दीपक मनाङेको सम्पत्ति : डेढ करोड ऋण, कृषि मन्त्रीको १० हजार 

कृषिमन्त्री चन्द्रबहादुर बुढा मगर र खेलकुदमन्त्री दीपक मनाङे
कृषिमन्त्री चन्द्रबहादुर बुढा मगर र खेलकुदमन्त्री दीपक मनाङे

पोखरा। गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

मन्त्रीको शपथ लिएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भए पनि मनाङेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिएनन्।

सम्पत्ति विवरण सार्वजनिक गर्दै मन्त्री मनाङेले डेढ करोड ऋण देखाएका छन्। यसअघि सम्पत्ति विवरण सार्वजनिक नगरेका मनाङेले आफ्नो सम्पत्ति कहाँ कति छ आफैं कन्फ्युज भएको अभिव्यक्ति दिएका थिए।

पैसा केटाहरुलाई दिएको र पैसा नआई सकेकाले सम्पत्ति विवरण बुझाउन नसकेको यसअघि उनले बताएका थिए। मनाङेले लिएको ६ करोड १० लाख ऋण मध्ये ४ करोड ७० लाख चुक्ता गरिसकेका छन्।

उनले अर्कैको नाममा जग्गा र आफू ऋणमा रहेको विवरण सार्वजनिक गरेका छन्। अर्कैको नाममा बैनापट्टा गरेको संयुक्त लगानीमा जग्गा र कृषि फर्म रहेको विवरण उनले बुझाएका छन्।

प्रकाश, कृष्ण र श्याम महर्जनको नाममा काठमाडौं-२९ धर्मस्थलीमा कित्ता नम्बर २४, ६७, ७६  को जग्गा रहेको खुलाएका छन्। प्रतिआना जग्गा ९ लाख रुपैयाँमा किनेको उनले उल्लेख गरेका छन्।

मालती महातारासँग संयुक्त लगानीमा चन्द्रागिरी २ मा ३ रोपनी जग्गा रहेको विवरणमा उल्लेख छ। पदमपोखरी मकवानपुरमा उक रोपनी ९ आना १० दाम संयुक्त जग्गामध्ये छोराको नाममा १५ आना जग्गा रहेको विवरणमा छ।

२०५४ सालमा १५ तोला र २०७० मा ७ तोला तत्कालीन मूल्यअनुसार खरिद गरी आफूसँग २२ तोला सुन रहेको मनाङेले उल्लेख गरेका छन्। २०५४ मा वैदेशिक रोजगारी र २०७० मा व्यापार व्यवसायबाट सुन प्राप्ति गरेको मनाङेले सम्पत्ति स्रोतमा उल्लेख गरेका छन्।

यता, गण्डकीका भुमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री चन्द्रबहादुर बुढा मगरले भने आफ्नो सम्पत्ति १० हजार रुपैयाँ रहेको विवरण बुझाएका छन्।

बागलुङको ताराखोला ५ मा पैतृक सम्पत्ति रहे पनि त्यसको क्षेत्रफल भने खुलाएका छैनन्। दाुजुभाईको संगोलमा रहेको विवरणमा उल्लेख छ।

प्रकाशित मिति: : 2021-11-02 13:29:00

प्रतिकृया दिनुहोस्