थाप्लाेमा कपडाकाे पाेकाे बाेकेर पहाडका गाउँ-गाउँ डुलिरहने पाैरखी फुलबाबु (भिडियाे)

सुरेन्द्र राना ‘घुमफिरे’

धारापानी, म्याग्दी

पहाडी गाउँ।

बर्खाकाे समय। सिमसिमे पानी परिरहेकाे थियाे। मौसम कुहिराेले धुम्म।

बिहानीपख चियाको चुस्कीपछि फुलबाबु यादव (४०) र श्याम कुमार शाह (३६) कपडाको पोको कस्दै थिए।

सोनमा गाउँपालिका- ६, नगरथाना गाउँ, महोत्तरी जिल्लाका नागरिक हुन्, उनीहरु। म्याग्दीको धारापानीमा उनीहरूकाे आवाज गुञ्जिरहेकाे थियाे, 'कपडा आयाे है, दिदि ! कुर्ता-सुरूवाल, टिसर्ट छानी-छानी !'

कपडाकाे पोको बोक्दै उनीहरू अघि बढिरहेका थिए।

विगत ७ वर्षदेखि म्याग्दी जिल्लाको विभिन्न गाउँबस्तीमा घुम्दै कपडाहरू बेच्दै आइरहेका छन्, फुलबाबु। यो पेशा अंगाल्नुअघि उनले साउदी अरवमा श्रमिकको रुपमा करिब २८ महिना काम गरे। 'त्यहाँको कमाई सन्तोषजनक भएन, छुट्टीमा घर फर्किएको। त्यसपछि फर्किन मन लागेन', उनले भने।

धारापानीमा तराई मुलका उनीहरू कपडाकाे पोको बोकेर घर-घर कपडा बेच्दै हिँडिरहेकाे भेटिन्छन्। उनीहरू सँगै भेटिन्छन्। साथी पनि हुने, व्यापारमा सहयोग पनि र व्यापार पनि।

वास्तवमा श्यामकुमार भने गाउँमा पहिलाे पल्ट आएका थिए।  उनले हाँस्दै भने, '५/६ दिन अगाडिसम्म कलंकीमा कपडा बेच्थेँ।शहरभन्दा गाउँतिर रमाइलो भइरहेको छ। काम पनि सिक्दै छु।'

दिनभरी गाउँबस्ती चहार्दै कपडा बिक्री गर्नु उनीहरुको दिनचर्या हो। कपडा बेच्दै उनीहरू जुन गाउँ पुग्छन्, त्यही रात कटाउँछन्। स्थानीय भट्टी या घरमा बास हुन्छ, उनीहरुको।

कपडा साहुले उधारोमा दिन्छ। त्यही कपडा महिनौदिनसम्म म्याग्दीको कुना काप्चामा पुर्याएर गाउँभरी बेच्दै डुल्छन्। 'साहुले विश्वासले कपडा उधारोमा दिन्छ। पछि फर्केर हिसाब-किताब गर्ने हो', फुलबाबु ढुक्कसाथ बताउँछन्।

वर्षको करिब ११ महिना फुलबाबु म्याग्दी जिल्लाभरी डुल्छन्। 'कमाइ कति हुन्छ?' भन्ने जिज्ञासामा उनले भने, 'दिनको १५ देखि २० हजार जति कमाइ हुन्छ हजुर !'

यही कमाइले उनको परिवार पालिदै आएकाे छ। उनले थप्दै भने,  'घरमा आमा-बुबा, श्रीमती, बालबच्चा पाल्छौ र उनीहरुको पढाइको खर्च पनि भैहाल्छ।'

होली, दिपावली र छठजस्ता पर्व मनाउन उनी घर जान्छन्। करिब एक महिना जति परिवारसँगै बिताउँछन्। बाँकी ११ महिना भने 'जता व्यापार उतै डसना' हुन्छ।

उनलाई यसरी गाउँ-गाउँ डुलेर कपडा बेच्दा थेरै कुराहरुकाे बानी नै परिसकेको छ। 'यहि पेशा आनन्द लाग्छ, सबै चिनाजाना भइहाल्याे ', उनले सुनाए।

उनले थप कथा सुनाउँदै भने, 'हाम्लाई यही काम रमाइलो लाग्छ हजुर ! प्राय गाउँका मान्छेले चिनिहाल्छन्। कहिलेकाही उधारोमा पनि समान दिन्छाै। के गर्ने, चिनजानको मान्छे, विश्वास लागिहाल्छ। धेरैले अर्को पटक आउँदा सम्झेर पैसा दिहाल्छन्।भगवानको कृपाले दुई-चार पैसा कमाइ भइहाल्छ।'

बेनी बजारमा भने उनको नमिठो अनुभव छ। बजारतिर समान बोकेर बेच्न हिँड्दा बजारका व्यापारीहरुले रिस गर्छन्। दुइ चोटी त पुलिसमा रिपोर्ट गरेको घटना पनि उनले सनाए, 'हाम्रो व्यापारको नगरपालिकामा दर्ता छ, तर पनि रिपोर्ट गरिहाल्यो।'

यसरी म्याग्दी जिल्लाको कुना-काप्चा कपडा व्यापार गर्दै डुलिरहेका छन्, उनीहरू। कहिलेकाहीँ बाग्लुङसम्म पनि पुग्छन्, उनीहरू।

उनीहरू गुर्जा, लम्सुम, मोवि, खिवाङ, कुइने, विम, वावियचौर हुँदै कुनाकाप्चाको गाउँ र बस्ती-बस्ती पुगेका छन्।

एक पटक सिकुस वगरको भिरमा बाटो काट्न गार्हो परेको उनले सुनाए,'तराइको मान्छे, पहाडको भिरमा हिँड्न डर लाग्याे। शरीरसमेत काप्यो र राेए पनि। पछि दुई जना गाउँका दयालु मान्छे आएर भिर कटाउन सहयाेग गरे।'

म्याग्दीका हरेक कुना-कुनाका गाउँबस्ती पुगेका छन्, यादव।  धारापानी, फलेगाउँ, विम, मराङ, डाडाँगाउँ, दुखु , हिडि, कुहु, झि गाउँ, पात्लेखेत, कुइने मंगले, घ्यासी खर्क, चिमखोला, दग्नाम हुँदै म्याग्दीका हरेक गाउँ हिउँद, वर्षा, शरद, वशन्त ऋतु वर्षभरी उनि यसरी नै कपडाको पोको बोक्दै गाउँ बस्ती डुल्दै घर-घर कपडा बेच्दै जिवन बिताइरहेका छन्।

सरदरमा महिनाको १५-२० हजार कमाउँछन्, उनीहरू। प्रतिदिन रू ५०० जति खर्च हुन्छ। गाउँघरतिर खानाको मात्रै पैसा लाग्छ, वासको तिर्न पर्दैन। यहि कमाईले घरपरिवार पालेका छन्, बालबच्चा पढाएका छन्।

उनको छोरी मधु कुमारी यादवले ल्याव एसिस्टेन्ट पास गरिसकिन् भने दुई छोराहरु क्रमश ८ र ९ कक्षा पढिरहेका छन्, तराईमै।

करिब ७ वर्ष पहाडतिर घुम्ति कपडा व्यापारमा बिताएका उनकाे जीवनमा दुःख र मिहेनत बराबर छ। कुनै ठाउँमा तराइवासी भनेर हेपाइ र गाली खाएको पनि उनीसँग अनुभव छ। तर अधिकांश स्थानियवासीले भने राम्रोसँग चिन्ने  र असल व्यवहार गर्ने गरेकाे उनीहरू बताउँछन्।

छुट्नेबेला सिल्टिमुरको चियाको चुस्की पिउँदै उनले भने, 'जिन्दगी यसरी नै चल्दैछ हजुर ! के गर्ने, काम त गर्नै पर्योे। स्वस्थले साथ दिएसम्म गाउँघर डुलेर कपडा बेच्दै हिँड्ने हो।'

यत्तिकैमा उनीहरूले आफ्नो भारी कस्दै थिए। त्यो दिन उनीहरुको गन्तब्य सिबाङ-ताकमसम्म थियाे ! अन्त्यमा आवाज निकाल्दै फेरि आफ्नाे बाटाे लागे, 'तन्ना, सिरक खाेल सस्ताेमा-सस्ताेमा।' 

प्रकाशित मिति: : 2021-10-04 09:08:00

प्रतिकृया दिनुहोस्