जातीय विभेद गर्ने वडा अध्यक्षका छोरा पक्राउ, बाबू अझै फरार

सिंजा गाउँपालिका -६ काँडागाउँका दलित युवा विवेन्द्र नेपालीमाथि जातीय विभेद गर्ने वडा अध्यक्ष कालीबहादुर बुढाका छोरा नवीन बुढा पक्राउ परेका छन्। प्रहरीकाे फरार सूचीमा रहेका बाबुछाेरा मध्ये छाेरा पक्राउ परेपनि बाबू अझै फरार रहेकाे जुम्ला प्रहरीले जनाएको छ।

गत असार आठ गते वडा अध्यक्षका बाबू छाेराेले वडा कार्यालयभित्रै जातीय गालिगलाेज गरेपछि पीडित नेपालीले उनीहरुविरुद्ध असार २२ गते जातीय विभेद गरेकाे भनी जाहेरी दिए पनि प्रहरीले २५ गते मात्र मुद्दा दर्ता गरेकाे थियाे।

‘सुरुमा जुम्ला प्रहरीले जाहेरी नै दर्ता गर्न मानेको थिएन। डिएसपी र सीडीओसँग भन्दा पनि मुद्दा दर्ता भएन,’ पीडित नेपालीले भने, ‘जुम्लाका दलित अगुवाहरु र रंगकर्मीकाे दबाबपछि मात्र प्रहरी जाहेरी लिन तयार भएको थियो।’

तर, जातीय विभेदजस्तो जघन्य अपराध गरेको आरोप लागेका वडाध्यक्ष र उनका छोरालाई जुम्ला प्रहरीले ढिलासुस्ती गर्दा छाेराे पक्राउ परेपनि बाबू पक्राउ नपरेकाे पीडित नेपालीले बताए।

‘जुम्ला प्रहरीले लामाे समय चरम लापरबाही गर्‍याे। प्रहरीले समयमै जाहेरी दर्ता गरेकाे भए अपराधी उम्किन पाउने थिएनन्,’ विवेन्द्रका लागि न्याय अभियानका संयाेजक नरेश बहादुर नेपालीले भने, ‘आलटाल गरेर आराेपी उम्काउने खेलमा प्रहरी आफै लाग्याे। छाेराे पक्राउ परेपनि बाबु पक्राउ नपरुन्जेल प्रहरी कसैकाे दबाबबाट चलेकाे हुनसक्छ भन्ने कुरामा हामीलाई शंका छ।’

जिल्ला अदालत जुम्लाले २७ गते जिल्ला प्रहरी कार्यालय र नराकोट प्रहरी चौकीलाई पक्राउ पुर्जीको आदेश दिए पनि प्रहरी वडाध्यक्षकाे घरमा असार ३१ गते पुग्दा दुबै बाबछाेरा फरार रहेकाे प्रहरीले जनाएको थियाे।

साेमबार प्रहरीले वडाअध्यक्षका छाेरा नवीन बुढालाई पक्राउ गरिएकाे प्रहरी सहायक निरिक्षक युवन कुमार चाैधरीले जानकारी दिए। ‘जातीय विभेद गरेको आरोप लागेका वडा अध्यक्षका छोरा नविन पक्राउ परेका छन्,’ उनले भने, ‘केस अनुसन्धानको क्रममा रहेको हुनाले थप बताउन मिल्दैन।’

उनलाई सरकारी वकिलकाे कार्यालयबाट पाँच दिन म्याद थप गरेर अनुसन्धानकाे लागि थुनामा राखिएको छ।

पीडित नेपालीले उनीहरुविरुद्ध जाहेरी दर्ता गरेको झण्डै एक महिनापछि वडा अध्यक्षका छोरा नविन पक्राउ परेका छन् भने वडा अध्यक्ष अझै फरार छन्। 

पीडित नेपालीले लामो समयको प्रयासपछि आफूलाई जातीय विभेद गर्ने व्यक्ति पक्राउ परेको भन्दै खुसी व्यक्त गरेका छन्। 

‘म आज आंसिक रुपमा खुसी छु।  वडा अध्यक्षलाई पक्राउ गरेकाे दिन ज्यादै खुसी हुनेछु,’ उनले भने, ‘वडा अध्यक्ष गाउँमै छन्। हामी गएपछि भाग्छन्। तर प्रहरीले उनलाई समाउन सकेकाे छैन।’

प्रकाशित मिति: : 2021-08-02 18:08:00

प्रतिकृया दिनुहोस्