आज २३ अप्रिल। अर्थात पुस्तक दिवश।
अचेल पढ्नै मन लाग्दैन। एक दुई पन्ना पढ्यो, ध्यान अन्त अन्त नै जान्छ। के गर्ने होला ?
- पढ्न मन नलाग्नू भनेको अरु कुरामा ध्यान जानू हो। एक दुई पन्ना पढ्यो कि निँद लाग्छ कि तिनै पन्ना मध्येको कुनै शब्दले अर्को कुनै स्मृतिमा गाँस्छ। स्मृतिमा हराउँदा हराउँदै, के पढेँ भनेर थाहै हुन्नँ। फेरि दोहोराउँने पर्ने हुन्छ। दोहोराएपनि स्थिती उहि हो। अव बुझ्नुस्- तपैको ध्यान अन्तै अरु केही कुरामा छ।
- कि तपाई आफ्नो मनस्थिती बाहिरको कितावमा हुनुहुन्छ। किताव बेकार होइन, तर तपाई त्यो किताव पढ्ने मुडमा हुनुहुन्न। म चाहिँ यस्तो बेला घरमा भएका धेरै किताव पढ्ने कोसिस गर्छु अलिअलि, तानेन भने अर्को पढ्छु, अर्को-अर्को। कुनै न कुनैले अन्तिमसम्म पुर्याउँछ।
- भए भरका किताव पढ्दा पनि तानेन भने कुनै एक किताव वाचनै गरेर पढ्छु भन्ने प्रतिज्ञा गर्छु र किताव स-स्वर पुरा पढ्ने कोसिस गर्छु। सस्वरमा पढेको किताव पुरा गर्दासम्म अर्को किताव पढ्ने मुड र जाँगर तयार भइसकेको हुन्छ।
- किताव पठनलाई जीवन शैलीसित जोड्नुस्। हरेक दिनको कुनै समय किताव पठनलाई छुट्याउँनुस्। त्यो समयमा पढ्ने कोसिस गर्नुस्। मुड नचलेपनि यति पेज त पढ्छु भन्ने प्रतिज्ञा गर्नुस्। बिस्तारै तपाईलाई कितावको बानी पर्छ। सर्र सर्र पन्ना पल्टने आवाजको बानी पर्छ!
- सधैँ महान व्यक्तिले सिफारिस गरेका मात्रै किताव पढ्छु भन्ने धारणा नबनाउँनुस्। त्यसैले आँफैले पनि पुस्तकको खोजी गर्नुस्। पुस्तक छान्ने मेरो तरिका छ- पसलमा जाने, हरेक किताव बिचबाट पल्टाउँने। कुनै न कुनै अध्याय तपाईको रुचीको अवश्य फेला पर्नेछ। बिचको कुनै एक अध्याय मन पर्नु भनेको सम्पूर्ण किताव पढ्ने बाताबरण बन्नु हो।
- सधैँ महान र प्रख्यात किताव पढ्छु भन्ने धारणा त्याग्नुस्। यो धर्तिका महान लेखक मध्येका एक मार्खेज गृहलक्ष्मी टाइपका पत्रिका पनि पढ्थे। पछिल्लो समयका नेपाली साहित्यका मुर्धन्य भनिने धेरै साहित्यकार प्रकाश कोविद र युधिर थापा पढेर आएका हुन्। काम सानो हुँदैन भनेजस्तो पुस्तक पनि सानो हुँदैन। जुन कितावमा तपाईको मन बस्यो, त्यहि अमूल्य पुस्तक हो।
- पुस्तकको मोटोपन र पातलोपनतिर पनि नजानुस्। स्वादको छ कि छैन एकपल्ट पन्ना उघारेर पढ्ने कोसिस गर्नुस्। आफ्नो स्वादको पुस्तक कहिल्यै पनि मोटो लाग्दैन। र, पातलो पुस्तक सबैको प्रिय पनि हुँदैन।
- भविष्यमा लेखक हुन्छु भनेर मात्र पुस्तक पढेर हुँदैन। हरेक क्षेत्रकाले पढ्नुपर्छ! अहिले त संसार इन्टरनेटले एक डल्लो भइसक्यो। तपाई जुन क्षेत्रमा भए पनि पुस्तक पढ्ने गर्नुस्। नेपाली हुनुहुन्छ सकेसम्म नेपाली पढ्ने कोसिस गर्नुस्। किनभने, तपाई नेपालको सिमा काटेर नेपाली परिचय बोकेर अर्को सिमाभित्र पस्नु भयो भने तपाईलाई अमेरिका, पाकिस्तान वा इजिप्टमाथि कसैले सोध्दैन, सोध्छ त नेपालमाथि। मलाई लाग्छ- नेपाल चिनाउँने पुस्तक नेपाली भाषामा धेरै छन्।
ह्याप्पी रिडिङ।
-लेखक बुद्धिसागरको सामाजिक सञ्जालबाट साभार