सन्यासपछि क्रिकेटर पारशको नजर राजनीतितिर (भिडियाेसहित)

कमल प्रभात

काठमाडौं

धेरैलाई चकित पार्दै राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारश खड्काले मंगलबार बिहानै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे।

सामाजिक सञ्जाल ‘फेसबूक’ मार्फत् सन्यासको घोषणासँगै पारशका प्रशंसकहरु त बेखुश त भए नै, नेपाल क्रिकेट संघ (क्यान) ले पनि उनको घोषणालाई ‘अप्रत्यासित’ भनी टिप्पणी गर्‍यो।

सुन्नेका लागि त उनको घोषणा ‘अप्रत्यासित’ लागे पनि योजनाबद्ध थियो किनभने उनले दुई वर्षअघि राष्ट्रिय क्रिकेट टोली कप्तानबाट राजीनामा दिँदादेखि नै यसबारेमा सोचिसकेका थिए। 

उक्त अप्रत्यासित निर्णयबाट पारशका प्रशंसक खेलप्रेमी निराश बनेका बेला पारशले अर्को निर्णय गरेका छन् जुन नेपाली क्रिकेटप्रेमीलाई  निक्कै उत्साहित बनायो।  

अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको २४ घण्टा बित्दाबित्दै पारशले आफू नेपाली क्रिकेट व्यवस्थापनमा लाग्ने बताएका छन्। उनले बुधबार पत्रकार सम्मेलन गरी नेपाली क्रिकेटको भविष्यका लागि आफूले क्यानको नेतृत्व गर्न चाहेको योजना मनोकांक्षा खुलासा पनि गरे। 

सन् २००९ मा २२ वर्षमै ‘सिनियर टीम’ को कप्तान बनेर आफ्नो नेतृत्वमा नेपाललाई धेरै उपाधि र उपलब्धि दिलाएका पारशले नेपाली क्रिकटलाई उचाइमा पुर्‍याउनका लागि पनि आफू कुनै न कुनै रूपमा व्यवस्थापनमा लाग्न चाहेको अभिव्यक्ति दिएका छन्। 

‘आगामी दिनमा क्रिकेटको व्यवस्थापना आउने मन छ।  त्यसमा पनि कुनै न कुनै भूमिकामा मैले आफूलाई देखेको छु।’ पारशले भने, ‘मैले आजसम्म प्राप्त गरेको अनुभवबाट नेपाली क्रिकेटको नेतृत्व गरेर अगाडि बढ्ने सोचेको छु।’

पारश भविष्यमा क्रिकेटलाई कसरी व्यवस्थित बनाउने भन्ने कुरामा उत्साहित छन्। हुन पनि नेपाली क्रिकेटमा आएका पछिल्ला पुस्ताका खेलाडीमा धेरै संभावना देखिन्छ। जुन खेलाडीहरुले धेरै पटक प्रमाणित गरिसकेका पनि छन्।

उक्त कुरा बुझेका पारशले यही सम्भावनालाई व्यवस्थित गरेर नेपालीको लागि ठूलो उपलब्धि गर्न चाहन्छ। उनले भने, ‘हाम्रो समयमा क्रिकेट व्यवस्थापन राम्रो हुन्थ्यो भने हामी पहिले नै टेस्ट खेल्न पाउँथ्यौं होला तर त्यो हुन सकेन’, पारशले भने, ‘खेलाडीको सपनाले मात्रै पुग्दैन, त्यसका लागि सबै कुरा राम्रो हुन जरुरी रहेको छ।’

अहिलेका खेलाडीमा धेरै राम्रो संभावना रहेको तर त्यसलाई व्यवस्थापन गर्न राम्रो मान्छे क्यानको नेतृत्वमा हुनपर्ने उनले बताएका छन्। ‘पहिला युवाको संभावनालाई सही स्थानमा पुर्‍याउन पनि क्यानमा आउन चाहेको हुँ,’ पारशले भने। 

‘म चाहन्छु नेपालको चारैतिर क्रिकेट फैलियोस्, स्थानीय, प्रदेश र संघ सबै तहमा क्रिकेट प्रतियोगिता धेरैभन्दा धेरै होस् भन्ने मेरो चाहना हो।’ पारशले भने, ‘त्यसका लागि म कोच भएर कि व्यवस्थापक भएर हुन्छ या क्यानमा आएर हुन सक्छ। क्रिकेटमा राम्रो गर्छु भन्ने सोच छ।’

त्यस्तै, पारशले अवसर पाएमा आगामी दिनमा राजनीतिमा लाग्नेसमेत बताएका छन् तर आफ्नो पहिलो प्राथमिकता क्रिकेट नै रहेको उनले बताए। 
‘राजनीतिमा लाग्ने कुनै अवसर आयो भने मैले लिनेछु, त्योभन्दा अघि मैले क्रिकेट व्यवस्थापनलाई कुनै न कुनै स्थानमा पुर्‍याउने छु,’ पारश खड्काले भने। 

प्रकाशित मिति: : 2021-08-04 18:20:00

प्रतिकृया दिनुहोस्