न्याय खोज्दै हिँडेका भुइँ खुट्टाहरू ! 

कृष्ण विश्वकर्मा

चितवन (हाल यूएई)

सत्ताले 
नसुनेपछि सीमान्त चीत्कार 
निमोठेपछि न्यायको गला 
सत्ताले देख्ने गरि 
तय भएको छ एक लामो यात्रा ।

यतिखेर भुइँ खुट्टाहरू 
सस्वर हिँडिरहेकाछन् अविराम ।

हिँडेपछि नै हो
सत्ताद्वारा निर्मित लक्ष्मण रेखाहरू भत्किने 
हिँडेपछि नै हो
दायाँ पैतालालाई बायाँ पैतालाको आढ मिल्ने ।

हिँडेपछि 
भत्काउनेछ हिँडाइकै वेगले 
सत्ताको बेवास्ताका बाँधहरू ।

हिँड्दा हिँड्दै
चुँडिन  सक्छ चप्पलका तुना 
हिँड्दा हिँड्दै 
खिइएर फाट्न सक्छ गदरा चप्पल

ओ सुन्दर भुइँ खुट्टाहरू हो ! 
ननकुन्नीको चीत्कारको अघि 
चप्पलका तुनाको के मोल  ! 
निर्मला कुर्मीको हत्याको अघि 
फाटेको गदरा चप्पलको के अर्थ !

ओ अदम्य सहास बोकेका खुट्टाहरू ! 
तिमीहरू हिँड्ने बाटोको दायाँबायाँका 
महलहरूमा बस्ने लाटोकोशेराहरू 
हुँदै होइनन् 
तिम्रा कठोर पैदल यात्राका सारथीहरू !

बाटै भरी असरल्ल भौतारिरहेका 
गन्तव्यविहीन जैविक बुख्याँचाहरू 
हुँदै होइनन् 
तिम्रो पीडित आवाजमा आवाज थप्नेहरू ! 

हिँड्न छोडेका भए ,
कहाँ बन्थे सिद्धार्थ - गौतम बुद्ध ? 
विद्रोहसँगै नहिँड्दी हुन् त ,
कहाँ रच्ने थिइन् योगमायाले स्वर्णिम इतिहास ?

ओ सहासी सीमान्त खुट्टाहरू ! 
समाप्त पार्न रातको साम्राज्य 
हिँडाउनै पर्छ दिनले आफ्ना खुट्टाहरू 
तिम्रा विद्रोही खुट्टाहरू 
दिन जत्तिकै उज्याला छन् ।

यो सत्ताले चिन्दैन 
ननकुन्नी कुन फूल हो ? 
यो सत्ताले चिन्दैन 
निर्मला कुन प्रजातिको फूल हो ? 

यो सत्ताले त केवल चिन्दछ 
पहाडमा फूल्ने एक मात्र लालीगुराँस ! 

ओ किनारीकृत सुन्दर फूलहरू हो ! 
हिँड्दा हिँड्दै 
पानीफोकाले भरिएका तिम्रा खुट्टाहरूले 
धाजा फाटेका तिम्रा गतिशील कुर्कुचाहरूले 
एकदिन तिमीहरूसँगै 
हिँडाउने छ सिङ्गै बाँके 
हिँडाउनेछ सिङ्गै नेपालगञ्ज

मलाई विश्वास छ 
देखेर पासाङ ल्याम्हुको  जस्तो सहास 
 एकदिन हिँड्नेछन् सिङ्गै सीमान्त राष्ट्रहरू ।

ओ शासकहरू ! 
याद राख 
खुट्टाहरू हिँड्न मात्रै जान्दैनन् 
गोल गर्न पनि जान्दछन् गोलपोस्टमा !

हिँड्दा हिँड्दै 
भुइँ खुट्टाहरू 
जब हुनेछन् अग्राख 
दौडिनेछन् प्रकाशको गतिमा ।

ओ शासकहरू ! 
त्यतिबेला तिम्रो पुरानो सत्ताको गोलपोस्टले 
सक्नेछैन थेग्न 
भुइँ खुट्टाहरूका तीव्रगतिको कठोर प्रहार ।

प्रकाशित मिति: : 2021-10-03 09:18:00

प्रतिकृया दिनुहोस्