पसलमा चोरी गर्ने ६ जना पक्राउ

रबि पोख्रेल

काठमाडौँ

सुनचाँदी, किराना तथा ल्यापटप र मोबाइल पसलमा चोरी गर्ने ६ जनाको एक समूहलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सन्धिर्खक ११ बस्ने २६ वर्षीय किशन नेपाली, १८ वर्षीय रोसन नेपाली रहेका छन् भने अरू चार जना १७ वर्ष, १५ वर्ष, १३ वर्ष र १२ वर्षका बालक रहेका छन्। 

अर्घाखाँचीको सन्धिखर्कमा चोरीका घटना बढ्दै गएपछि प्रहरीले विशेष टोली गठन गरी अनुसन्धान सुरु गरेको थियो। सोही क्रममा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर थापाले जानकारी दिए।

श्रावण महिनामा सन्धिखर्क ११ जोगिमारेका राजकुमार सुनारको सुनचाँदी पसलबाट २५ तोला चाँदी, १ वटा ल्यापटप, बुद्धिबहादुर सेजवालको किराना पसलबाट विभिन्न किराना सामान, हिमबहादुर सेजवालको पसलबाट ५० थरीका किराना सामान र सन्धिखर्कको बैंक रोडमा रहेको बाबुराम नेपालीको पसलबाट २ वटा ल्यापटप, २५ वटा मोबाइल सेट र १५ सयको रिचार्जकार्ड चोरी गरेका थिए।

सोही चोरी रिचार्ज कार्ड प्रयोग भएको नम्बरबाट चोर पत्ता लागेको प्रहरी थापाको भनाइ छ। पक्राउ परेका उनीहरुको साथबाट २ वटा ल्यापटप, २५ वटा मोबाइल, घडी, तथा विभिन्न किराना सामान बरामद गरिएको उनले सुनाए। 

पक्राउ परेका ६ जनालाई चोरी मुद्धामा जिल्ला अदालत अर्घाखाँचीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी गणेश खनालले बताए। 

प्रकाशित मिति: : 2021-08-03 19:49:00

प्रतिकृया दिनुहोस्