चितवनमा कोरोना सङ्क्रमणबाट एकै दिन चार जनाको मृत्यु 

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

जिल्लाका दुई अस्पतालमा उपचारारत चार जना कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको मृत्यु भएको छ।

चितवन मेडिकल कलेज (सीएमसी) मा तीन जना र कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) मा एक जनाको मृत्यु भएको हो। मृत्यु भएकाहरु एक जना तनहुँ, एक जना बारा, एक जना रुपन्देही र अर्काे एकजना कपिलवस्तुका रहेका छन्।

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाका तीन अस्पततालमा गरी १३ जना सङ्क्रमित भेन्टिलेटरमा उपचाररत छन्। सीएमसीमा नौ जना र सीएमएसमा चार जना भेन्टिलेटरमा उपचार गराइरहेका हुन्।

यस्तै ६४ जना बिरामी सघन उपचार कक्षमा छन्। तीमध्ये सीएमसीमा ३६ जना, सीएमएसमा १८ जना र भरतपुर अस्पतालमा १० जना उपचारारत छन्।

यसैगरी ४६ जना सङ्क्रमित एचडीयूमा उपचार गराइरहेका छन्। तीमध्ये भरतपुर अस्पतालमा २४ जना, सीएमसीमा आठ जना र सीएमएसमा १४ जना रहेका छन्।

जिल्लाका अस्पतालमा उपचार गराइरहेका २२० जना सङ्क्रमितमध्ये भरतपुर अस्पतालमा १०६, सीएमसीमा ७८ र सीएमएसमा ३६ जना रहेका छन्।

जिल्लामा भरतपुर अस्पतालमा ११० शय्या, सीएमसीमा १३९ शय्या र सीएमएसमा १०० शय्या कोभिड सङ्क्रमितका लागि छुट्टाइएको छ।रासस

प्रकाशित मिति: : 2021-05-03 19:34:00

प्रतिकृया दिनुहोस्