भाेलि उद्घाटन हुने धरहराको यस्तो छ विशेषता (भिडियो रिपोर्ट)

शनि शाक्य

काठमाडौँ

धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली नागरिकले अब धेरै समय कुर्नुपर्ने छैन।

अहिले पुनःनिर्माण भएको धरहरामा रङ्ग लगाउने काम भइरहेको छ। यसको उद्घाटन यही वैशाख ११ गते गर्ने तयारी हुँदैछ।

टावरको मूख्य काम सकिएको र उद्घाटनको तयारी गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए।

वि.सं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए। भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको कामले गति लिएको हो।

निर्माण कम्पनीले निर्माणको काम दुई वर्षको अवधिमा सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि अहिले टावरको कामले मात्र पूर्णता पाएको छ। समग्ररुपमा अहिले ६० प्रतिशत मात्र काम सकिएको छ। पुनः निमार्ण सम्पन्न भएर उद्घाटनको तयारी गरेको सम्पदा विज्ञ मानन्धर बताए।

रमन कन्सट्रक्सनले ठेक्का पाएको धरहराको पुनःनिर्माणमा ३ अर्ब ४८ करोड रुपौयाँ लाग्ने छ। निर्माणका लागि अहिलेसम्म २ अर्ब १० करोड रुपैयाँ लागेको निर्माण कम्पनीले बताएको छ।

पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो छ। त्यसमा दुई लिफ्ट छन्। एउटा परम्परागत भर्याङ रहनेछ। लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिने व्यवस्था गरिने छ।

४२ रोपनी क्षेत्रफलमा निर्माण गरिएको धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गिन जल फोहरा, प्रदर्शनी हल, पार्किङ स्थल, पसललगायत रहने छन्। धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर तथा ४८ फिटको बेस रहनेछ।

उद्घाटनको लागि तयारी हुँदैगर्दा धरहराकाे अवस्थाबारे विएल नेपाली सेवाका कमल प्रभात विक, सुहन श्रेष्ठ र शनि शाक्यले तयार पारेकाे भिडियो रिपोर्टः

प्रकाशित मिति: : 2021-04-23 20:45:00

प्रतिकृया दिनुहोस्