राप्रपाको जनप्रदर्शन

राजेन्द्र लिङ्देनले निषेधाज्ञा ताेड्दा कार्यकर्ताले खाए कुटाइ, दुई दर्जन बढी घाइते

शनि शाक्य

काठमाडाैं

मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ। जहानियाँ राजतन्त्रको अन्त्य भएको १५ वर्षपछि फेरि राप्रपाले उही व्यवस्थाको माग गर्दै सडक जनप्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा प्रहरीसँग झडपसमेत भयो। झडपका क्रममा प्रहरी र प्रदर्शनमा आएका गरी करिब दुई दर्जन घाइते भएका छन्। काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीले प्रदर्शनकारीतर्फ १४ जना र प्रहरीतर्फ १० जना सामान्य घाइते भएको जानकारी दिए।

साथै, राप्रपाका तीन जना कार्यकर्तालाई पक्राउ गरेकाे छ।

भद्रकालीमा भएको प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र लाठी चार्ज गरेको थियो। प्रदर्शनकारीले पनि प्रहरीलाई ढुंगा प्रहार गरेका थिए। जसले गर्दा भद्रकाली दिनभर तानवग्रस्त बन्यो।

निषेधित क्षेत्र बानेश्वरमा आमसभा गर्ने तयारी गरेको राप्रपालाई प्रहरीले भद्रकालीभन्दा अगाडि छिर्न दिएन्। प्रहरीमाथि दिउँसो साढे १ बजे प्रदर्शनकारीले ढुंगामुढा गरेपछि बल प्रयोग गरेर प्रहरीले भीडलाई तितरबितर बनाएको थियो।

प्रदर्शनको नेतृत्व लिएका अध्यक्ष लिङ्देनले नै निषेधित क्षेत्र तोडेपछि अन्य प्रदर्शनकारी पनि उग्र बनेका थिए। त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रदर्शनलाई रोक्न पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहर परिचानल भएको थियो।

४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाले मंगलबार गृहमन्त्रीको राजीनामाको माग थप गर्दै ४१ बुँदे माग सरकारसँग राखेको छ। देशभरबाट कार्यकर्ता लिएको राप्रपाले अहिलेको प्रदर्शन सामान्य रहेको र यो अझै सशक्त बन्दै जाने बताएको छ।

राप्रपाको प्रदर्शनले मंगलबार काठमाडौँको यातायात निकै प्रभावित बन्यो। जसले गर्दा घण्टौँ नागरिक हिँड्न बाध्य भए। काठमाडौँमा हुने पटक–पटक आन्दोलनले यातायात प्रभावित हुने गरेको छ।

यसतर्फ भने न सरकार न प्रशर्दनमा उत्रने राजनीतिक दल वा संघ संगठन कोही पनि जिम्मेवार भएको पाइँदैन।

प्रकाशित मिति: : 2024-04-09 20:50:00

प्रतिकृया दिनुहोस्