इन्द्र लोहनीकी आमाको नजरमा चर्चित टेलिभिजन प्रस्तोता 

तेजन खड्का

काठमाडौँ

करिब १३ वर्षअघि हृदयाघातका कारण निधन भएका इन्द्र लोहनीलाई टेलिभिजन टक शोका चर्चित प्रस्तोता र   अधिवक्ताका रूपमा त्यसताका धेरैले चिनेका थिए। तर, पछिल्लो पुस्ताका लागि उनको नाम गुमनाम प्रायः छ। उनलाई जान्नेहरू टेलिभिजन टक शोमा यतिको आँटिलो र खरो बहस गर्ने आजपर्यन्त नभेटिएको बताउने गर्छन्। कडा प्रश्न सोधेर नेताहरूलाई नै आच्छुआच्छु पार्ने लोहनी यो संसारमा छैनन्।  

झापा गौरादहका उनै लोहनीको आमा हरिमाया लोहनीले छोरा मिडियामा बोल्दा मात्र त्यो समयकाले आफूहरूलाई चिन्ने गरेको बताउँछिन्। ‘घरभरी नेताहरूको भिड हुन्थे, जागिर लगाइदिनुपर्‍यो, सरुवा बढुवा गर्नुपर्‍यो भनेर कोशेलीसहित लाम लाग्थे’, हरिमायाले सम्झिइन्, ‘छोरा (इन्द्र लोहनी) कहिल्यै प्रभोलनमा परेन्, कसैले औँला ठड्याउने काम गरेन ।’ 

आमा हरिमाया आज छोरो यो संसारमा नभए पनि उनले लिएको अन्तर्वार्ता झल्झली सम्झिन्छिन्। ठूलो छोराको निधनपछि आफूलाई कसैले नचिनेको गुनासो गर्छिन्। ‘अहिले नचिनेजस्तो गर्छन्, नजाने जस्तो गर्छन्, ऊ जतिको आँटिलो र ट्यालेन्ट कोही देख्या छैन्’, उनले भावुक हुँदै भनिन्, ‘मेरो छोरा भनेर मात्र राम्रो भनेको हैन कि मलाई आफ्नै छोरा भएर राम्रो लागेको हो। त्यो मुल्याङ्कन गर्ने जिम्मा हजुरहरूको पनि हो ।’

त्यसताका पुष्पकलम दाहाल प्रचण्ड, बाबुराम भट्टराई, केपी शर्मा ओलीको अन्तर्वार्ताहरूले निकै ख्याती कमाएको थियो। ‘कार्यक्रम हेर्ने सबैले पत्रकार भनेको यस्तो हुनुपर्छ भन्थे।  न उ पक्ष, न उ विपक्ष, निष्पक्ष थियो, त्यही भएर जनताको पत्रकार बन्यो’, भावुक हुँदै हरिमायाले सुनाइन् । 
कडा प्रश्न सोध्दा छोरालाई कसैले केही गर्लान् जस्तो लाग्दैन थियो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘मलाई डर लाग्दैनथ्यो। तर, मैले उस (इन्द्र)लाई डर लाग्दैन भनेर सोध्थेँ, उसले तपार्इंको आशिर्वाद भइन्जेल केही हुँदैन भन्थ्यो। ’

ऋषि धमला बढी हल्ला गर्ने, विजय कुमार रसिलो लाग्दैन

पछिल्लो समय टिभी टक शोमा ऋषि धमाला, विजय कुमार, भुषण दाहाल, टीकाराम यात्री, राजेन्द्र बानियाँ, रवि लामिछानेसहितका प्रस्तोता देखिएका र देखिँदै आएका छन्। तर, ऋषि धमाला ‘दम’ नभएको प्रस्तोता रहेको हरिमायाको बुझाइ छ। ‘प्रश्न त जसले पनि सोध्न सक्छ नि’, उनी भन्छिन्, ‘त्यो प्रश्नको उत्तर आफैंतिर र्फिर्कयो भने नि ? जबाफ दिन सक्नुपर्छ ।’

भुषण दाहाल, रवि लामिछानेको प्रस्तुति ठिकै र विजय कुमारको पनि टक शो खासै रसिलो नलाग्ने गरेको उनले बताइन्। ‘यो मेरा कुरा हुन्, तर उनीहरूलाई नराम्रो भन्न खोजेको होइन नि’, उनले भनिन् । 

जडीबुटीबाट उपचार गर्ने अन्तिम इच्छा 

औषधिको नाममा विदेशमा पैसा गएको भन्दै जडीबुटीबाट उपचार गरेर बिरामीको सेवा गर्ने इन्द्र लोहनीको अन्तिम इच्छा रहेको आमा हरिमायाले स्मरण गरिन्। ‘औषधिको नाममा धेरै पैसा विदेश गयो, त्यो रोक्नुपर्छ आमा भन्थ्यो’, उनले सम्झिँदै भनिन्,  ‘घरमा आएर छोरा खेतमा जाने, जडीबुटीको बिरुवा लगाउने गर्थ्यो ।’ 

देशले चिनेको छोरोलाई आफ्नै गाउँवासीले बिर्सिएको उनले गुनासो गरिन्। ‘छोरा मिडियामा हुँदा यस्तो उस्तो भनेर तारिफ गर्थे, अहिले कसैले चिन्दैनन्, संसार त यस्तै रहेछ’, उनले भनिन् । 

हरिमायाले छोरा इन्द्रलाई गुमाए पनि देशका सबै छोराहरू आफ्नो छोरा भएको बताउँछिन्। ‘सबै छोराहरू मिलेर समृद्ध देश बनाउन लाग्नुपर्ने उनको सुझाव छ  । उमेरले ७१ पार गरिसकेकी हरिमाया अहिले घरमा बसेर सुइटर बुन्ने गर्छिन्। घर वरपर जडीबुटीका बिरुवा लगाएकी छिन् ।

झापा गौरादह घर भएकी हरिमाया छोरा इन्द्रको परिचयबाट भन्दा आफ्नै परिचयले चिनिन मनपर्ने बताइन्। सबैको आफ्नै परिचय छ, म मेरो परिचयले नै चिनिन चाहन्छु’, उनले भनिन्। साहित्यमा अब्बल हरिमायाले एउटा मेरी आमा नेपाल नामक पुस्तक पनि प्रकाशन गरेकी छिन् । 

हेलिकप्टरबाट बाढी पीडितको उद्धार

कुनै समयको नेपालको पत्रकारिता क्षेत्रका सबै भन्दा निडर र निर्भीक पत्रकारका रूपमा चिनिन्थिये, इन्द्र लोहनी। उनको प्रस्तुती निकै नै बोल्ड भनेर मानिन्थ्यो र ति समयमा लिएका अन्तरवार्ता तत्कालीन समयका मनमुटुमा बस्न सफल थिए।

भर्खरै भुमिगत स्थितीबाट सामान्य जीवनमा निस्केका पूर्वप्रधानमन्त्री पुस्पकमल दहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अन्तरवार्ता निक्कै दमदार छ।सोही अन्तरबार्तामा कसरी इन्द्र लोहनीले सोधेका छन्, बाबुराम भट्टराईलाई तपाईलाई प्रश्न सोधेको मन पर्छ कि मन पर्दैन भनेर? प्रचण्डलाई उनले सोधेका थिए,जनयुद्धमा गएको ज्यान आँशु र तपाईहरुको सफलता कुन भारी लाग्छ ? 
प्रचण्ड अक्क न बक्क भएका थिए। 

आज नेपालको विभिन्न भुभागमा वाढी आएको देख्दा धेरै जसोले इन्द्र लोहनीले गरेको रेस्किउमिसनको बारेमा सम्झिन्छन। आज भन्दा १३ बर्ष अगाडिको रेस्किउमिसन बारेमा सम्झिन्छन र परिकल्पना गर्छन् कि आजको पत्रकारमा यो हौसला र हिम्मत छ त।

आफ्नो डिउटि,मुख्यत काम छाडेर जनताको बीचमा हेलिकप्टर लिई डोरीले तानेर उद्दार गर्न सफल सोही इन्द्र लोहनी जोखिम हुदाँहुदै पनि रेस्किउ गरेका थिए। के आजको दिनमा पनि इन्द्र लोहनीले जस्तै कसैले पनि यो लेबलको काम गर्न सक्छन् त,गम्भिर प्रश्न छ।

प्रकाशित मिति: : 2021-12-03 07:18:00

प्रतिकृया दिनुहोस्