गिटी, ढुङ्गाको अबैध उत्खनन् राेक्न खाेज्दा प्रहरीमाथि नै हमला

नदी तथा नदीजन्य बस्तु सार्वजनिक सम्पत्ति हुन्। यसबाट लाभ लिन सकिने हुँदा धेरैको आँखा नदी र नदी किनारमा पर्ने गर्छ। ठेक्क पाउनकै लागि अनेक तिकडम गरिदै आएको घटना त हामीले सुन्दै आएका छौं। तर, सार्वजनिक सम्पत्ति नदी किनारको घाटलाई आफ्नो भनि दाबी पेश गर्ने एक जना पोखरामा पक्राउ परेका छन्। 

पोखरा २५ मसिनाबगर सहस्रघाटबाट अवैध रुपमा ढुंगा, गिटी, बालुवा उत्खनन् गरेको अभियोगमा पोखरा २५ हेम्जा निवासी ६३ वर्षीय रामचन्द्र थापा पक्राउ परेका हुन्। पोखरा महानगरपालिका २५ हेम्जा लामाचौतारास्थित सेती नदीमा अवैध रुपमा ढुंगा गिटी निकालेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। 

यसअघि, राती–राती टिप्परबाट ढुंगा, गिटी निकालेको स्थानीयले प्रहरीलाई सूचना दिएका थिए। सूचना पच्छ्याउदे शोधखोज गर्दै जाँदा प्रहरीले उनलाई पक्रेको हो। छानबिन गर्न पुगेका प्रहरीमाथि आफ्नो घाट रहेको दाबी गर्दैै अभियुक्त थापाले अभद्र व्यवहार समेत गरेका थिए। 

'डिउटीमा रहेका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार पनि गर्नुभयो । उहाँले त्यो घाट मेरो हो भनेर दाबी गर्नु भएको थियो,' जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले भने, 'सभ्य भाषामा सोधपुछ गर्ने क्रममा प्रहरी कर्मचारीमाथि नै गालिगलौज, अभद्र व्यवहार गर्ने, हातपात समेत गर्ने प्रयास गरेको हुँदा उहाँलाई नियन्त्रणमा लिएका हौं।'

उनलाई आज दिउँसो ५ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो। थापालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तरगत अभद्र व्यवहार मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2021-08-09 20:02:00

प्रतिकृया दिनुहोस्