पाकिस्तानबाट खैरो हेरोइनका ९३ क्याप्सुल खाएर आएका दाबा यसरी परे प्रहरी फन्दामा (भिडियो रिपोर्ट)

पाकिस्तानबाट करिब १ किलो लागुऔषध खैरो हेरोइनको क्याप्सुल खाएर नेपाल आइपुगेका धादिङ खनियापानीका दावा लामालाई प्रहरीले पक्राउ गरेको छ। २०६५ सालदेखि लागुऔषधकै मुद्दामा पाँच वर्ष जेल जीवन बिताएर छुटेका दाबा फेरि पुरानै धन्दामा फर्किएका हुन्। 
दाबाले करिव एक किलो खैरो हेरोइनलाई १० ग्रामका दरले ९३ वटा क्याप्सुल खाएर (पेट) मा राखी नेपाल ल्याएको अवस्थामा पक्राउ परेका हुन्।
दाबासँगै लागुऔषधको ‘र्याकेट’ चलाउने गोपीमाया तामाङ, होनीमाया तामाङ र बयसबहादुर गुरुङ पनि पक्राउ परेको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रमुख एसएसपी दिलिप चौधरीले बताए। 

एसएसपी चौधरीका अनुसार,  पक्राउ परेकी गोपीमाया तामाङ २०६५ सालमा प्रहरीको आँखा छली भाग्न सफल भएकी थिइन्।

त्यस बेला दाबासहित केही पक्राउ परेर जेल गए पनि गोपीमाया भने प्रहरीको आँखा छलेर भाग्न सफल भइन्। 

प्रहरीका अनुसार, ताञ्जानियाको नागरिकसँग विवाह गरी पाकिस्तानमा बस्दै आएकी गोपीमायाका पाँच ओटा नाम छन्। उनले विदेशी नागरिकसँग विवाह गरी उनले नेपालमा लागुऔषधको धन्दा चलाउँदै आएकी थिइन्। 

२०६५ सालसम्म उनी आफूलाई गोपीमाया भनेर चिनाउँथिन् । उनको सोही नामबाट धादिङको सतीदेवी गाउँ विकास समितिबाट नागरिता पनि लिएकी थिएन्।

जब २०६५ सालमा लागुऔषधसहित पक्राउ परेको गिरोहले उनको नाम लियो, अनि उनले नाम परिर्वतन गर्दै देवीमाया भन्ने नाममा नुवाकोट जिल्ला प्रशासन कार्यालयबाट २०६० सालमा अर्को नागरिकता बनाइन्। 

प्रहरीका अनुसार उनी नेपालमा कारोबार हुने अवैध लागुऔषध खैरो हेरोइनको उनी मुख्य कारोबारी हुन्। जब उनका सहयोगीहरुलाई पक्राउ गथ्र्यो, तब उनले आफ्नो नामसँगै हुलिया पनि फेर्ने गर्छिन्। 

उनै गोपीमायाले २०७७ चैत १६ मा दाबालाई हेरोइन लिन पाकिस्तान पठाएको खुल्न आएको छ। आठ वर्षसम्म विभिन्न जुक्ति लगाएर प्रहरीको आँखा छल्दै जोगिएकी गोपीमाया अन्नतः उनै दाबाकै माध्यमबाट पक्राउ परेकी हुन्। 

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार, गोपीमायाले दाबालाई चैत १६ मा नेपालबाट दुबई पठाएकी थिइन्। चैत १६ देखि २२ सम्म दाबा दुबईमा बसे। चैत २२ मा पाकिस्तानको लाहोरतर्फ लागेका उनी चैन २२  देखि २५ सम्म लाहोरमै बसेका थिए। 

चैत २६ मा मा उनी लाहोरबाट पाकिस्तााकै फैसलाबाद गए। दाबाले फैसलाबादमा ९३ वटा ‘क्याप्सुल’ पारी राखेको हेरोइन खाए, पेटमा राखे। अनि उनी फैसलाबादबाट यूएईको शारजाह हँुदै चैत २६ मा नेपाल आए र प्रहरीले उनलाई विशेष सूचनाका आधारमा विमानस्थलबाट पक्राउ गर्यो।
पक्राउ परेलगतै दाबालाई ब्यूरोले नेपाल प्रहरीको अस्पतालमा लगेर उनको पेटमा खैरो हेरोइन भएको एकिन गर्यो र निकाल्यो।
प्रहरीका अनुसार, दाबाले पाकिस्तानबाट यसअघि पनि यसै गरी हेरोइन नेपाल ल्याएको हुनसक्ने अनुमान गरेको छ। 
दाबाले एक किलो हेरोइन ल्याएर सम्बन्धित व्यक्तिको जिम्मा लगाएपछि दुई हजार अमेरिकी डलर पाउने सहमति भएको प्रहरीमा बयान दिएका छन्।
पक्राउ परेकी गोपीमायालाई प्रहरीले पुरानो मुद्दामा अदालत पठाएको छ । अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गरेको छ भने दाबासहित तीन जनालाई आवश्यक अनुसन्धानका लागि थुनामा राखेको छ। 

पक्राउ परेकी गोपीमायाको श्रीलंका, पाकिस्तान, थाइल्याण्ड र दुबईमा रहेका लागुऔषध कारोबारीसँग संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

प्रकाशित मिति: : 2021-04-23 06:24:00

प्रतिकृया दिनुहोस्