नेपाली सेनाले नागरिकसँग दूरी छाेट्याएपछि मिलेको खुसियाली

जुम्लामा किताब जात्रा गर्ने तयारी हुँदै गर्दा मेजर दिनेश न्याैपानेसँग भेट भएको थियाे। त्यसबेला उनले नेपाली सेनाकाे गाैरवमय इतिहासबारे लेखिएका पुस्तकहरू राखेर गणमा पुस्तकालय स्थापना गरिएको जानकारी दिएका थिए। 

'हामी तपाईंहरुसँग सहकार्य गर्न तयार छाैं। सेनामा अध्ययन गर्ने, साहित्यमा रुचि भएका र लेख्ने जवानहरु हुनुहुन्छ,' उनले भने, 'साहित्य कार्यक्रममा उहाँहरुका रचनावाचन गर्ने देखि लिएर एउटा स्टल राख्ने र स्वयंसेवककाे व्यवस्था हामी गरिदिन्छाैं।'

त्यसका अलवा नागरिकको सेवा, उनीहरुसँगकाे सम्बन्ध स्थापित गर्ने विषयमा नेपाली सेना तयार रहकाे र देशकाे सेवा गर्ने जनशक्ति उत्पादन गर्न तथा नेपाली सेनामा भर्ती हुँदा हुने फाइदाहरुबारे स्कुलका विद्यार्थीलाई जानकारी दिने गरी कक्षा संचालन गर्ने विषयमा छलफल भएको थियो। 

काेभिड-१९ काे दाेस्राे भेरियन्टले गर्दा किताब जात्रा हुन सकेन भने हामीले छलफल गरेका विषयमा पनि धेरै गतिविधि हुन पाएनन्। 

बुधबार साँझ उनले फाेन गरेका थिए। नयाँ गणपति आएकाे र उनीसँग परिचय गराउने कार्यक्रम राखिएकाे हुनाले उपस्थित भइदिन आग्रह गरे। झण्डै पाँच महिना पछि फेरि नेपाली सेनाकाे गणमा पगेकाे थिए। त्यहाँ सेनाले नागरिकसँगकाे दूरी छाेट्याएपछि बटुलेकाे चाैतर्फी प्रशंसाबारे लामाे छलफल भयाे। 

जुम्लामा सेनाले गरेका गतिविधिका कारण सेना नागरिकको सुख दुःको सारथि बनेकाे प्रष्ट्याएकाे छ। यसका लागि सेनाका अधिकारीले बाेलेकाे वा नागरिककले गरेकाे प्रशंसा भन्दा पनि तथ्यांक हेर्दा प्रष्ट हुन सकिन्छ।

नेपाली सेनाले कर्णालीमा भौतिक संरचना, सडक, बाटाेघाटाे निर्माण, स्वास्थ शिविर देखि सचेतना कार्यक्रमसम्म गरेकाे छ। 

याे अवधिमा सेनाले कर्णाली मावि अनामनगरमा नमुना भवन र शाैचालय निर्माण गरेकाे छ। चार वटा राष्ट्रिय राजमार्ग संचालन गर्न ट्रयाक खुलाउने काममा सेनाकाे भूमिका महत्त्वपूर्ण रह्याे भने तीनवटा काेभिड सचेतना कार्यक्रम, काठेपुल निर्माण कार्य लगायतका ५४ वटा गतिविधि गरेर देखाएकाे छ। 

अस्पतालमा रगत अभाव भएका बिरामीलाई रक्तदान गर्नेदेखि ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर चलाउने र पूर्वाधार विकासका कार्यमा संलग्न हुने थालेपछि सेना र जनताबीचको सम्बन्ध प्रगाढ बन्दै गएकाे छ। 

तथ्यांकमा महत्त्वपूर्ण गतिविधि गरिरहेका सेना पछिल्लो समयमा नागरिकसँगकाे सम्बन्ध विस्तार गर्ने मामिलामा हर खालकाे समन्वय गर्न तयार रहेकाे २४ नं. बाहिनीपति याम बहादुर सापकोटाले बताए।

कोरोना महामारीकाे बेला सेनाले निर्वाह गरेको भूमिकाले जुम्लाबासी उत्साहित छन्। सेना काेभिड-१९ काे कारण मृत्युु भएका बिरामीको लागि मलामी बनिदिन थालेपछि सेना नागरिकको सेवक भएको जुम्लाबासीले महशुस गर्न थालेका छन्। युद्धकालमा सेना देखेर डराउने र भाग्ने नागरिक आजभोलि सेना आफ्नाे नजिककाे साथि भन्न थालेकाे उपस्थिति पत्रकारहरुले प्रतिक्रिया दिएका थिए।

अनाैपचारिक रुपमा चलेकाे अन्तरक्रियामा सेना सीमा सुरक्षा र देशकाे रक्षकाका साथै आम नागरिकका समस्या समाधानकाे सेतु बनिरहेको प्रतिक्रिया आए। 

सेना विपत व्यवस्थापनमा अग्रमाेर्चामा रहेर काम गरिरहेकाे छ। तथापि सेनाकाे विपतमा सेनाकाे महत्वपूर्ण भूमिका हुने भएता पनि पहिलाे भूमिका सम्बन्धित क्षेत्रका नागरिककाे हुने बाहिनीपति सापकोटाले बताए।  

'हामीले नागरिकसँग नागरिक भएर नै काम गरिरहेका छाैं। हाम्रा राम्रा काम नागरिकले अनुशरण गरेकाे देख्दा हामी खुसी छाैं। हाम्रा नराम्रा काममा आलोचना गर्दा पनि हामी खुसी नै हुन्छौं,' उनले भने, 'हिजो म नागरिक थिए। जागिर खाएर सेनाको ओहोदामा छु। अवकास भएपछि फेरि म नागरिक नै हो। त्यसैले नागरिक सैनिकबीचको सम्बन्ध प्रगाढ बनाउनु पर्छ। यो मार्गमा नेपाली सेना लागिसकेको छ।'
 
नेपाली सेनाको चेन अफ कमान्ड, अनुशासन देशका अन्य क्षेत्रमा पनि हुँदा अहिलेकाे जस्ताे कसैले कसैकाे अस्तित्व अस्वीकार गर्ने स्थिति नआउने भनी पत्रकारले दिएकाे प्रतिक्रियामा भर्खरै जुम्ला पुगेका गणपति रविन थापाले एउटा क्याम्पमा रहेका १ हजार बढी जवान व्यवस्थापनमा चेन अफ कमान्डले नै सहज बनाएकाे बताए।

'हामीले हाम्राे संस्थाकाे गाैरव यसरी नै बचाउन सकेका छाैं। सबै चेन अफ कमान्ड अनुसार चल्न सके राम्राे हुन्थ्यो,' उनले भने, 'हामीले कसैलाई याे नियम लागू गर भने भन्न मिल्दैन। तर अनुशरण गर्दा हामी खुसी हुनेछौं।'

उनले नागरिक, सैनिक, नागरिक, सञ्चारकर्मीबीचको सम्बन्ध प्रगाढ हुँदै गएको पुरानो स्थितिमा अझ् ध्यान दिइने आश्वासन दिए। 'विगतको समय के भयो? त्याे समीक्षा गर्दै नयाँ गतिविधिमा ध्यान दिइनेछ', उनले भने, 'अब सम्बन्ध राम्रो बनाउनु पर्छ। सेना भित्रको राम्रो पक्ष सबैलाई देखाउन र सिकाउन हाम्राे प्रयत्न जारी रहनेछ।'

उनका अनुसार सेनालाई अध्ययनशील बनाउन जरुरी छ। सेनाले आफ्नो स्रोतसाधनको भरपुर प्रयोग गरेर जनमैत्री कार्यहरु विपत व्यवस्थापन, शान्ति सुरक्षा, विकास निर्माण, स्वास्थ्य शिक्षाका क्षेत्रमा काम गर्न चाहेकाे छ। उनले थपे, 'प्रभावकारी समन्वय र सहकार्यको खाँचो छ। हामीले सेनालाई अध्ययनसील बनाउन स्टाडी आवर छुट्टयाइएका छाैं।'

जिल्लामा उत्पादन हुने रैथाने बाली, त्यसको बजार व्यवस्थापन, बिचाैलीयाकाे चलखेल कम गर्न र उत्पादन वृद्धिका लागि किसानको बगैचामै पुगेर हौसला दिन, हरेक किसानको साथमा नेपाली सेना छ भन्ने सन्देश दिन आफू लागिरहेको बाहिनीपति सापकोटाले बताए।

'हामीले हाम्रो वरिपरि रहेकाे खाली जमिनमा १५ सय स्याउ, ओखर लगायतका फलफूलका बिरुवा राेपेका छाैं,' उनले भने, 'कृषि क्षेत्रबाट किसानले लाभ लिन बिचाैलीया हटारएर सिधै बजारमा सम्पर्क स्थापित गराउने विषयमा हामीले धयान दिएका छाैं।' 

उनले नेपाली सेनाको कल्याणकारी कोषबाट विकास निर्माणका काम भइरहेकाे जनकारी दिए। एउटा राम्राे अध्ययन गरेर ठूलो सिंचाइ आयाेजनामा नेपाली सेनाका हजार जवानले काम गर्ने र नमुना काम गरेर देखाउने चाहना रहेको बताए। 

'नेपाली सेनाले उदाहरणीय रुपमा कार्य गर्न सक्छ। विकास निर्माणमा समन्वय गर्ने वातावरण बनाइदिनुस्। बाटो नहुँदा हवाइ यातायातमा निकै सकस हुन्थ्यो,' उनले भने, 'बाटो नेपाली सेनाले बनाइदियो। यहाँ उत्पादित कृषिवस्तु बजारसम्म लैजान सहज बन्यो। सहजै रुपमा गाडी चढेर आउन, जान सकिने अवस्था आयो। यो भन्दो राम्रो कार्य के हुन सक्छ र?'

उनले जुम्लास्थित नन्दबक्स गण नन्द ब्लड बैंकका रुपमा स्थापित भइसकेकोमा खुसी व्यक्त गरे। 'सेनाले पटकपटक पत्रकार तथा सञ्चारकर्मीसँग भेटघाट गरेर हरेक कामकाजका बारेमा जानकारी दिँदै नै छ। हामी तपाईंहरुसँग निरन्तर समन्वयकाे वातावरण बनाउन तयार छाैं,' उनले थपे।

याे हप्ता नवनियुक्त पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाहीले जुम्लामा रहेको ब्यारेकमा भ्रमण गरे। यो उनकाे पहिलो जुम्ला भ्रमण थियो। यसअघि डोल्पा बसिसकेका शाहीले जुम्लामा सेनाले थालेको नागरिक सैनिक सम्बन्धको प्रशंसा गरे। 

यहाँको वस्तुस्थितीका बारेमा बाहिनीपति सापकोटाले सहजीकरण गरेका थिए। सो अवसरमा उपरथी शाहीले नागरिक सैनिक सम्बन्ध सुधार गर्न निर्देशन दिएका थिए।

'सुगममा बसेका मान्छेको दुर्गम तिर हेर्ने नजर भिन्न प्रकारको हुन्छ', उनले, 'जुम्ला भ्रमणपछि पश्चिम कमाण्ड सेनापति सेनाको काम प्रति सन्तुष्ट भएर फर्कनु भएको छ। आगामी दिनमा सम्बन्ध सुधारको लागि हौसला मिलेको छ।'

प्रकाशित मिति: : 2021-08-08 10:01:00

प्रतिकृया दिनुहोस्