबीको एक सेक्युरिटी कम्पनीमा कार्यरत झापाका फुर्साङ पाखृन तामाङ, बनेपाका उमेश अधिकारी र राजु पुनको भिजा क्यान्सिल भएको १५ दिन नाघिसकेको छ। उनीहरु पनि चाँडोभन्दा चाँडो नेपाल फर्कन चाहन्छन्।

मे १५ को टिकट हातमा लिएर बिरामी बुवा भेट्न नेपाल फर्कन तयार भएर बसेका काठमाडौंका कृष्ण गौतम स्वदेश फर्कन त पाएनन्। गएको बुधबार बुवा पनि गुमाए। उनी पनि यतिबेला परदेशमा शोकमा छन्। यी र यस्तै परिस्थितिमा छन् यतिबेला खाडीका हजारौं नेपाली, जसमध्ये केहीले आफन्त गुमाएका छन्। केहीका आफन्त सिकिस्त बिरामी छन् अनि केहीको भिजा क्यान्सिल भएको छ। यस्तै केहीको त 'ओभर स्टे' जरिवाना समेत शुरु भईसकेको छ।

युएईमा मात्रै अहिले विभिन्न क्षेत्रमा गरि करिब ४ लाख नेपाली कार्यरत छन्। यी मध्ये धेरैले गत वर्ष कोभिडकै कारण बिदामा नेपाल जान पाएनन्। यस वर्ष पनि कोभिडको प्रकोप चरम बिन्दुमा पुगिसकेको छ।

अहिले नेपालमा दिनहुँ संक्रमित हुनेहरुको संख्या १० हजारको हाराहारीमा पुगिसकेको छ भने मृत्यु हुने दैनिक रूपमा बढिरहेका छन्। तथापि, लामो समयदेखि बिदामा घर जान नपाएका, भिजा क्यान्सिल भएर बसेका तथा विभिन्न समस्याले घर नगई नहुने स्थितिका नेपालीहरु चाँडोभन्दा चाँडो स्वदेश फर्किन खोजिरहेका छन्।

'चार्टर्ड' उडानको माग

गत वर्ष कोभिड-१९ का कारण अन्तराष्ट्रिय उडानहरु स्थगन हुँदा सरकारले उद्दार उडानमार्फत हजारौं नेपालीलाई नेपाल लगेको थियो।

खाडीमा रहेका नेपालीहरु यसपालि पनि त्यही आशमा बसेका छन्। झापाका फुर्सान तामाङको समूहले त गत सोमबार अबुधाबीस्थित नेपाली दूतावास पुगेर चार्टर्ड उडान संचालन गर्न निवेदन दिई सकेका छन्। दूतावासबाट समेत यसलाई सम्बोधन गर्ने आश्वासन मिलेको तामाङ बताउँछन्।

सरकारले गएको बैशाख २२ गतेदेखि सबै राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरु स्थगन गरेपछि वैदेशिक रोजगारीमा रहेका कैयौं नेपालीहरु प्रत्यक्ष प्रभावित बनेका छन्। बिदामा घर गएर कर्मभूमी फर्कन तयार भएका कैयौं नेपालमै रोकिएका छन् भने नेपाल जान तयार भएर बसेकाहरुको यात्रा अनिश्चित बनेको छ।

यसबाट बिदामा घर जान तयार भएका नेपालीहरु भन्दा 'ईमर्जेन्सी' परेर नेपाल जान लागेका नेपालीहरु बढी प्रभावित भएको बताउँछन्, एनआरएनए युएईका कार्यवाहक अध्यक्ष निरन्जन शिलवाल।

सरकारले तत्कालै अन्तराष्ट्रिय उडानहरु सुचारु गर्ने अवस्था रहेको जनाउँदै उडान स्थगनको समयावधि बढाएर आउँदो जेठ १७ सम्म पुर्‍याएको छ। यसबीचमा पनि कोरोनाको संक्रमण नियन्त्रणमा नआए समयसीमा अझै बढ्न सक्छ। त्यसैले पनि खाडीमा रहेका नेपालीहरु घर जान आत्तिएका छन्।

७ वर्षदेखि कतारको एक पेट्रोलियम कम्पनीमा कार्यरत बाजुराका हरिराम डाँगीको परिवारमा सबैजना कोरोनाबाट संक्रमित भएका छन्। उनी तत्कालै नेपाल जान चाहन्छन्। कुवेतमा कार्यरत झापाकी बिमला सरदार २ महिनादेखि बिमार छिन्। डाक्टरले उनलाई नेपालमै गएर उपचार गर्न सुझाएका छन्। टिकट पनि काटेकी थिइन् तर सरकारले उडान स्थगन गरेपछि उनको टिकटको पैसा खेर गयो। बिमारले पनि झन्झन् च्याप्दै गएको छ।

भिजा र काम दुवै सकिएका पोखराका सन्जय देवकोटा, चितवनका गोकुल गुरुङ, गोविन्द थापा, झापाका सुर्यप्रसाद लुँईटेल, तुलसी पौडेल र बुटवलका करन बहादुर पौडेलको ओभर स्टे जरिवाना शुरु हुन अब केही दिन मात्रै बाँकी छ। यिनीहरु पनि चार्टर्ड उडानको खोजिमा दुबई र अबुधाबीका ट्राभल धाईरहेका छन्।

अत्यावश्यक भएकालाई लैजाउ

युएईमा रहेका नेपाली अगुवाहरुले पनि नेपाल नगई नहुने स्थितिमा रहेका नेपालीहरुलाई उद्दार उडान सुचारु गरेर सरकारले स्वदेश लैजानु पर्ने बताएका छन्।

नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवानीप्रसाद तिमल्सिना भन्छन्, "अहिलेको स्थितिमा घर नगई नहुने स्थिति भएकाहरुलाई सरकारले विशेष व्यवस्था गरेर नेपाल लैजानु पर्छ।"  तर सामान्य स्थितिमा रहेकाहरुले भने आफू रहेकै स्थानबाट देशलाई सहयोग गर्नुपर्ने उनको भनाई छ।

प्रवाशी नेपाली मंच युएईका अध्यक्ष महेश गिरि भन्छन्, "गएको वर्षमा झैँ यसपटक पनि कोभिड-१९ सम्बन्धि सम्पुर्ण सुरक्षा र सावधानी अपनाएर ईमर्जेन्सी भएकाहरुलाई नेपाल लैजानु पर्छ।"

गत वर्ष युएईमा कोरोना संक्रमित नेपालीहरुको उद्दार तथा सहयोगका लागि संचालित द्रुत उद्दार दलको नेतृत्व गरेका समाजसेवी पासाङ शेर्पा अन्तराष्ट्रिय उडानहरु स्थगन हुँदा सुन तस्करहरु बढी  प्रभावित भएको बताउँछन्। आफन्त गुमाएका, स्वास्थका कारण नेपाल जानैपर्ने स्थिति भएकाहरुलाई उचित क्वारेन्टाइनको व्यवस्था गरि चार्टर्ड उडान मार्फत लैजानु पर्ने उनको भनाई छ।

यता अबुधाबीस्थित नेपाली दूतावासले भने युएईमा रहेका नेपालीहरुको स्थिति सामान्य रहेको बताएको छ। युएईका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकालका अनुसार दूतावासमा चार्टर्ड उडानका बारेमा सामान्य सोधपुछ हुने गरेको छ।

नेपाल सरकारबाट समेत चार्टर्ड उडानको संचालन तथा व्यवस्थापनका लागि अहिलेसम्म कुनै निर्देशन नआएको उनको भनाई छ। यद्यपि, अहिलेकै स्थिति लम्बिए आवश्यकता अनुसार चार्टर्ड उडान हुन सक्ने राजदूत ढकाल बताउँछन्।

प्रकाशित मिति: : 2021-05-14 21:09:00

प्रतिकृया दिनुहोस्

    हामीलाई जसरी भए पनि आफ्नो देश फर्किने वातावरण मिलाइदिन पर्यो हामी देशको नियम अनुसार safty को साथ फर्कन्छौं र नेपाल पुगेपछि स्थानीय quarantine ma नियम अनुसार बस्छौं।बर्देश को ठाउँमा भिसा सकिएको पनि 14 दिन बितिसक्यो। यहाँ खाना खान त मुश्किल भाको छ overstay को पोइसा कहाँ बाट ल्याएर तिर्नु? Please हामी भिसा सकिएको हरुको उद्धार गर्नु पर्यो। नेपाल पुगेपछि नेपाल सरकार को नियम अनुसार क्वारेन्टाइन मा बस्न तयार छौं।।।please चार्टर उडान भएपनि खुलाउनु पर्यो।

    • 2 बर्ष अगाडि
    • नेत्र बहादुर सुनुवार

    म अहिले दुबई को emirates services मा काम गरदै छु मेरो भिसा सकिएर १४ दिन भयो जब भिसा सकियो plane बन्द भयो। चार्टर flyight भए पनि जाने थिए अब पनि plane नखुले त मैले यहाँ Overstay KO फाईन तिर्नु पर्छ। ऋण भएर फर्कन लागेको यतै फाईन तिर्नु पर्ने भयो भने त कहाँबाट पैसा ल्याएर तिर्नु।

    • 2 बर्ष अगाडि
    • नेत्र बहादुर सुनुवार