म्यान्मार सैन्य ‘कू’: ७५ बालबालिकाको हत्या, सयौँ पक्राउ

Photo - AFP
Photo - AFP

म्यान्मार ‘कू’ यता सरकारी सुरक्षाकर्मीले चलाएको गोलीद्वारा दर्जनौँ बालबालिका मारिएका छन् भने सयौँ सैन्य हिरातमा छन्। 

कोरोना महामारीसँगै म्यान्मारमा राजनीतिक उथलपुथुल पनि उतिकै जोखिमपूर्ण रहेको संयुक्त राष्ट्रसंघका अधिकार विज्ञहरूले बताएका छन्।

म्यान्मारमा बालबालिकाहरू ‘जुन्ता’ सरकारबाट सबैभन्दा बढी असुरक्षित रहेको राष्ट्रसंघको ठहर छ। सन् १९९१ मा म्यान्मारले बाल सम्मेलनमार्फत् अधिकार र संरक्षणमा जुट्ने प्रतिवद्धता जनाएपनि पालना नगरेकोप्रति राष्ट्रसंघले गम्भीर चिन्ता व्यक्त गरेको छ।

‘जुन्ता’ सरकार र सुरक्षाकर्मीले घरभित्रै पुगी बालबालिकाहरूको हत्या गर्नु मानवअधिकारको गम्भीर उल्घंन भएको विज्ञहरूले बताएका छन्। 
संयुक्त राष्ट्रसंघ बालअधिकार समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सैन्य ‘कू’यता ७५ जना बालबालिका मारिएको जनाएको छ। हालसम्म एक हजारभन्दा बढी निर्दोष बालबालिकाहरू पक्राउ समेत परेका छन्।  

बालबालिकाहरू सरकारी सुरक्षाकर्मीबाट अस्पताल, विद्यालय वा धार्मिक मन्दिरहरूमा समेत सुरक्षित नभएको प्रतिवेदनमा उल्लेख छ। ‘मानव जीवनमा सबैभन्दा घातक र गम्भीर अपराध हो। जहाँका बालबालिकाहरू दिनहुँ मारिरहेका छन्। यस्तो कार्य म्यान्मार सैन्य सरकारले तत्काल रोक्नुपर्छ,’ विज्ञहरूले भने।

गत फेब्रुअरीको पहिलो–सातादेखि सुरु भएको सैन्य ‘कू’को विरोधमा उत्रिएका ९ सय १२ नागरिकको सुरक्षाकर्मीले हत्या गरेको एएपीपीले जनाएको छ। यसक्रममा पक्राउ परेका हजारौँ–हजार थुनामा छन्।

गत नोभेम्बरमा भएको चुनावमा व्यापक धाँधली भएको भन्दै म्यान्मारको सेनाले सत्ता कब्जा गरेको छ। लोकतन्त्र पक्षधरहरूले दैनिकजसो सरकारविरोधी प्रदर्शन गर्दै आएका छन्।

प्रकाशित मिति: : 2021-07-17 09:39:00

प्रतिकृया दिनुहोस्