कांग्रेस जिल्ला सभापतिहरुसँग गरिखाने अभियानको अन्तर्क्रिया

नेपाली कांग्रेसको ‘लगानी पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समिति’ ले पार्टीका जिल्ला सभापतिहरूसँग ‘गरिखाने अभियान’ सम्बन्धमा अन्तर्क्रिया सम्पन्न गरेको छ।

गत वर्ष जेठ ४ मा समिति गठन भएपछि यसले अर्थतन्त्रका विभिन्न मुद्दाहरूमा आफ्नो धारणा राख्नुका साथै उद्यमशीलता विकासमैत्री वातावरणका लागि सरकार तथा सरोकारवालालाई सल्लाह–सुझाव, परामर्श गर्नुका साथै पैरवी समेत गर्दै आएको छ।

यस समितिले युवाहरूलाई उद्यमशील बनाउन फ्ल्यागशीप कार्यक्रमका रूपमा ‘गरिखाने अभियान’ अघि बढाएको छ। गरिखाने अभियानमार्फत् राजनीतिक परिचालन कार्यक्रम, उद्यमशीलता विकाससम्बन्धी विभिन्न अनुशिक्षण तथा प्रशिक्षण कार्यक्रमहरू सम्पन्न भएका छन्।

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूलाई ‘गरिखाने अभियान’ का तर्फबाट स्वागत गर्दै लगानी पूर्वाधार र रोजगार समितिका सभापति विनोद चौधरीले युवाहरूलाई उद्यमशील बनाएरमात्र राष्ट्रिय समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए।

‘प्रजातन्त्र स्थापनासँगै २०४८ को आम निवार्चनबाट बनेको नेपाली कांग्रेसको सरकारले तत्कालीन अवस्थामा अङ्गीकार गरेको आर्थिक उदारीकरणको जगमा मुलुकको अर्थतन्त्र टिकेको छ,’ उनले भने, ‘राजनीतिक अधिकार प्राप्तिको आन्दोलनका उद्देश्य समृद्ध मुलुक निर्माण गर्ने नै हो। हामीले जनतालाई आर्थिक रूपमा सम्पन्न गराउन, उनीहरूको जनजीविकाको आधार सिर्जना गर्ने जस्ता रचनात्मक अभियानमा राजनीतिक परिचालन केन्द्रित गर्नुपर्छ।’

चौधरीले हरेक वर्ष चार लाख युवा श्रम बजारमा आउने भए पनि देशभित्र मुिसकलले ५० हजार वार्षिक रोजगारी पनि सिर्जना हुन नसकेको दयनीय स्थिति चित्रित गर्दै आकांक्षी तथा नवीन सोच भएका युवालाई उद्यमशील बनाउन मुलुकभित्र उद्यमशीलता विकासका अवरोध हटाउँदै नयाँ माहौल सिर्जना गर्न गरिखाने अभियान सञ्चालन गरको उल्लेख गरे।

कार्यक्रममा समितिका सहसंयोजक दीपक खड्काले राजनीतिक परिवर्तनमा सधैं अगुवा र नेतृत्वदायी भूमिका निवार्ह गरेको नेपाली कांग्रेसले नै आर्थिक विकासको नेतृत्व लिनसक्ने बताए।

समिति सहसंयोजक एवं बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले आफू समाजको सेवाका लागि राजनीतिमा आएको र जीवन निर्वाहका लागि व्यवसाय गरेको बताए।

नेपाली कांग्रेस रौतहट जिल्ला सभापति कृष्ण यादवले आफूले राजनीतिसँग जीवन निर्वाहका लागि व्यवसाय शुरु गर्दा पार्टीभित्रैबाट ‘व्यवसायमा लागेको व्यक्तिले के राजनीति गर्छ र !’ भनेर निरुत्साहीत गर्ने काम भएको स्मरण गर्दै अहिले हरेक राजनीतिक दलमा यो विचार क्रमशः परिवर्तन हुँदै गएको बताए।

‘पूर्णकालीन राजनीतिमा लाग्नेले जीवन निर्वाहका लागि पेशा–व्यवसाय नै गर्न हुँदैन भन्ने मान्यतालाई परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘राजनीति पेशा हुन सक्दैन, यो सेवा हो। राजनीति गर्नेले आयआर्जनका लागि सँगसँगै आफ्नो पेशा र व्यवसाय पनि गर्नुपर्छ। यसले राजनीतिलाई अझै सङ्लो बनाउँछ।’

राज्यको नीति नियमभित्र रहरे व्यवसाय गर्ने व्यक्तिलाई समाजिक प्रतिष्ठाको सट्टा दलाली चरित्र उनीहरूको मानमर्दन गर्ने, निरुत्साहीत गर्नेमा क्रियाशील रहेकोमा क्रमशः समाजमा यसबारे जागरण र चेतना फैंलाउँदै लैजानुपर्ने र ‘गरिखाने अभियान’मार्फत् अघि सारिएको उद्यमशीलता विकासका लागि राजनीतिक परिचालनको अभियानलाई अघि बढाउनुपर्ने पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य जीपछिरिङ लामाको भनाई थियो।

नेपाली कांग्रेसले आफ्ना कार्यकर्ताहरूलाई राजनीतिमा प्रवेश गरको बहानामा आफ्नो जीवन निर्वाहको पाटोलाई नभुल्न जागरण गर्नेगरी सातामा ‘चार दिन रोटी, तीन दिन पार्टी’को अभियान अघि बढाउने भैसकेको छ।

कम्युनिष्ट पार्टीले सरकारमा छँदा कार्यकर्ता पाल्न राज्यकोषबाट तलबभत्ता दिने चर्चा बाहिर आएको सन्दर्भमा कांग्रेसले मुलुकका प्रति त्यस्तो घातक कार्य गर्न नहुने बरु कार्यकर्तालाई स्वरोजगार र उद्यमशील बन्न सघाएर मुलुकमा उत्पादन, रोजगारी र समग्र आर्थिक–सामाजिक विकासमा टेवा पु-याउने गरी अभियान अघि बढाएको हो।

कैलाली कांग्रेसका सभापति नरनारायण शाहले व्यवसाय गर्ने व्यक्तिलाई राजनीतिमा पछि पु¥याउन तिकडम गर्ने, मानमर्दन गर्ने, दुःख दिने काम हुँदै आएको परिप्रेक्ष्यमा राजनीति गर्नेले त्यसलाई नै पेशा बनाउँदा दोहन, भ्रष्टाचारका समस्या आएको र कतिपय पूर्णकालीन राजनीति गर्नेले पुख्र्यौली सम्पत्ति समेत सकाएर रित्तो अवस्थामा पुगेको भन्दै व्यवसाय गर्नुलाई समस्या होइन इज्जतका रूपमा लिनुपर्ने बताए।

‘हामी तीन पुस्तादेखि जिल्ला सभापति छाैँ। हजुरबुवाको पालामा डेढ सय विगाह जति जमिन थियो। राजनीति गर्ने क्रममा उहाँले र पछि बुवाको पालामा जमिन बेच्याैँ’ उनले भने, ‘अहिले म कैलाली सभापति छु। मैंले यसरी हुँदैन भनेर व्यवसाय पनि गर्छु। मार्ट सञ्चालन गरेको छु, रेष्टुरेन्ट चलाउँछु। जीवन धान्न आयआर्जनका क्रियाकलापमा लाग्नैपर्छ। कार्यकर्तालाई यसमा प्रोत्साहित गर्नुपर्छ।’

कार्यक्रममा ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्यले विश्वभर सफल उद्यमीको पहिचान बनाएका विनोद चौधरीले आफ्नो सीप र कौशलमार्फत् गरिखाने अभियानलाई राष्ट्रव्यापी बनाउने अभियान थालनी गर्नुभएकोमा त्यसलाई सघाउन आग्रह गरेका थिए।

त्यस्तै, नेपाली कांग्रेस रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाकले लगानी, पूर्वाधार र रोजगार समितिले मुलुकको दीर्घकालीन हितलाई लक्षित गर्दै काम गरिरहेकाले यसलाई पार्टीले १४औं महाधिवेशनपछि पनि आवश्यक सहयागे र निरन्तरता दिएर अघि बढाउनुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा उपस्थित सम्पूर्णले हालै नेपाल सरकारको स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका समितिका सहसंयोजक उमेश श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित मिति: : 2021-08-16 14:29:00

प्रतिकृया दिनुहोस्