राजेन्द्र राई : विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्रीको कुर्सीसम्म 

फाइल तस्वीर
फाइल तस्वीर

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको बारेमा एक महिनाअघिसम्म टिप्पणी हुन्थ्यो, उनी राजनीतिमा पछि परे। उनी जिल्लाको चुनावी राजनीतिमा शेरधन राई र पार्टीभित्र माधव नेपाल खेमामा लागेका कारण पछि परेको विश्लेषण हुन्थ्यो।

वर्षौंदेखि पछि परेका उनको एकैपटक क्षतिपूर्ति भएको छ। तीन महिनाअघिसम्म कसैले अनुमानसम्म नगरेको मुख्यमन्त्री पदमा उनले तिहारको मुखमै सपथग्रहण गरेका छन्। उनी प्रदेश १ सरकारको मुख्य कार्यकारी भएका छन्।

विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् राई। उनी चार वर्षअघि नेकपा एमालेका तर्फबाट भोजपुर निर्वाचन क्षेत्र नं १ क बाट प्रदेशसभामा निर्वाचित भएका थिए। लक्ष्मीपूजाको एक दिनअघि बुधबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई पद तथा गोपनीयता सपथ गराए।

कार्यसम्पादनमा उनीभन्दा अक्षम र राजनीतिक रुपमा कनिष्ठ भए पनि पार्टी गुटकै कारण शेरधन राई मुख्यमन्त्री भएका थिए। उनी प्रदेशसभा सदस्य मात्र भएर टुलुटुलु हेरिरहन विवश थिए। उनलाई मन्त्री बन्न समेत एमालेभित्र भाग पुगेन। कसैले प्रस्तावसमेत गरेन।

राजेन्द्र राईले दुई कार्यकाल अनेरास्ववियुको अध्यक्ष सम्हालेका थिए। त्यो पनि वामदेव गौतमले एमाले फुटाएको चुनौतीपूर्ण समयमा। अखिलका प्रभावशाली सबैजसो नेता गौतमसँग गएका बेला उनी एमालेमै टिकेर अखिल सम्हालेका थिए। संगठन बचाएका थिए।

माधव नेपाल गुटमा लागेका कारण पार्टीमा संघर्षशील भए पनि ओझेलमा परेका थिए। राई बौद्धिक, भद्र, शालिन, विकासप्रेमी र सरल जीवनशैली भएका नेता मानिन्छन्। एमाले विभाजनपछि उनको भाग्य एकाएक चम्किएको छ।

एमालेको आठौँ महाधिवेशन र नवौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका राई एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिव पनि भएका छन्।

०४६ सालअघिकै राजनीतिक कार्यकर्ता हुन् उनी। पञ्चायतविरुद्ध लाग्दा राई सात महिना जेल परेका थिए। उनी तत्कालीन राजा ज्ञानेन्द्र शाहविरुद्धको आन्दोलनमा पनि चार महिना बन्दी बनाइएका थिए।

२०६० मा माओवादीले अपहरण गरेर उनलाई एकसाता राखेको थियो। वाम गठबन्धनका साझा उम्मेदवार राजेन्द्र राईले लोकतान्त्रिक गठबन्धनका अजम्बर काङमाङ राईलाई प्रदेशसभाको चुनावमा पराजित गरेका थिए।

कुल ३४ हजार ९५८ मत खसेकोमा राजेन्द्र राईले १९ हजार २९७ मत ल्याएका थिए। संघीय समाजवादी फोरमका अजम्बर काङमाङ राईले ११ हजार ५४१ मत ल्याएका थिए।

काङमाङ अहिले जसपा छाडेर नेकपा माओवादी केन्द्रमा लागेका छन्। भोजपुरको षडानन्द नगरपालिका १० का उनले विद्यालय तहबाटै राजनीति यात्रा शुरु गरेका थिए।

अखिलको प्रारम्भिक कमिटीको सचिव हुँदै केन्द्रीय अध्यक्षसम्म भएका उनले विद्यार्थी संगठनमा रहेर २० वर्ष राजनीति गरे। यसक्रममा रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंको स्ववियु सभापतिसमेत बने।

विद्यार्थी संगठन छाडेर उनले एमालेको काठमाडौँ जिल्ला कमिटीबाट एमालेको पार्टी राजनीति सुरू गरका थिए।

बिएल नेपाली सेवाले मुख्यमन्त्री हुनुभयो अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले दिएको जवाफको सारांश जस्ताको तस्तैः

प्रमुख योजना प्रदेशको नामाकरण हो। सबैले चाहेको विषय पनि यही हो। यो मेरो पहिलो योजना हो। दोस्रो, सीमित बजेटको सही परिचालन भएन। चुहावट बढी हुने र पक्षपातपूर्ण ढंगले बजेट विनियोजन हुने र प्राथमिकता सही ढंगले छनोट नहुने कमजोरी रोक्ने भन्ने छ।

शान्ति सुरक्षा कायम गरिने छ। प्रदेश १ को आन्तरिक बजेटको दायरा बढाउन लाग्नेछु। कतिपय वैदेशिक सम्पर्कद्वारा अनुदान ल्याउने, केन्द्रबाट अनुदान र ऋण सापटी लिएर भए पनि बजेटको दायरा बढाउने प्रयास रहने छ। चुनौती त स्वाभाविक रूपमा छ नि। किनभने विपक्षीमा रहने साथीहरू सकारात्मक छैनन्।

केन्द्रमा सभामुखको राजीनामा माग्ने, बिना कारण संसद् अवरुद्ध गर्ने भूमिका रहेकाले तल पनि यहीअनुसारको निर्देशा आउँदा समस्या हुन सक्छ। प्रदेशको नाम दुई तिहाइले मात्रै पास गर्ने भन्ने छ। एमालेको सहमतिविना दुई तिहाइ पुग्दैन। त्यो एउटा पाटो छ।

अर्को सानो बजेट छ। योजना धेरै छानिएको छ। प्राथमिकता नदिनुपर्ने ठाउँमा योजना छानिएको छ। यस्ता विषयले बानी पारिएको छ। चुहावटका लागि बानी पारियो, पल्काइयो। यो कुराको पनि सामना गर्नुपर्ने छ।

प्रकाशित मिति: : 2021-11-04 14:50:00

प्रतिकृया दिनुहोस्