ओलीले अझै पनि राजा–महाराजाको शैली देखाइरहेका छन्– माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले अझै पनि राजामहाराजाको शैली देखाइरहेको बताएका छन्। पुष्पलाल मित्रता केन्द्रले शुक्रबार ललितपुरमा आयाेजना गरेकाे कार्यक्रममा बोल्दै नेता नेपालले साेही कुरा बताएका हुन्। 

‘हिजाे मात्रै राजामहाराजाकाे शैलीमा माधव नेपालसहितकालाई माफी दिइन्छ भन्ने सुनेँ, महाराजाबाट आदेश आयो, आममाफीको हामी खुसी भयौँ गदगद भयौँ।’  नेता नेपालले भने,  ‘मैले ठानेकाे थिएँ स्पष्टीकरणा साेध्नु गल्ती भयाे, सँच्चाए भन्लान्, यस्ताे भन्दा कस्काे हाइट घट्थ्याे ?’ 

उनले कम्युनिष्ट आन्दोलन संकटमा परेको बताउँदै चुनौतीको सामना गर्दै अघि बढ्ने बताए। गत बर्षदेखि केपी ओलीले पार्टीको विधी पद्धतिलाई उल्लंघन गर्दै आफ्नै  तरिकाले अगाडि बढ्दै गएको बताएका छन्।

उनले ओली सुध्रिएलान् भनेर आफूले संयमता अपनाइरहेको पनि बताएका छन्।

‘डोरी जल्यो तर गाँठो उस्ताको उस्तै छ, भने जस्तै म त मान्छे सुध्रिएलान् भनेर बस्छु, प्रवृत्ति उही छ। एकता होला भनेर आश गरेँ। हिजो पनि ख्याल गर्दै मिठो मिठो बोलेँ। ख्याल गरेर बोलिरहेको छु। जिब्रोले बोल्दिहाल्ला भन्यो, एउटा शब्द पनि तलमाथि नहोस् है भनेँ। तर उताबाट उही राजा महाराजाको शैलीमा आदेश आउँछ।’ नेता नेपालले भने।

त्यस्तै, नेता नेपालले कोटेश्वरमा आफ्नो निवास अगाडि राति मोटरसाइकलमा पन्ध्र बीस जना बसेर तर्साउन खोजेको समेत खुलासा गरेका छन्। 

प्रकाशित मिति: : 2021-07-23 16:44:00

प्रतिकृया दिनुहोस्