बिहिबार, १८ सेप्टेम्बर २०२५

छाेरी आउने बाटो कुरिरहेकी आमा (भिडियाेसहित)

ईश्वरी राई (इशु)

ईश्वरी राई (इशु)

काठमाडाैं
• • •

सेतै फुलेकाे कपाल अनि चाहुरिएकाे कान्छी वाइबाकाे अनुहार हिजाेआज झन–झन मलिन छ।

केही दिनदेखि हराइरहेकी छाेरीकाे यादले उनकाे मन कुडिएकाे छ तर छाेरी फर्किने आस अझै उनमा छ। दुई पटकसम्म हराएर भेटिएकी छोरीकाे बाटाे कुर्दै बितिरहेकाे छ, ७५ वर्षीय आमाका दिनहरू।

राम्रोसँग कान सुन्दिनन् र आँखा पनि देख्दिनन् कान्छीले। तर उनलाई आफ्नोभन्दा धेरै छोरीकाे चिन्ताले सताइरहेको छ। ‘कस्तो अवस्थामा होलिन् छाेरी?’

सन्तानकाे सम्झनामा विक्षप्तिएकी उनी दिनभरि छाेरीकाे लुगालाई सुमसुमाउँदै रून्छिन्। अनि विगतका दिनहरूलाई स्मरण गर्न थाल्छिन्।

२० वर्षको उमेरमा विवाह भएको थियो कान्छी वाइबाको। परिवारको सहमतिमा उनी वीरबहादुर तामाङकी दुलही बनेकी थिइन्।

माइतीघरमा घाँस–दाउरा गरेर हुर्किरहेकी कान्छीलाई विवाह गर्ने रहर थिएन। तर हुनेवाला श्रीमान हवल्दार थिए। त्यसैले बाआमाको अगाडि उनको घुर्की चलेन।

इच्छाबिना गरेको विवाहपछि उनी श्रीमानसँगै काठमाडौं आइन्। उनको लागि नौलो सहर थियो काठमाडौं। मनमा डर थियो तर साथमा वीरबहादुर पनि।

माइतीघर छाडेपनि कान्छीलाई विश्वास थियो, बुबाले आमालाई माया गरेजस्तो उनलाई पनि श्रीमानले प्रेम गर्नेछन्। तर श्रीमानको माया पाउनु उनको लागि सपना बन्यो।

कान्छीसँग कहिल्यै राम्रोसँग बोलेनन् वीरबहादुर। दिनभरि ड्यूटीमा व्यस्त हुन्थे साँझ रक्सीको मातमा घर फर्किन्थे। अनि कान्छीसँग झगडा गर्थे।

दिनरात श्रीमानको कचकचले थाकिसकेकी थिइन् कान्छी। माइतीघरलाई सम्झिएर रुने गर्थिन्। र, श्रीमानको अपहेलना आफ्नो भाग्य ठानेर चित्त बुझाउँथिन्। उसलाई विश्वास थियो ‘एकदिन श्रीमान सुध्रिने छन्।’

तर त्यो दिन उनको जीवनमा कहिल्यै आएन। दुई छोराछोरीको आमा भइसक्दा पनि। घरमा श्रीमानको कुनै ठेगभर थिएन। अब छोराछोरीको लागि भएपनि कान्छीले काम गर्नुपथ्यो।

तर के काम गर्ने? 

उनी आफैं अन्योलमा परिन्।  ‘काम गर्छु भनेर सोचेकी थिएँ तर के गर्ने भनेर केही थाहा थिएन’, काम नपाएर निराश थिइन् कान्छी।

तर एकदिन छिमेकी दिदीले उनलाई मकै पोल्ने आइडिया दिइन्। कान्छीलाई पनि मकै पोल्ने आइडिया राम्रो लाग्यो।

र, भोलिपल्ट बिहानै उनी कालीमाटी पुगिन्, एक धोक्रो मकै किनेर ल्याइन्। अनि त्यही मकैलाई पोलेर १० रुपैयाँ घोगा बेच्न थालिन्।

डेरा नजिकै फुटपाथमा बेचिरहेको पोलेको मकैको व्यापार फस्टाउँदै थियो। उनले बदाम बेच्न पनि सुरु गरिन्। ग्राहकहरू बढ्दै गए।

दिनको हजारदेखि दुई हजारसम्मको व्यापार हुन थाल्यो। त्यो पैसा उनी कोठाभाडा, रासनदेखि छोाराको पढाइमा खर्चिन्थिन्।

‘श्रीमानको जागिर थियो तर घरमा एक किलो पनि चामल ल्याउँदैनथियो। आफैंले काम नगरे भोक्कै हुन्थ्यौ’, बिएल नेपाली सेवासँग उनले भनिन्,  ‘लोग्ने भएपनि केही ठेगभर भएन।’

घरको आर्थिकस्थिती नाजुक थियो। तर छोरालाई पढाउने उनको ठुलो सपना थियो। उनले आफू भोक्कै भएरपनि छोरालाई एसएलसीसम्म पढाइन्।

तर छोरीले स्कुलको आँगन पनि टेक्न पाइनन्। ‘छोरीलाई पढाउनसक्ने मेरो अवस्था थिएन’, उनले भनिन्।

कान्छीकी छोरी सरस्वती बुझ्ने थिइन्। घरको सबै काम गर्थिन् र एउटी आमाले जसरी भाइको स्याहार गर्थिन्।

सानैदेखि छोरीलाई घरायसी काममा सिपालु बनाएकी कान्छीलाई लाग्थ्यो कि छोरी मान्छे पढाइमाभन्दा पनि घरायसी काममा पोख्त हुनुुपर्छ। तबमात्र घरपरिवार सम्हाल्न सक्छिन्।

कान्छीले २० वर्ष पुगेकी छोरीको विवाह कुटुम्बमा गराइदिइन्। ‘छोरी आफ्नै जातमा दिएँ, त्योभन्दा खुसीको कुरा के हुन सक्थ्यो र!’, उनले सुनाइन्।

छोरीलाई बिदाइ गरेपनि छोराको भविष्यका लागि उनी दिनरात खटिरहिन्। केही रुपैयाँ बचत पनि गरेकी थिइन्। तर अचानक उनीमाथि बज्रपात पर्यो।

सधैं रक्सी खाएर श्रीमतीसँग झगडा गर्ने वीरबहादुरलाई त्यही रक्सीले लग्यो। कहिले नफर्किने  बाटो।

छोराको लागि भनेर बचत गरेको पैसा श्रीमानको काजकिरीयामा खर्चिइन्।  ‘लोग्नेको कहिले माया पाइनँ तर श्रीमतीको कर्तव्य पूरा गर्नेपर्या’,उनले भनिन्,  ‘श्रीमान हुँदा पनि एक्ली थिएँ, नहुँदा पनि एक्लै।’

छोराको अकालमै मृत्यु

छोरीले आफ्नो घर गइसकेकी थिइन्। श्रीमानले पनि संसार त्यागिसकेका थिए। तर उनको साथमा छोरा थिए, उसैको लागि बाँचिरहेकी थिइन् कान्छी।

पाँखुरामा मर्सी भइन्जेल उनी आफैं फुटपाथमा घोटिरहिन्। छोरालाई घरको सिन्को पनि भाँच्न दिइनन्। छोरालाई पुलपुलाएर हुर्काइन्। तर उनै छोराले आमालाई नसोधी विवाह गरे।

बुढेसकालको लठ्ठी सोचेका छोराले विवाह गर्दा कान्छी निराश भइन् तर छोराको खुसीको अगाडि उनको के लाग्थ्यो र? खुसी हुँदै बुहारीलाई पनि अपनाइन्।

बुहारी घरको कामधन्दा सम्हाल्थिन् कान्छी भने दिनभरि सडकपेटीमा मकै र बदाम बेच्थिन्। त्यही व्यापारले तीन जनाको परिवार धानिरहेको थियो।

छोराले विवाह गरेको केही वर्षपछि नातिनी र नाति जन्मिए। जसकलागि कान्छीले आफूले जीन्दगीभर कमाएर लगाएको गरगहना बेचिदिइन्। ‘छोराबुहारीको काम थिएन। त्यसैले आफैंले लगाएको सुनचाँदी बेचेर नातिनातिनाको न्वारन गरिदिएँ’, उनले भनिन्।

नातिनातिना हुर्किदैं गए। कान्छी पनि काम गर्न नसक्ने भइन्। अब छोराको कमाउने पालो थियो। छोरा पनि काम गर्ने तरखरमा थिए।

उनलाई छोराले भन्ने गर्थे, ‘तपाईं घरमा नातिनातिनासँग बस्नू। म काम गरेर तपाईंलाई पाल्छु।’ छोराका ति शब्दहरू सुनेर खुसी हुन्थिन् कान्छी वाइबा।

तर उनको त्यो खुसी धेरै समय टिक्न सकेन। छोरा नमज्जासँग थला परे। छोराको हात घुँडा नचल्ने भए।

ओछ्यानमा लम्पसार परेका छोरालाई उनले वीर अस्पतालमा भर्ना गरिन्। तर छोरा बच्न सकेनन्। अस्पताल भर्ना भएकाे तीन दिनपछि छोराको मृत्यु भयो।

‘छोरा निको हुन्छ भनेर अस्पताल लगेकी थिएँ तर अस्पतालले नै छोरा मारिदियो’, अझैपनि वीर अस्पताललाई सराप्छिन् कान्छी।

छाेराकाे मृत्युपछि उनकाे बाँच्ने रहर पनि हराउँदै गयाे। तर उनलाई नातिनातिनाकाे लागि बाँच्नु थियाे, उनीहरूलाई हुर्काउनुथियाे।

सानै उमेरमा पिता गुमाएका छोराछोरीले आमाको माया पनि पाएनन्। छोराको मृत्युपछि बुहारी पनि घर छाडेर भागिन्।

छोरा संसारमा नभएपनि छोरी थिइन्, मन भुलाउने बाटाे थियाे। तर घरायसी तनावकाे कारण छाेरीले पनि मानसिक सन्तुलन गुमाइन्। 

त्यसपछि छाेराछाेरीकाे पीरले खस्किदैं गइन् कान्छी। प्रेसरकी बिरामी भइन्। ‘जवानीमा निरोगी थिएँ तर छोराछाेरीकाे तनावले रोगी बनायो’, उनले आफू बिरामी पर्नुकाे कारण खुलाइन्। 

छाेरीकाे घरबार बिग्रिएपछि उनले आफैंसँग राखिन्। तर ६९ वर्ष पुगिसकेकी कान्छीले कतिन्जेल पाे काम गर्न सक्थिन् र? 

आफूले काम गर्न नसक्ने भएपछि उनले नातिनातिनालाई एक होस्टलमा राखिदिइन्। र, रातोपुलको डेरा छोडेर छाेरीसँगै उनी सामाखुसीको एक आश्रममा बस्न थालिन्। 

कान्छीले छाेरीसँग चार वर्ष त्यही आश्रममा बिताइन्। त्यसपछि २०७९ सालमा उनी हिमालय वृद्धाश्रममा पुगिन्। ‘हामी बसेको आश्रम बन्द भएपछि हामी यहाँ आइपुगेका हाैं’, उनी भन्छिन्, ‘हाम्राे उद्दार गर्नुभएकाे थियाे।’

छोरीको पीर

छोरीसँगै नयाँ आश्रममा आएकी कान्छी खुसी थिइन्। बुढ्यौलीको कारण आँखा बन्द भएपनि छोरीले आमाको सबै काम गरिदिन्थिन्। ‘छोरी हुँदा राम्रो थियो, मलाईह डोर्याएर हिड्थ्यो तर अहिले छैन’, आँसु पुछ्दै उनले सुनाइन्।

हुनत सरस्वतीले आश्रम छोडेको पहिलोपटक होइन। दुई पटक उनी रातोबाट भेटिएकी छिन् तर यसपटक भने बेपत्ता जस्तै भएकी छिन्। ‘मेरी छोरी कहाँ गइन् होलिन्’, रुँदै उनी छोरीलाई सम्झिन्छिन्।

छाेरीलाई खाेज्नका लागि उनले आश्रमसँग गुहार मागिरहेकी छिन् अनि आफूलाई भेट्न आउने नातिनीसँग पनि।

आमा हराएको खबर सुनेर सरस्वतीकी छोरी निराश छिन्। उनले पनि आफ्नी आमालाई खाेजिरहेकी छिन्। तर कतै भेटिएकी छैनन्।

‘नातिनी आएर रुएर जान्छिन्। मलाई नरमाइलो लाग्छ’, उनलाई नातिनीको आँसुले झनै कमजोर बनाइरहेको छ।

उनकी नातिनी सडकपेटीमा झाडु लगाउने काम गर्छिन्। उनलाई रहर छ, आमा र हजुरआमालाई पाल्ने। तर बाध्यताले उनलाई दुई जनासँग टाढा राखेको छ। कान्छी भन्छिन्, ‘नातिनीको अवस्था पनि उस्तै छ। उसले हामीलाई पाल्न सक्दिनन। कहिलेकाहीँ आश्रम आएर भेटर जान्छिन्।’ 

जीवनको ७४ औं बसन्त पार गरिसकेकी कान्छीलाई अहिले छाेरीकाे यादले तड्पाइरहेकाे छ।

उनी भन्छिन्, ‘यदी मैले आँखा देख्थें भने छोरीलाई खोज्न आफैं जान्थें। छोरी र नातिनीलाई मकै बदाम बेचेरै पाल्थें।’

तर अहिले उनको लागि त्यो सबै एकादेशको कथा भएको छ। छाेराछाेरीकाे पीरले थलिएकी कान्छीले घर समेत बिर्सिसकेकी छिन्। अब त याद गर्न पनि सक्दिनन्। 


‘नाङ्लो’भरि ‘खुशी’ बोकेर परिवार धानिरहेकी सीता (भिडियोसहित)

जसले छोरालाई सबथोक दिइन्, आज उनै आमा आश्रममा छिन् (भिडियोसहित)

 

जीवनभरिको कमाइ श्रीमतीलाई दिए, उनीसँगै मुद्दा लड्दा-लड्दै आश्रम पुगे

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!