गर्मी मौसममा के खाने ?

गर्मी महिना शुरु भएको छ। गर्मी महिनामा आफ्नो हात र शरिरका विभिन्न अंगको सफाईमा ध्यान दिनुपर्छ। गर्मी मौसममा डिहाइड्रेसन, भोक नलाग्नु र धेरै पसिना आउने कारण शरिरको तापक्रम साधारण हुँदैन र थुप्रै रोग लाग्न सक्ने सम्भावना हुन्छ, त्यसैले गर्मी आवश्यकता अनुसार कमसेकम ३ देखि ५ लिटरसम्म पानी पिउनैपर्छ। यो स्थितीबाट बच्नका लागि आफ्नो खानपिनमा विशेष ध्यान दिन आवश्यक छ। 

पानी
गर्मीमा प्रशस्त पानी पिइएन भने डिहाइड्रेसन हुन्छ। शरीरका नसा र कोशिकाहरूलाई पानीले सिंचित गरिराख्न शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन। गर्मी महिनामा घामको सिधा असर हुने भएकाले शरिरलाई अत्यधिक पानीको आवश्यकता पर्दछ। यसर्थ, आफ्नै घरमा सफा गरिएको अथवा उमालेको पानी बोत्तलमा बोकेर हिँड्ने र पानी पिइरहने गर्दा सबैभन्दा उत्तम हुन्छ।

दही
यो समयमा संक्रमणको जोखिम उच्च हुने तथा त्यसबाट पाचन क्रियासम्बन्धी समस्याहरु निम्तिने डर हुन्छ । गर्मी याममा खानपानको विषयमा अपनाउनुपर्ने सावधानी सँगै खानामा दही समावेश गराउनु निकै फाइदाजनक हुन्छ। दहीको नियमित सेवनले गर्मी याममा स्वास्थ्य तथा सुन्दरतालाई प्रवर्धन गर्न सहयोग पूराउँछ।

खरबुजा
खरबुजा पनि गर्मीको मौशममा प्रशस्त पाइन्छ। शरीरमा डिहाइड्रेसन भयो भने दिमाग बोधो हुने र मुड ठीक नहुने समस्या हुने भएकाले प्रशस्त पानी भएका यस्ता फलफुलको प्रयोग आवश्यक छ। गर्मीमा पिसाब र पसिना मार्फत शरीरमा रहेको पानी बढी मात्रामा निकास हुने भएकाले पानीको मात्रा बढी भएको खरबुजा जस्ता फलफूल नियमित खाने प्रयास गर्नुपर्छ। खरबुजामा छालालाई घामको विकिरणबाट जोगाउने तत्वसमेत भएकाले गर्मीमा यो ज्यादै उपयोगी हुन्छ। खरबुजामा क्यालोरीको मात्रा कम हुने भएकाले खरबुजा बढी खाँदा पनि मोटाइएला भन्ने चिन्ता पनि हुँदैन।

काँक्रो
काँक्रोमा सिलिकाजस्ता तत्व पाइन्छन्। जसले गर्मीमा छालालाई स्वस्थ बनाउने गर्छन्। साथै, यसमा फाइबर, पोटासियम र म्याग्नेसियम पनि प्रशस्त पाइन्छन्। काँक्रोमा पानीको मात्रा बढी पाइने भएकाले यसले शरीरलाई डिहाइड्रेट हुनसमेत दिँदैन। तसर्थ, गर्मीमा खानासँगै काँक्राको सलाद नछुटाउनु ज्यादै लाभदायक हुन्छ।

 पुदिना
पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। यसले अनुहार चम्किलो बनाउन पनि सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन् बढी फाइदाजनक मानिन्छ किनभने यसको गुण शीतल हुन्छ। 

प्रकाशित मिति: : 2021-05-23 11:45:00

प्रतिकृया दिनुहोस्