तरकारीमा आत्मनिर्भर बन्दै दाङ

आलु र प्याजको भने उत्पादन छैन 

तरकारी व्यवसायी संघका अध्यक्ष गुलाम रसिद [फाेटाेः बिएल नेपाली सेवा]

दाङ पछिल्लो समय तरकारीमा आत्मनिर्भर बन्दै गएको छ। दाङको सदरमुकाम घोराहीस्थित तरकारी बजारमा थ्रुपै जिल्लामा उत्पादन भएकाे तरकारी आउने गरेको छ। 

मौसमी तथा बेमौसमी तरकारी प्रायः जिल्लामा उत्पादन भएकै आफ्नो पसलमा आउने गरेको घोराही सब्जीमण्डीमा तरकारी पसल गर्दै आएका सुवास घर्तीले बताउँछन्।

‘बेमौसमी तरकारीहरु केहीलेकाँही बाहिरबाट पनि आउने गर्छ,’ उनले भने, ‘तर प्राय तरकारी यहि उत्पादन भएको आउने गरेको छ।’ मौसमी तरकारीको उत्पादन धेरै हुँदा मूल्यमा गिरावटसमेत हुने गरेको उनकाे गुनासाे छ। 

त्यसैगरी, तरकारी व्यवसायीसमेत रहेका तरकारी व्यवसायी संघका अध्यक्ष गुलाम रसिदले पनि मौसमी तरकारीको जिल्लामा उत्पादन धेरै हुने गरेको बताए। 

‘वर्षाको समयमा, काँक्रा, सेमी, बोडी लगायतको तरकारी प्रशस्त मात्रामा आउँछ, उनले भने, ‘बेमौसमी तरकारी पनि अपुग भन्ने छैन।’ अध्यक्ष रसिदका अनुसार बेमौसमी तरकारी २० देखि २५ प्रतिशत मात्र बाहिरबाट ल्याउनुपर्ने अवस्था छ। 

कृषि ज्ञान केन्द्र दाङको तीन वर्षे तथ्यांक हेर्ने हो भने जिल्लामा तरकारी उत्पादन बढ्दै गएको छ। आर्थिक वर्ष (आव) २०७५–०७६ मा जिल्लामा ७९ हजार २ सय ८७ मेट्रिक टन तरकारी उत्पादन भएको थियो। 

यो उत्पादन बढेर आव २०७६–०७७ मा ७९ हजार ७ सय ७९ मेट्रिक टन आलु उत्पादन भएको छ। गएको आव २०७७–०७८ मा उत्पादन बढेर ८० हजार ३ सय ४० मेट्रिक टन पुगेको छ। 

उत्पादन बढ्नुमा तरकारी खेती तर्फ किसानको आकर्षण बढ्नु पनि हो। पछिल्लो तीन वर्षमा दाङमा तरकारी खेती गर्ने किसान बढेको कृषि ज्ञान केन्द्रको तथ्यांकले देखाउँछ। आव २०७५–०७६ मा जिल्लामा ५ हजार ७ सय ५० हेक्टरमा तरकारी खेती भएको थियो। यो क्षेत्रफल बढेर तरकारी आव २०७६–०७७ मा ६ हजार २ सय ९० हेक्टरमा खेती भएको छ। 

तर आव २०७७–०७८ मा तरकारी खेती गर्ने क्षेत्रफल २ सय २३ हेक्टरले घटेर ६ हजार ७७ हेकटरमा झरेको छ। तरकारी खेती गर्ने क्षेत्रफल कमी भएपनि उत्पादन भने बढेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत रुद्रमणि पौडेलले बताए।

आलु र प्याजको उत्पान छैन

तर आलु र प्याज भने जिल्लाको मात्र होइन नेपालको उत्पादनलेसमेत पुग्न सकेको छैन। स्मरण हाेस् अघिल्लो वर्ष कोरोना महामारीका कारण भएकाे बन्दाबन्दीले भारतबाट प्याज नआउँदा दाङमा समेत चिनियाँ प्याज खानु परेकाे थियाे।

अन्य तरकारीमा जिल्ला आत्मनिर्भर हुँदै गएता पनि आलु र प्याजनमा भने दाङ कमजोर देखिएको छ। तरकारी व्यवसायी संघका अध्यक्ष रसिदका अनुसार भारतबाट ७० प्रतिशत भन्दा बढी दाङको बजारमा आलु र प्याज आउने गरेको छ। यो प्रतिशत वर्षायाममा केही कमी हुने गरेको भएपनि अन्य समय भने बाहिरी देशको भरपर्नु पर्ने समस्या रहेको उनले सुनाए। 

‘अब आलु रोप्ने समय भएको छ, यही सब्जीमण्डीबाट मात्र दैनिक दुई ट्रक आलुको बीउ विक्रि हुने गरेको छ,’ तरकारी व्यवसायी सुवास घर्तीले भने, ‘तर आलु सधैं अभाव हुँदा बाहिरबाट ल्याउनु परेको छ।’ यस्तो समस्या आउनुमा किसानमा आलु खेतीको ज्ञानको कमी भएको अध्यक्ष रसिदको अनुमान छ। 

उनले धेरै आलु रोपे पनि उत्पादन बृद्धि गर्न नसकिएको कारण आलुको अभाव देखिएको बताए। साथै आलु लगायत तरकारी राख्ने चिस्यान केन्द्रको अभावका कारण पनि आलुको उत्पादन हुन नसकेको उनको भनाइ छ। 

‘अहिले उत्पादन गरेको आलु ४ महिना टिक्दैन। किसानलाई वर्षदिनसम्म आलु राख्ने समस्या छ,’ उनले भने, ‘यसले गर्दा पनि आलु धेरै उत्पादन नभएको होला।’ साथै कृषकहरुमा प्राविधिक ज्ञानको कमी, सरकारको नीतिमा समस्या आदि कारणले यसको उत्पदन बढ्न नसकेको अध्यक्ष रसिद बताउँछन्। 

यस्तै कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत पौडेलले सरकारको नीति कृषिमैत्री नहुनुलाई उत्पादन बृद्धि गर्न नसकिएको समस्या देख्छन्। ‘आलु लगाउने समय अहिले हो, तर हामीकहाँ अझै पनि यस वर्षको कार्यविधि आएको छैन,’ उनले भने, ‘अब किसानले आलु लगाएपछि आएको कार्यविधिले के काम?’

सरकारले कृषकहरुका लागि नयाँ–नयाँ कार्यक्रम ल्याएको भएपनि समयमै त्यसको कार्यान्वयन गर्न नसक्दा आलु, प्याजको उत्पादनमा बृद्धि हुन नसकेको उनको भनाइ छ। यसका लागि केन्द्र, प्रदेश सकारसँगै स्थानीय सरकारको समन्वय आवश्यक रहेको सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत पौडल बताउँछन्।

प्रकाशित मिति: : 2021-10-11 09:14:00

प्रतिकृया दिनुहोस्