एमाले विभाजनपछि अध्यक्ष केपी शर्मा ओलीकाे पहिलो सम्बोधन (लाइभ)

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओली सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोशित भएका छन्। पार्टी विभाजनपछि पहिलोपटक बुधबार पत्रकार सम्मेलन गर्दै उनले सभामुख सापकोटाको भूमिकालाई लिएर आक्रोश व्यक्त गरेका हुन्।

एमाले विभाजनका लागि १४ जना आफ्ना सांसदमाथि कारबाही गरेको पत्र संसद सचिवालयमा पठाए पनि सभामुख सापकोटाले सूची प्रकाशित गर्न रोकेको भन्दै ओलीले आक्रोश व्यक्त गरे।

‘एमाले विभाजन रोक्न आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको सचिवालयमा भदौ १ गते पठायौँ’, ओलीले भने, ‘तर, सभामुखले कारबाही गरेको सूची प्रकाशित गर्न सचिवालयका कर्मचारीलाई रोकेर नौ दिनदेखि राखेका छन्।’

संसदीय मर्यादा र आचारणविपरीत सभामुख सापकोटाले एमालेले निलम्बन गरेका १४ जना सांसदको सूची सार्वजनिक नगरेको ओलीको आरोप छ।

एमालेले माधवकुमार नेपालसहित १४ जनामाथि कारबाही गरेको पत्र सचिवालयमा पठाएको थियो। सभामुख सापकोटाले पक्षधरताको राजनीति गर्नु दुःखद् र खेदजनक रहेको ओलीको भनाइ छ। 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनपछि पहिलाेपल्ट च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलन गरेका छन्।

एमालेबाट अलग्गिएर नयाँ पार्टी बनाएका माधव नेपाल समूहनिकट मानिने नेताहरू भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अमृत बोहरा, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त आफूसँग आएपछि पत्रकार सम्मेलन गरेका हुन्।

प्रकाशित मिति: : 2021-08-25 12:20:00

प्रतिकृया दिनुहोस्