आत्मनिर्भर महिलाको कथा –१

कपडा सिलाएरै हसिलाले करोडौं कमाइन् (भिडियोसहित)

बचत गरेर राखेको करोडौं रूपैयाँले उनी काठमाडौंमा घडेरी किन्न चाहन्छिन्

हेटौंडाकी हसिला लामा ‘एसएलसी’ दिएर काठमाडौं आइन्। गाउँबाट उनलाई पढ्नका लागि काठमाडौं पठाइएको थियो, तर उनको लागि राजधानी आउनु एक मात्र उदेश्य थियो, ‘काम गरेर पैसा कमाउनु।’

२०६७ मा काठमाडौं आएकी उनी काकाको घर बौद्धमा बस्न थालिन्। अनि त्यहीँको एक कलेजमा भर्ना भइन्। ‘कुमारी’ कलेजमा पढ्न थालेकी हसिलाले काम गर्ने सोच बनाइन्। र काम पाउने आशमा बौद्धका गल्ली–गल्ली डुल्न थालिन्।

‘मलाई जसरी भएपनि काम गर्नुथियो, त्यसैले दिनभरि कामको खोजीमा भौतारिरहन्थेँ’ उनले भनिन्, ‘घरमा काम गर्नेपर्छ भनेर कुनै दबाब थिएन, मेराे आफ्नो खुसीले काम गर्न खोजकी थिएँ।’

काम गरेर पैसा कमाउने सपना बुनेकी उनले एकदिन बौद्धकै एक कपडा पसलमा काम पाइन्। ‘सेल्स गर्ल’ को काम पाएर खुसी थिइन्, उनी। बिहान कलेज र दिउँसो पसल गर्दै बितिरहेको थियो, हसिलाको दिन।

फूल बेचेरै रुपाले छोरालाई यूरोप पठाइन् (भिडियाेसहित)

मार्सिक तीन हजार तलब भएपनि आफ्नो कामप्रति निकै खुसी थिइन्, उनी। कपडा पसलमै काम गरेर उनले वर्ष दिन बिताइसकेकी थिइन्।

एकदिन त्यहीँ पसलमा कामको खोजीमा नुवाकोटका प्रेम राई आइपुगे। जसलाई काम सिलाउने जिम्मा हसिलाकै थियो। एउटै उमेरको भएकाले उनीहरु सजिलै साथी बने।

एकअर्काेलाई असल साथी बनाएका उनीहरुले आफ्नो सुखदुख साटासाट गथे। तर केटालाई साथी बनाएकाे कारण हसिलाको घरबाट गालीगलौज आउन थाल्यो।

कडा स्वभावका उनका दाजुले केटाको संगत नगर्न भन्दै थकाउन थाले। आफूबीच केही नभएको कुरा हसिलाले दाजुहरुलाई धेरै पटक बताइन् तर उनको कुराको कसैले वास्तै गरेन। उल्टै ‘बाठो’ कुरा गरेको भन्दै झपार्न थाले।

दिनरात दाजुहरुको कचकच सुनेर दिक्दार बनेकी हसिला उहीँ प्रेमसँग भागिन्। ‘मैले दाजुहरुलाई धेरै पटक सम्झाउने कोसिस गरेँ तर उहाँहरुले मेरो कुरा सुन्नु नै भएन। त्यसैले रिसको झोकमा भागेर विवाह गरिदिएँ’ एक दशक अघिको कुरा सम्झदै उनले बताइन्।

भागेर प्रेमसँग गएकी हसिला ‘भेडा सिहं’ पुगिन्। नुवाकोट स्थायी घर भएपनि प्रेमका सपरिवार काठमाडौंमै थिए। उनका मातापिता न्यूरोडमा ‘चिया’ को व्यापार गथे। त्यहीँ चिया पसलबाट चलेको थियो, प्रेमको परिवार।

जसले फुटपाथमा व्यापार गरेरै लाखौँ कमाइन् (भिडियो)

विवाह गरेर ‘राई परिवार’ मा पुगेकी उनी घरको काम मात्र नभइ चिया बनाउन समेत मदत गर्थिन्। मिजासिलो व्यवहार देखेर श्रीमानले मात्र होइन उनलाई सासु ससुराले पनि उत्तिकै माया गथे। तर  जन्म घर जस्तो त कहाँ हुन्थ्यो र उनकाे पराई घर।

उनी छोरीबाट बुहारी बनेकी थिइन्। त्यसैले घरको सबै जिम्मेवारी उसकै थाप्लोमा थियो। छोरी हुँदा कहिल्यै गर्न नपरेको काम बुहारी भएर गर्नु पर्दा माइती घर सम्झिएर निकै रुन्थिन्, हसिला। तर आफ्नो भाग्य सम्झिएर दुखलाई भुल्थिन्।

‘अरुबेला माइती घरको याद त्यतिधेरै आउँदैन थियो तर चार्डवार्डको बेला घर सम्झिएर निकै रुन्थेँ’ उनले बिएल नेपाली सेवासँग भने, ‘छोरी हुँदा चार्डवार्डमा नयाँ लुगा लगाउने, मिठो खानेकुरा खाने गथेँ तर बुहारी भएपछि सबै जिम्मा मेरै भागमा आयो। कहिलेकाहीँ त बेक्कारमा विवाह गरेछु जस्तो महसुस भयो।’

विवाह गरेर आएका उनलाई घरमा त्यतिकै बस्ने मन थिएन। त्यसैले उनले विवाह गरेको दुई सातापछि नै काम गर्न सुरु गरिन्। उनले न्यूरोडकै एक स्कलमा पढाउन थालिन्।

विवाह गरेको महिना दिन नबित्दै पढाउन थालिसकेकी उनी भन्छिन्, ‘घरमा बा–आमाका लागि बोझ बनेको महसुस भयो। त्यसैले काम गर्न सुरु गरेँ।’

४४ जना बा-आमालाई खाना खुवाउने मन्दिरा (भिडियाेसहित)

स्कुलमा पढाउन थालेको एक वर्षपछि हसिला र प्रेमले केही व्यवसाय गर्ने निधो गरे। नभन्दै उनीहरुले भेडा सिंहमा ‘जुत्ता’ पसल खोले। राम्रैसँग चल्दै थियो, उनीहरुको जुत्ताको  व्यापार। तर वर्ष दिनपछि नै बन्द भयो। कारण थियो, बाटोको ठाउँमा पसल हुनु। ‘बाटो फराकिलो बनाउने भनेर घर भएको पसल भत्कियो’ उनी भन्छिन्, ‘त्यसैले पसल छोड्न बाध्य भयौँ।’ 

चलिरहेको जुत्ता पसल छोडेपछि प्रेम मलेसिया गए अनि हसिला छोराको स्याहारमा खटिन थालिन्। ‘छोरा सानै थियो, त्यसैले म छोराकै लालनपालनमा लागेँ’ उनले भनिन्, ‘छोरालाई पनि त हेर्ने पर्यो नि!’ छोरा दुई वर्षको भएपछि हसिलाले पुनः व्यापार गर्ने सोच बनाइन्। र ०७१ सालमा आफ्नै ‘टेलर’ खोलिन्। 

दिनकै चार हजार कमाउँछिन् हसिला

छोरी मान्छे बेरोजगार बस्नु हुँदैन भन्ने सोचका कारण उनले ‘भेडा सिहं’ मै लुगा सिलाउने एउटा ‘मेसिन’ किनिन्। त्याेसँगै उनले रङगीचङगी धागोहरु पनि भेला पारिन्। र सुरु गरिन्, सिलाईको काम।

उनले लुगा सिलाउनका लागि कुनै तालिम लिएकी थिइनन्। कपडा सिलाएरै देखेर उनले काम गर्न सिकिन्। उनी भन्छिन्, ‘मैले काम गर्छु भनेर अठोट लिएकी थिएँ। त्यसैले हेरेरै काम गर्न पनि सिकेँ।’

शून्य लगानीमा काम सुरु गरेकी हसिलाले अहिले दिनकै चार हजारसम्म कमाउँछिन्। जुन पैसा उनले घडेरी किन्नका लागि बचत गरेर राखेकी छिन्। हेर्दा सानो भएपनि उनले त्यहीँ पसलबाट कराैडाैं रुपैयाँ कमाइसकेकी छिन्। जुन पैसाले उनी काठमाडाैंमा घडेरी किन्न चाहन्छिन्। ‘म जग्गा हेर्दैछु कहीँकत्तै जमिन पाए भने किनिहाल्छु’ उनले भनिन्, ‘अहिले म जे जस्तो छु, त्यो सबै यही कामको कारण छु।’

ललिताको अनुभूति: सडकमा टेम्पो हाँक्दा हवाईजहाज नै उडाएको महसुस गरेँ (भिडियो)

झण्डै एक दशकदेखि सिलाई गर्न थालेकी हसिला आफ्नो कामप्रति निकै सन्तृष्ट छिन्। उनी भन्छिन्, ‘मैले जे गरेँ, सबै आफ्नो बलबुतामै गरेको हुँ। त्यसैले म यो काम देखेर धेरै सन्तृष्ट छु।’ सिलाईको काममा पोख्त रहेकी हसिलाको उदेश्य अब छोराको भविष्य उज्ज्वल बनाउनु छ।

बेराेजगारी हुनुकाे मुख्य कारण अल्छीपना भएकाे भन्दै उनी काम नगरी बसेका युवाहरूलाई भन्छिन्, ‘काम गर्न कहिलेपनि अल्छी मान्न हुँदैन। यदी मैले पनि काम गर्न अल्छी मानेकाे भए, म अहिले सफल हुने थिइनँ। त्यसैले काम सानाे ठूलाे हुँदैन। मेहनत गर्नुपर्छ।’

प्रकाशित मिति: : 2022-11-06 22:00:00

प्रतिकृया दिनुहोस्