पदयात्रा

'फ्ल्यास–ब्याक' फोक्सुण्डो (तस्वीरसहित)

Breaknlinks
Breaknlinks

गत सालदेखि सुरु भएको कोरोना महामारीले विश्वलाई नै आक्रान्त पारेको छ।

बन्दाबन्दी र निषेधाज्ञाले लामो समय हिँड्डुल र घुमघाम पनि रोकिएको छ। मान्छे स्वभावैले घुमन्ते प्राणी हो। यो बीचमा घुम्न नपाएर छट्पटि्टँदै गर्दा दुई वर्षअघि 'कन्सेप्ट नेपाल' द्बारा आयोजना गरेको 'फोक्सुन्डो काव्ययात्रा २०७६' लाई सम्झदा मन–मस्तिष्कमा फोक्सुन्डो 'फ्ल्यासब्याक' नाचिरह्यो।

त्यस साल जेठ अन्तिम सातातिरै म रुकुम (पूर्व) तिर पुगेको थिए, घुमघाम र भूमे पर्व‍मा सहभागी हुन। डोल्पा यात्राको योजना बनेकोले म सीधै रुकुमकोट, खलङ्गा हुँदै राडीतिर हनिएँ। उता काठमाडौँदेखि पत्रकार, साहित्यकार, कवि र चित्रकार मित्रहरुको टोली नेपालगञ्ज हुँदै डोल्पा हिँड्ने तरखर गर्दै थिए।

त्यसदिन बेलुकी रुकुम पश्चिमको राडीमा बास बस्न पुगे।

अर्को दिन ठूलीभेरीको झोलुङ्गे पुल तरेर बगारा, तल्लु बजार, गोतामकोट, त्रिवेणी, खदाङ हुँदै ठूलीभेरी नदीको किनारैकिनार ४ वटा जीप फेर्दै त्रिपुराकोट पुगेको थिए। त्यहाँ डोल्पाका नागरिक संबाददाता बिष्णुजीसँग भेट भयो।

त्रिपुरासुन्दरी

बिहान चर्चित त्रिपुरासुन्दरी मन्दिर दर्शन गरें। मन्दिर समुन्द्र सतहदेखि २१०१ मि. उचाइमा डोल्पा जिल्लाका त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्दछ। मुकटेश्वर हिमालको काखमा बसेको मन्दिरको पश्चिममा ताम्रमणी नदी, उत्तरमा कागमारा हिमाल, दक्षिणतिर मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवीगङ्गा बग्छ। आँखाअगाडि नजिकै कठायत टोल, ब्राहमण टोल, विष्ट टोल र मन्दिरको फेदतिर दलित टोलहरु छन्।  त्रिपुरादेवीको दर्शन गरी पूजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वस छ।

दुई रात बसेर तेस्रो दिन बिहानै विष्णुजी र म दुनै बजारतिर हिँड्यौ। डोल्पाको डाँडाकाँडा, खोला-नाला, गाउँ-बस्तीको दृश्य हेर्दै भेरी किनारैकिनार हामी दुई गाडीको कच्ची बाटो पछ्याउदै दुनै बजार पुग्दा दिउँसोको करिब १ बजेको थियो।

समुन्द्र सतहदेखि २०३५ मी.मा अवस्थित ठूली भेरी किनारमा बसेको डोल्पाको सदरमुकाम सुन्दर दुनैबजार केहीबेर घुमेर फर्किएर सुलिगाढ पुग्दा लगभग ४ बजेको थियो। सुलिगाडको पुल तरेर फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा 'इन्ट्री बुक' हेर्दा सहयात्री मित्रहरु दिउँसै २ बजेतिर अगाडि बढिसकेका रहेछन्।

मित्र विष्णुजी र म फोक्सुन्डो खोलाको तीरैतीर करिब २ घण्टा हिँडेर कागेनी पुग्दा झमक्क साँझ परिसकेको थियो। त्यस दिन पनि साथीहरुसँग भेट हुन सकेन।

चार दिनपछि सहयात्री भेट

बिहानै ५ बजे बाटो ततायौँ, अन्य साथीहरु भेट्ने आशासहित। करिब एक घण्टा जति हिँडेर साङ्ता (२४५५ मी‍‍.) पुगिएछ। दाहिने छेउमा स्यानो होटल रहेछ। सुरुमा एक– दुई जना साथीहरु देखिए। आँखा मिच्दै- सागर दाइ, मित्रहरु– कवि भूपिन, गनेश, अमृत, चन्द्र र देवेन्द्र दाइ। त्यसपछि अरु साथीहरु । कोही ओछ्यानमै त कोही दाँत मोल्दै निस्किँदै हुलहरु फटाफट देखिए।

केही बेर भलाकुसारी र चिया पिउँदै यात्राबारे गन्थनमा बित्यो। पत्रकार कमल र चित्रकार कृष्णबाहेक सबै साथी पूर्वपरिचित थिए।

फापरको रोटी खाजा खाएर यात्रा बढायौँ । करिब एक घण्टामा छेप्का (२६७०मि) पुग्यौँ । एकछिन थकाइ मार्दै चियाको चुस्की सकेर फैरि यात्रा अगाडि बढ्यो।

हिमालको नमूना– तापिरिचा स्कुल

सुमदुबाबाट बायाँतिर पुङ्मो गाउँ हुँदै कागमारा ला-तिर जाने बाटो छुटियो। हामीले दाहिने बाटो पछ्यायौँ। २५ मिनेट दूरीमा साइजल (३१३० मि.) पुग्दा निकै थकाई लागिसकेको थियो।

फोक्सुण्डो खोलाको किनारमा वरीपरि डाँडाले घेरिएको स्यानो समथल भूभागमा अवस्थित कलात्मक ढाँचाको ठूलो कम्पाउण्डसहितको सुन्दर तापिरिचा स्कुल भवन र गुम्बा देखियो। फोक्सुण्डोलगायत अपर डोल्पा यात्रा गर्ने जो कोहीको आँखा टक्क अडिन्छ।

यो क्षेत्रकै नमूना तापिरिचा स्कुल स्थापनाको लागि सेम्दुक लामा सरले आफ्नो पूरै जीवन समर्पण गरे। स्वीट्जरल्याण्डको 'तापारिचा भेहराइन' र अमेरिकाको 'फ्रेण्ड्स अफ डोल्पा'ले स्थानीय 'तापिरिचा एसोसियसन फर सोसल हेल्प इन डोल्पा' सँगको सहकार्यमा स्कुल चलिरहेको छ। शिक्षासेवी सेम्दुक सरको यो क्षेत्रमा शिक्षाको ज्योती फैलाउन महत्वपूर्ण योगदान गरेको छ।

डोल्पाको दुर्गम गाउँमा जहाँ राम्रो स्कुल अभाव भएको ठाउँमा तपरिचा स्कुलले डोल्पा र छिमेकी जिल्ला बालबच्चाहरुले राम्रो शिक्षादीक्षा पाइरहेका छन्।

शिक्षासेवी सेम्दुक सरलाई नमन ! 

अन्तिम उकालो

यात्री टोलीले झरना होटलमा तोङबा र सुकुटीसहित लामो भलाकुसारीले अबेर रातसम्म भरपुर आनन्द लियौँ। ढिँडो र खसीको मासु, तोङबासँगको विशाल भोजन, त्यो रात अवस्मरणीय भयो।

बिहान सबेरै उठेर हेर्दा चारैतिर अग्ला-अग्ला पहाड देखियो। उत्तरतिर पहाडको पछाडि 'फोक्सुन्डो ताल' एक स्थानीयले बताउँदा अब चाहिँ गन्तव्य नजिकै पुगेको भान भएको थियो।

तेर्सो पैदल मार्ग हुँदै नाकै ठोकिने करिब ४५ मिनेटको उकालो यात्राले निकै थकित बनायो। अधिकांश साथीहरु माथि 'भ्यू पोइन्ट' पुगेर थकाइ मारेका थिए। मित्र गनेसजी र मलगायत केही साथी बिस्तारै उकालो चढ्दै थियौँ।

उकालोमा स्वाँ–स्वाँ गर्दै पसिनैपसिनाले निथ्रुक्क भिज्दै थकानले हैरान पार्‍यो। बिस्तारै-बिस्तारै पाइला बढाउदै  'भ्यू पोइन्ट' ( ३७२० मी ) पुगेर भित्तामा २०० मी. लामो फोक्सुण्डो झर्नाको मनोरम दृश्यले थकान मेट्दै आनन्द लियौँ, फोटाहरु खिचियो।

बाटाभरि हिमाली रङ्गीबिरङ्गी फूलहरु, हरिया वन–जङ्गल, वरिपरि अग्ला-अग्ला डाँडा र पहाडले मन शान्त बनायो। अन्तिम उकालो कटेर तेर्सो यात्रा सुरु भयो। कलात्मक डोल्पाली गाउँ रिग्मो र निलो विशाल ताल देखियो, मन प्रफुल्ल बनायो।

श्रष्टाको सम्मान र कविता वाचन

'कन्सेप्ट नेपाल'ले चार जना डोल्पाली स्थानीय लोक-संस्कृतिमा योगदान पुर्‍याएको व्यक्तित्वलाई सम्मान गर्‍यो। होइसेर डोल्मा बैजी, नाम्दाक लामा, निमा लातार बैजी र सेम्दुक आङ्क्याल रोकायालाई जनही १० हजार पुरस्कार राशीसहित  प्रमाणपत्र हस्तान्तरण गर्‍यो। इतिहासमै पहिलोचोटी सम्मान पाएकोमा कलाकरहरुले हर्षको आँसु खसाले।

ताल किनारमा छोटो कार्यक्रम निकै रोमाञ्चक थियो। निकुञ्ज प्रमुख, वडा अध्यक्ष निमा लामा र स्थानीयहरुको उपस्थितिमा श्रष्टालाई सम्मान कार्यक्रम राखिएको थियो। कवि हेमन्त विवश, हेमन यात्री, गनेस पौडेल, सागर उदास, दीपेन्द्र लगायतले आ-आफ्नो रचना कविता वाचन गरे।

त्यस्तै चित्रकार कृष्णबहादुर नेपालीले त्यही कोरेको फोक्सुन्डोको चित्र प्रदर्शन गरेका थिए। त्यसैगरी कवि अभय श्रेष्ठले छोटो मीठो मन्तव्य दिए भने पर्यावरण र साइकल विज्ञ देवेन्द्र बस्न्यातले वातावरण र सरसफाइको महत्वबारे जानकारी तथा अनुभव बाँडेका थिए।

पत्रकार अमृत भादगाउँलेले निकै भावुक र हर्षित मुद्रामा कार्यक्रम सञ्चालन गरिरहदा, लस्करै उपस्थित सबै जना ताल किनारमा बसेर दत्तचित्तले सुनिरहेका थिए। त्यस दिनको माहौल निकै रोमाञ्चक थियो, फोक्सुन्डो ताल किनारमा।

वडा अध्यक्ष निमा लामालाई मीठो आतिथ्यताकाे लागि धन्यवाद !

 

क्या मनमोहक फोक्सुण्डो !

वाह ! फोक्सुण्डो ताल, निकैबेर टोलाईरहें। करिब ३६११ मिटरको उचाईमा कति सुन्दर र निश्चल ताल, प्रकृतिको बरदान अपरम्पर छ। छेवैमा सुन्दर हिमाली रिग्म गाउँ।

सन् १९९९ मा ओस्कार मनोनित विश्व चर्चित 'क्याराभान' फिल्म निर्माण गर्दा निर्देशक एरिक भ्यालीसहित सयौँ कलाकार टोली यहाँ महिनौ दिन बास बसेको रे !

करिब २० वर्षअघि खचाखच भरिएको जय नेपाल हलमा हेरेको क्याराभन फिल्मको दृश्यहरु फिल्मको रिलमा झैँ झल्झली याद आयो। डोल्पाली जीवनशैली, भोटतिर नूनको व्यापार, हिउँले ढपक्क ढाकेको भूगोलमा लस्करै चौँरीका बथानको ताँती। श्रव्यदृश्यमा डोल्पाको भूगोल र जीवनशैली अद्भूत तरिकाले चित्रण गरेका थिए– फ्रान्सेली निर्देशक एरिकले।

अहो ! क्या मनमोहक र लोभलाग्दो दृश्य थियो। फिल्मको सबैभन्दा सुन्दर र डरलाग्दो दृश्य निलो-कञ्चन फोक्सुन्डाे किनारै किनार गोरेटोमा चौँरी हिँडेको लस्कर र एउटा याक फोक्सुण्डो तालमा खसेको दृश्य निकै कलात्मक र आङ सिरिङ्ङ पार्ने थियो।

फिल्ममा ठिन्ले बाको जीवन्त अभिनय सधैँभरि याद आइरहनेछ। क्याराभन फिल्मले कठिन डोल्पाली जीवनशैली, सुन्दर हिमाली भूगोल र दृश्यले डोल्पालाई विश्वभरि चिनायो। फ्रान्सेली नागरिक एरिक भ्यालीलाई मेरो सलाम !

वरिपरि चट्टाने डाँडाले घेरिएको, काञ्जिरोवा हिमालको काखमा विशाल फोक्सुन्डो ताल बिहानदेखि बेलुकीसम्म विविध रङ्ग फेरिरहने रुपले त्यहाँ पुग्ने जो कोही पनि दङ्ग हुन्छ। शान्त, सफा र सुन्दर तालको वर्णन बयान गर्न गाह्रो छ। त्यहाँ पुगेर साक्षात्कार अनुभव बटुल्ने सयौ भाग्यमानी यात्रीलाई मात्रै थाहा हुन्छ।

काञ्जिरोवा हिमालको काखमा अंग्रेजी शब्द ‘बाई’ आकारमा स्थीर बसेको नेपालको सबैभन्दा गहिरो ताल फोक्सुन्डो डोल्पामा पर्छ। उत्तर–दक्षिण फैलिएको फोक्सुन्डो तालवरिपरि धेरै भाग चट्टानले घेरेको छ। दक्षिणतिर जङ्गल छ। तालको आकारप्रकार हेर्न एकैछेउबाट सकिँदैन। एकैपटक छेउबाट अर्को छेउ देख्न सकिँदैन।

माथिल्लो डोल्पामा पर्ने शे-गुम्बा जाने बाटोमाथि डाँडामा गएर हेर्दा पनि तालको पूरै भाग देखिँदैन। ताललाई स्थानीयहरू फुक्सुम्छो भन्छन्। डोल्पो भाषामा फुक्सुम्छोको अर्थ त्रिवेणी हुन्छ। (फु-भित्रको, सुम्- त्रिवेणी, छो- ताल) यो भनाइअनुसार ताल झन्डै तीनकुने आकारको छ।

दक्षिणतिरको भाग भने लामो र तल्लो टुप्पो केही फैलिएको छ। समुद्री सतहदेखि ३ हजार ६ सय ११ मिटर उचाइमा रहेको फोक्सुन्डो ताल नेपालकै गहिरो मानिन्छ।

शे–फोक्सुन्डो गाउँपालिका–८, डोल्पामा पर्ने तालको क्षेत्रफल ३६११ मी. छ। लम्बाइ ५.९३ कि.मी., चौडाइ १.८० कि.मी‍. र गहिराई १४५ मिटर छ। १५ मिनेट उत्तरतिर तालको किनारैमा ६०० वर्षभन्दा पुरानो थासी छोलिङ बोन गुम्बा छ। यो ताल २३ सेप्टेम्बर २००७ मा रामसार साइटमा सूचीकृत भएको छ।

लुकेको पुग्मो गाउँ

अर्को दिन फर्किने बेलामा तापरिचा स्कुलमा कवि मित्रहरुले स्कुले नानीहरुसँग भलाकुसारी गरे, नाचगान गरे र कविता वाचन पनि।

हामी तीन (अमृत भादगाउँले, चन्द्र काफ्ले र म) ४.३ किमी टाढा पुग्मो गाउँ भ्रमण गर्ने योजनासहित तापरिचा स्कुलको शिक्षक निमाजीले बाटो देखाए। म र चन्द्रजी पछि-पछि र दुई जना अगाडि। गाउँ पुग्न करिब १.५ घण्टा लाग्यो। मेरो खुट्टाका औलाहरु दुःखेकोले पाइला बिस्तारै चल्यो, अमृतजी र निमाजीले हामीलाई निकै पछाडि छोडिदिए।

केही बेरमा बोन छोरतेन भेटियो र अलि पर लुकेको गाउँ देखियो। झण्डा फर्फराउँदै गरेको सुन्दर गाउँ देख्दा उर्जा थपियो। लुकेर बसेको गज्जपको पुग्मो गाउँ ३२०० मि. मा अवस्थित, बोन झण्डा फर्फराएकाे , बोन गुम्बा, झुरुप्प काठ, ढुङ्गा र माटोले बनेका घरहरु। शेम्दुक सरको घरमा भाउजूबाट हामीले न्यानो स्वागत पायौँ।

नजिकै घरको छानाको छतमा मन्द घाममा आराम गर्दै छ्याङ र सुकुटीसँगै र वडा अध्यक्षसँग निकै बेर भलाकुसारी चल्यो, गाउँको संस्कृति, पर्यटन र विकासबारे।

कति राम्रो चलन ! पाहुनालाई वरिपरि छिमेकीले 'आराक' ल्याउदै स्वागत गर्ने। छोटो समय भए पनि गाउँको पाहुना सत्कारबाट हामी मोहित भयौँ। प्रायः फोक्सुन्डो जाने पर्यटक सीधै माथि तालमा पुगेर फर्कन्छन्। यो सुन्दर लुकेको गाउँमा नपुगी फर्केमा फोक्सुन्डाेकाे यात्रा अधुरै हुनेछ।

फर्किन अबेर भइसकेको थियो, इच्छा नहुँदा नहुँदै पुग्मो गाउँलाई बाईबाई गर्‍यौँ। पुग्मोको न्यानो आतिथ्यताले उर्जा थपिएछ, हाम्रो पाइला निकै तेज भयो।

झोलुङ्गे पुल तरेर हतार-हतार फोक्सुन्डाे खोलाको देब्रे च्यापेर ओरालो लाग्यौं। निमा भाइ तपारिचातिर लागे, हामी पुल तरेर तलतिर। हिँडाइको गति निकै चाल्दा पनि हाम्रा साथीहरु भेट्न सकिएन, र्‍याची पुग्दा झमक्कै साँझ परिसकेको थियो। अन्तत: पुलनजिक पालमा बास बस्यौं।

बिहानै चियाको चुस्कीलगतै बाटो ततायौं, छेप्का पुग्दा केही साथीहरु बास बसेका रहेछन्। अन्तत: कागेनी पुग्दा उही राईनी दिदीको होटेलमा साथीहरुसँग पुनः भेट भयो।

लोकल कुखुराको मोल-मोलाइ गर्दा गर्दै रु. ८ हजार पर्ने कुखुरा रु. ७ हजारमा छिनियो। कवि हेमन्त, दीपेन्द्र, र गनेसजीलाई डोल्पाली कुखुरो पक्डिन हम्मे-हम्मे परेको थियो। निकै बेरको कठिन खेदाइपछि पसिनैपसिना भएर बल्ल  समात्न सफल भएका थिए।

हेमन यात्री 'वाचिपा' बनाउनतिर लागे। डोल्पाको भूमिमा पूर्वेली वाचिपाको स्वाद निकै अविस्मरणीय थियो। वाचिपा चखाएकोमा मित्र कवि हेमन्तजीलाई धन्यवाद। दिउँसोको स्वादिष्ट खानापछि टोली ओरालो लम्कियो।

जहाज क्यान्सेल रोग दोहोरियो

डोल्पा पुगेर सदरमुकाम त पुग्नैपर्ने साथीहरुको इच्छा पूरा गर्न सुलिगाडबाट बाँया सोझियौं। करिब आधा घण्टा जीपको धुलाम्मे बाटो पैदल यात्रा हुँदै दुनै पुगियो। केही बेर दुनै डुलेर फर्केर सुलिगाडभन्दा केही पर भत्केको पुलबाट उकालो करिब ३० घण्टा अँध्यारोमा जीपमा उकालो लाग्यौँ। त्यस रात यात्राको छलफल, समीक्षा गर्दै बित्यो।

बिहान मौसम बिग्रियो । नेपालगञ्जको प्लेन क्यान्सील रोग पुनःदोहोरियो। भूपिनलगायतका मित्रहरु चिन्तित भए। त्यो दिन जुफालमै बास भयो। दोस्रो दिन आकाश बिस्तारै-बिस्तारै खुल्दै थियो।

मौसम खुल्ने छाटकाट देखिँदै थियो, साथीहरुको मुहारमा मुस्कानसहित द्विधा दुवै देखिन्थ्याे, भगवान भरोसा भन्दै जहाज कुर्दै बसे।

म र विष्णुजी ओरालो त्रिपुराकोटतिर बिस्तारै झर्‍यौँ। हिँडेको १५-२० मिनेटमा गुन्-गुन् आवाज कानमा बज्यो। आकाशतिर टाउको उठाएर हेरेँ, रन्केर कोल्टे पर्दै समिट एयर उड्दै जुफालतिर हानिएको देखें। सायद केही साथीहरु माथि खुशीले उफ्रिए होलान्, मनमनै सोचेँ।

फेरि लगातार तीन वटा अन्य प्लेन एकपछि अर्को गर्दै डोल्पाली आकाशमा रन्कियो। हामी त्रिपुराकोटको झोलुङगे पुल नपुग्दै आकाशमा 'समिट एयर' उडेको हेर्दै पुल तर्‍यौँ। ३५ मिनेटमा नेपालगञ्ज अवतरण गरेको अमृतजीको फोन आयो।

म भने कान्छीबजारमा जीपले मान्छे कुर्दैगर्दा भट्टीमा खाना खाएँ। मन मनै सोचेँ– अगाडिको यात्रा दिनभरि लाग्छ। ३ वटा जीप फेर्दै ठूली भेरीको किनारैकिनार राडी पुग्न डल्लै लामो दूरी छँदैछ।  

३० घण्टालामो काठमाडौं यात्रा

बेलुकीको बास राडीमा। अर्को दिन काठमाडौंको नाइट बस चढेँ। रिम्नासम्म साँघुरो भीरको बाटो,  आङ सिरिङ–सिरङ पार्ने कच्ची बाटो। गाडी उकालो चढ्दा, कोल्टे पर्दा चाहिँ ठाउँ-ठाउँमा मुटु काम्दै जाजरकोटको खलङ्गा पुगियो। भेरीपारिपट्टि चौरजहारी बजार। रुकुम र जाजरकाेटको पहाडि भूगोल छिचोल्दै यात्रा अगाडि बढ्दै गयो। खोला, नाला, वन–जङ्गलका दृश्यहरु असाध्यै सुन्दर थिए। मध्य राततिर छिञ्चु हुँदै गाडी पूर्वतिर मोडियो।

समथल भूभाग छिचोल्दै रातभर गाडी हुइँकिरह्यो। कैयौँ चोटी निदाउदै-व्युँँझदै गरेछु। एक्कासी निद्रादेखि झल्यास्स ब्युँझदा झिसमिसे बिहान भएको रहेछ। बल्ल बुटवल पुगिएछ।

अघिल्लो दिन ११ बजे बिहान राडी छोडेको ३० घण्टा लामो यात्रापछि अर्को दिन बेलुकी ५ बजेतिर मात्रै काठमाडौँ पुगेँ।

फोक्सुन्डोको अविस्मरणीय यात्रा बनाइदिने शे-फोक्सुण्डो गाउँपालिका, नेपाल पर्यटन बोर्ड,  शिक्षासेवी सेम्दुक लामा, एक्सप्लोर डोल्पो ट्रेकका जीतेन्द्र झाँक्रीसहित न्यानो आतिथ्यको लागि अध्यक्ष निमा लामा लगायत सम्पूर्ण डोल्पालीलाई विशेष धन्यवाद !

जीवनमा एकपटक पुग्नैपर्ने फोक्सुन्डाे ताल। आज पनि मस्तिष्कमा फनफनी घुमिरहेछ, फोक्सुण्डो।

कसरी पुग्ने ?

काठमाडौं-नेपालगञ्ज-जुफाल(जहाजमा)। त्यस्तै काठमाडौं-कोहोलपुर-छिन्चु-जाजरकोट-राडीज्यूला(बसयात्रा)।

त्यहाँबाट सुलीगाडसम्म जीप यात्रा।  अथवा काठमाडौं-खलंगा (रूकुम पश्चिम) बस यात्रा,  खलङ्गा-राडीज्यूला (जीप) त्यसपछि राडी-सुलीगाड(जीप यात्रा)।

सदरमुकाम दुनैदेखि ३६ किमि उत्तरमा पर्ने ताल पुग्न डोल्पाको सुलिगाडबाट दुई दिन एक बिहान पदयात्रामा फोकसुण्डो तालमा पुगिन्छ।

पहिलो दिन सुलिगाडदेखि ६ घन्टा हिँडेर साङता बा  छेप्कामा बास, दोस्रो दिन ७ घन्टा हिँडेर चुनुवारमा र तेस्रो दिन ४ घन्टा हिँडेर रिग्मो गाउँमा बास बस्ने गरि पदयात्रा योजना बनाउनु बेस हुन्छ।

वर्षैभरि फोक्सुन्डो यात्रा गर्न सकिन्छ। तर फागुनदेखि असारसम्म र असोजदेखि कात्तिकसम्म घुम्नलाई उत्तम मौसम हो।

प्रकाशित मिति: : 2021-09-27 14:50:00

प्रतिकृया दिनुहोस्