३ सय रूपैयाँ लिएर काठमाडौं छिरेका डम्बर : चर्चित गायकदेखि राष्ट्रिय पुरस्कार बिजेतासम्म

तेजन खड्का

काठमाडाैँ

गायन करियरको पूर्वाद्र्धमै हिट भएका थिए डम्बर नेपाली, स्लो भर्सनको प्रेम–गीतबाट।  ‘मेरो जीवनवाट जाने भए जाऊँ तर अन्तिम पल्ट भेट्न आँउ, ‘आज आकाशमा एउटा तारा देखिन’ जस्ता गीतका गायक नेपाली पछिल्लो समय भने फास्ट ट्रयाकमा मोडिए।

डम्बर नेपालीनेपाली उखानलाई ठेट शैलीमा ढालेर तयार गरिएको गीत ‘कि यो जंगे रेलमा’, ‘बिग्रिएको मान्छेको, भत्केको घर’ले उनलाई फरक चिनारी दियो। 

डम्बरलाई चिनाउन यति नै पर्याप्त छ। गीत रचनादेखि संगीत भर्नसम्म पोख्त डम्बरको समग्र जीवन संगीतकर्ममै टिकेको छ। उनी त्यस्ता आंशिक नेपाली गायकमा पर्छन्, जसलाई गाएकै भरमा खान–लाउन पुगेको छ। घर परिवार थाम्न सकेका छन्। 

कुनै बेला उनी पेवा कुखुरा बेचेको ३ सय रुपैयाँ बोकेर गायक बन्न काठमाडौं हान्निएका थिए। त्यसताका रेडियो नेपालमा स्वर परीक्षण गराएपछि ‘गायकको ट्याग’ भिर्न पाइन्थ्यो। उनी स्वर परीक्षणका लागि रेडियो नेपाल पुगे तर त्यसका निम्ति आवश्यक प्रक्रिया पूरा गरेका थिएनन्। आखिर उनको रहर त्यत्तिकै तुहियो।

‘दौतरीहरू कमाइ गर्न विदेश जान्थे र मलाई पनि उक्साउँथे’ डम्बर सम्झन्छन्–‘तर, मैले संगीत साधनामै निरन्तर लाग्ने निधो गरें।’ त्यो समय पप, ¥याप संगीतको बजार उत्कर्षमा थियो। त्यही बेला डम्बरले नयाँ स्वाद पस्किए–‘अन्तिम पल्ट भेट्न आऊ’ बाट। स्लो भर्सनको उक्त गीतले डम्बरलाई चर्चा त दिलायो नै, खल्ती पनि भरिदियो। यही गीतले उनलाई विदेशको सयर गरायो अनि ‘छिन्नलता’ पुरस्कार दिलायो। 

उक्त गीत गाउनुअघि डम्बर ‘द रेज’ ब्यान्डसँग आबद्ध थिए। त्यही ब्यान्डका सदस्यहरूसँग मिलेर ‘शून्य आकाशमा’ एल्बम बजारमा ल्याए। गीत पनि राम्रै चल्यो। ‘पछि साथीभाइ लाखापाखा लागे’ डम्बरले सुनाए– ‘त्यसपछि ब्यान्ड पनि फुट्यो।’ ब्यान्डसँगको सहयात्रा टुटेपछि उनी एक्लै संगीतमा होमिए। २०६३ सालमा उनको सोलो एल्बम बजारमा आयो। त्यही एल्बमले उनलाई गायकका रूपमा स्थापित गर्याे।

प्रेम वियोगको गीतमा मात्र होइन, रोमान्टिक गीतमा पनि उनी अब्बल ठहरिए। उनले गाएको ‘जंगे’ गीत निकै रुचाइयो। त्यससँगै ‘तिम्रो पाउजु बजेर थाहा पाए अरूले, बिग्रिएको मान्छे म, जस्ता गीतले डम्बरलाई फरक धारमा स्थापित गरायो।

दुई दशकको गायन करियर डम्बरलाई राम्रै फलिफाप भयो। देश–विदेश घुमे, पुरस्कार थापे, पैसा कमाए। त्योभन्दा पनि महत्वपूर्ण, गीत गाएको पैसाले आमाको उपचार गरे। ‘मेरो गायनको सबैभन्दा सन्तोषजनक उपलब्धि भनेको यही हो’ यसो भनिरहँदा डम्बरको छाती गर्वले चौडा हुन्छ। कहिले देश–विदेशको कन्सर्ट त कहिले गीत रेकर्डिङले बेफुर्सदिला बनाउँछ, डम्बरलाई। संगीत साधनबाट बचेको समय खेलकुदमा लगाउँछन्। उनी फुटबल खेलका पारखी मात्र होइनन, राम्रा खेलाडीसमेत हुन्। 

डम्बर फुर्सद पाउनसाथ फुटबल खेल्न तम्सिहाल्छन्। ‘यसले मेरो फुटबलको तलतल त मेटिन्छ नै’ डम्बर भन्छन्– ‘शारीरिक रूपमा तन्दुरुस्त राख्न पनि सहयोग गर्छ।’ बिहान उठेपछि नियमित रूपमा फुटसल धाउने उनको बानी छ। त्यहाँ उनीसँगै बद्री पंगेनी, शंकर विसी आदि कलाकार पनि सामेल हुन्छन्। मुड चलेका बेला साथीभाइलाई कोठामा बोलाउँछन्, आफ्नै हातले पकाएको परिकार चखाउँछन्। यस्तो जमघटमा रक्सी पिउन मन लाग्छ, तर रक्सीमा त्यस्तो आशक्ति भने छैन।

आहिले डम्बरले काठमाडौंको कोटेश्वरमा डेरा जमाएका छन्। त्यहींबाट उनको नियमित दैनिकी प्रारम्भ हुन्छ। उठ्ने र सुत्ने तालिका नियमित छ। उनी बिहान साढे चार वा पाँच बजे उठिसकेका हुन्छन्। उठ्नासाथ मर्निङवाकमा निस्कन्छन्। त्यसपछिको समय संगीत साधनालाई छुट्याएका छन्।

केही समय गिटार समाएर गीत गाउने अभ्यास गर्छन्। ‘कहिले गीत कम्पोज गर्छु, कहिले लेख्छु’ डम्बर भन्छन्– ‘त्यसरी नै मेरो बिहानको समय बित्छ।’ मध्यान्ह उनको गन्तव्य हुन्छ– रेकर्डिङ स्टुडियो। घरबाहिर निस्कँदा उनलाई अलि टिपटप हुनुपर्छ। पहिरनका सौखिन डम्बरलाई क्याजुअल पहिरनमा देख्न सकिन्छ।

प्रकाशित मिति: : 2021-12-06 15:06:00

प्रतिकृया दिनुहोस्