धनुषाको स्थानीय तहहरुले बढायो पिसिआर टेस्टको दायरा

विजय साह

जनकपुर

धनुषा जिल्लाको धेरैजसो गाउँमा अहिले कोरोना भाइरस संक्रमणको लक्षणसँग मिल्दोजुल्दो बिरामीको संख्या बढेपछि स्थानीय तहहरुले पिसिआर टेस्टको दायरा बढाएको छ।

रुघाखोकी, ज्वरो र शरीर दुख्ने जस्ता समस्याका बिरामी अधिकांश गाउँमा देखा परेपछि स्थानीय तहहरुले पिसिआर टेस्टको दायरा बढाएका हुन्।

शहरी होस् वा भित्री ग्रामीण बस्ती जताततै ‘हनहनी ज्वरो आउने, रुघाखोकी, हात, खुट्टा र टाउको दुख्नेलगायत लक्षणका बिरामीहरूको संख्या यतिखेर निकै बढेको छ।

जिल्लामा यस्तो कुनै गाउँ छैन जहाँ ज्वरोका बिरामी छैनन्। सरकारी तथा नीजि स्वास्थ्य उपचार केन्द्र यस्ता लक्षण बोकेका बिरामीको चाप बढेको छ।

निषेधाज्ञाले गर्दा सर्वसाधारण मानिस परिक्षणका लागि प्रादेशिक कोभिड अस्पताल जनकपुर जानआउन सहज नभएकाले स्थानीय तहहरुले स्वास्थ्यकर्मी टोली लिएर गाउँमै पुगेर स्वाव संकलन गरी परिक्षण गर्ने व्यवस्था मिलाएका छन्।

यस कार्यमा जिल्लाका गणेशमान चारनाथ, धनुषाधाम, हंसपुर र मिथिला नगरपालिका तथा जनकपुरधाम उपमहानगरपालिकालगायतका अन्य पालिकाले स्वास्थ्यकर्मीहरुको टोली टोल तथा घरमै गएर स्वाव संकलन गरी परिक्षण गराउने काममा तीब्रता दिएको छ।

जिल्लामा दोस्रो चरणको कोरोना भेरियन्टका संक्रमितको संख्या मंगलबारसम्म ७ हजार ६ सय ३ जनामा पुष्टि भएको छ। जसमध्ये हाल सक्रिय संक्रमितको संख्या १ हजार ५ सय २० रहेको छ।

यस्तै धनुषाको गणेशमान चारनाथ नगरपालिकाले विभिन्न आठ स्थानबाट ३ सय जनाको स्वास संकलन गरी  परिक्षण गराउँदा १ सय ३० जनामा कोरोना भाइरसको पुष्टि भएको नगरपालिकाका स्वास्थ्य इन्चार्ज श्यामजी रायले बताए।

उनका अनुसार बिरामीहरु सामान्य अवस्थामा भएकाले होम आइसोलेशनमा राखेर उपचारको व्यवस्था मिलाइएको छ। उनीहरुलाई नियमित स्वास्थ्य जाँच तथा औषधी उपलब्ध गराउन स्वास्थ्यकर्मीको टोली खटाएको इन्चार्ज रायले जानकारी दिएका छन्।

यसैगरी जिल्लाको सबैला नगरपालिकाले कोरोना परिक्षण र औषधी उपचारको व्यवस्थामा ढिलासुस्ती गरेपछि स्थानीय युवाहरुले सक्रिय देखाउँदै स्वाव परिक्षणलगायत औषधी उपलब्ध गराउनेसम्मको काममा खटिएका छन्।

कोभिड–१९ महामारीको दोस्रो लहरले गाँउलाई समेत चपेटामा पारेपछि युवाहरु स्थानिय सरकारको मुख नताकी आफैँ सक्रिय भएका छन्। उनीहरुले गाँउ स्तरमा कोभिड नियन्त्रण समिति समेत बनाएका छन्।

प्रकाशित मिति: : 2021-06-01 13:29:00

प्रतिकृया दिनुहोस्