पोखरामा विमान दुर्घटना

पोखरा विमान दुर्घटना : छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन भएकाे छ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको हो।

बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटनाहरु दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो।

आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेको सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा छन्। आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।

आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ । आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

प्रतिवेदन प्राप्त भएलगत्तै सरकारले सुझाव कार्यान्वयनको व्यवस्था मिलाउने प्रवक्ता पौडेलले बताए। गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो।

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त भएको थियो। विमानमा चालक दलका चारसहित ७२ यात्रु सवार रहेका थिए।

प्रकाशित मिति: : 2023-01-15 14:25:00

प्रतिकृया दिनुहोस्