नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस महाधिवेशन: बागलुङमा शेरचन, उदयपुरमा कार्की विजयी

file photo
file photo

नेपाली कांग्रेस बागलुङको सभापतिमा जीतबहादुर शेरचन विजयी भएका छन्। कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि आइतबार मतदान भएको थियो।

केहीबेर अघि सार्वजनिक मत परिणामअनुसार शेरचन ८१८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जगदीशचन्द्र उपाध्यायले ७२४ मत ल्याउनुभएको प्रमुख निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए। शनिबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि अर्का प्रत्यासी द्रोर्ण कँवर निर्वाचनबाट बाहिरिएका थिए। त्यसपछि शेरचन र उपाध्यायबीच पुनः प्रतिस्पर्धा भएको हो।

यस्तै जिल्ला उपसभापतिमा सागर छन्त्याल र तारानाथ पौडेल विजयी भएका छन्। छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गरे। सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित भएका छन्। शर्माले ९०८ र अधिकारीले ७०७ मत प्राप्त गरे। सहसचिवमा फमबहादुर खत्री र ज्ञानकुमारी शर्मा श्रीष विजयी भए। खत्रीले ८५५ र श्रीषले ८८० मत प्राप्त गरे।

उदयपुरको सभापतिमा कार्की विजयी

नेपाली कांग्रेसको उदयपुर जिल्ला सभापतिमा हिमाल कार्की निर्वाचित भएका छन्। दुई सदस्यबाहेक अरु सबै पदाधिकारीमा कार्की प्यानल विजयी भएको छ । कार्कीले ६७६ तथा उनका प्रतिद्वन्द्वी निवर्तमान सभापति विदुर बस्नेतले ५८९ मत प्राप्त गरे। नवनिर्वाचित जिल्ला सभापति कार्की निर्वाचन क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्य तथा प्रदेश १ को भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत हुन्।

यस्तै उपसभातिमा भीमचन्द्र राई, सचिवमा मुरारी खड्का र राजेशचन्द्र श्रेष्ठ तथा सहसचिवमा चन्द्रदीप पौडेल र टीकाराम बुढाथोकी निर्वाचित भएका छन्। सदस्यमा कूल ३८ सदस्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। यसअघि निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा खगेन्द्रकुमार राई र क्षेत्र नं २ को सभापतिमा राकुमार राई विजयी भएका थिए।

 
प्रकाशित मिति: : 2021-11-30 08:20:00

प्रतिकृया दिनुहोस्