कर्णालीमा एमबीबीएस अध्यापन सुरू

Breaknlinks
Breaknlinks

लामाे समय गरिबी, अभाव, अशिक्षा, राेग, भाेगकाे बिम्ब बनेकाे कर्णालीले आफ्नाे परिचय स्वास्थ्य क्षेत्र मार्फत फेरेकाे छ। 

तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले तीन सय शय्याकाे अस्पताल भवन उद्घाटन गर्ने क्रममा कर्णाली प्रदेशका सांसद नरेश भण्डारीले भनेका थिए, 'सेताे हिउँमा सेता एप्राेन लगाउने डाक्टर तयार पार्ने प्रतिष्ठानकाे सपना हाे।'

नेपालकाे संसदीय इतिहासमा विरलै पारित हुने व्यक्तिगत विधेयकमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे विधेयक पनि एक हाे। जसकाे अगुवाइ उनै भण्डारीले गरेका थिए। 

आज उनले माथि भनेझैं कर्णालीकाे एमबिबिएस सपना हकिकतमा बदलिदैछ।

आइतबार देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आधाभूत चिकित्सा विज्ञान अन्तर्गत एमबीबीएस सुरु भएकाे छ।

सराेकारवाला, राजनीतिक दल, डाक्टर गाेविन्द केसीकाे आन्दोलनकाे बलमा प्रतिष्ठानले एमबीबीएस अध्यापन अनुमति पाएकाे छ। 

भौगोलिक बिकटताका कारण देखाई पछि पारिएको कर्णालीमा यातायात विद्युत, संचारकाे राम्रो प्रबन्ध नहुँदा पनि चुनाैतीकाे सामना गर्दै प्रतिष्ठानले एमबीबीएसकाे अध्यापन सुरु गर्नु गर्वकाे विषय भएको स्थानीयबासीकाे भनाइ छ।

आइतबार अभिमुखिकरण कार्यक्रम राखी विद्यार्थीलाई प्रशिक्षण दिदै औपचारिक रुपमा अध्ययन, अध्यापन सुरु भएकाे प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले बताए। 

'अब औपचारिक रुपमा पढाइ सुरु भएकाे छ। याे कर्णालीकाे लागि ठूलो अवसर हाे भने चुनाैति पनि उति नै छन्,' उनले भने, 'आज हामीले खासै तामझाम गरेका छैनौं। राष्ट्रपति ज्यू आउने कुरा छ। त्यसबेला एउटा अर्काे कार्यक्रम पनि गर्ने याेजना छ।'

प्रतिष्ठानले एमबीबीएसमा २० सिट, बीएमएसमा २० सिट, बीपीएचमा २० सिट, बी फार्मेसीमा २० सिट अध्यापन अनुमति पाएकाे छ।

२०६८ सालमा जुम्लाको खलङ्गामा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्ला लगायत कर्णाली क्षेत्रको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान दिदै आएको छ। 

खासगरी काेराेनाकाे पहिलाे र दाेेस्राे भेरियन्टमा विकट क्षेत्रमा भाइरस फैलन नदिन प्रतिष्ठानले ठूलो भूमिका निर्वाह गर्‍याे।

२०७३ सालबाट एमबीबीएस अध्यापन अनुमतिको लागि प्रयास गरेको प्रतिष्ठानले गत फागुनमा २० सिटकाे सम्बन्धन प्राप्त गरेको थियो। 

हाल प्रतिष्ठानमा ३ सय शय्याको आफ्नै अस्पताल, ल्याब, पुस्तकालय, होस्टेल, कर्मचारी प्रशासन छ भने कर्णाली प्रध्यापकहरुकाे आकर्षक गन्तव्य हुन पुगेकाे छ। 

प्रतिष्ठानले कर्णाली र सुदुरपश्चिमका विकट जिल्लाहरुमा स्वस्थ्य संस्थाहरुलाई आफ्नै चिकित्सक पठाएर स्तर उन्नती समेत गरेको थियो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म गरि ९ वटा कार्यक्रम संचालन गरिएकाे प्रा. डा. दिनेश वास्ताेलाले बताए।

'अबको ३ वर्षमा प्रतिष्ठानले काँचुली फर्नेछ। भौगोलिक र प्रकृतिक रुपमा सम्पन्न कर्णालीमा अरु धेरै सम्भावना छन्,' उनले भने, 'प्रतिष्ठानबाट उत्पादन भएको जनशक्ति अरु भन्दा फरक हुने निश्चित छ।'

निकै टाढा भनिएकाे कर्णाली नपुगि कस्ताे छ भनी थाहा पाउन नसिने सिन्धुलीबाट एमबीबीएस अध्ययन गर्न जुम्ला पुगेकी विद्यार्थी अपेक्षा पराजुलीले बताइन्। 

'कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन सरकारी शिक्षण संस्था हाे। यसको महत्व बुझेर नै हामी यता आएका हाैं,' उनले भनिन्, 'कर्णाली जस्तो हावा पनि मिलेको, प्राकृतिक रुपमा सुन्दर ठाउँबाट एमबीबीएसकाे प्रमाणपत्र लिनु मेराे लागि गाैरवकाे विषय हुनेछ।' 

जुम्लामा बनेका र बन्दै गरेका भौतिक संरचनालाई लक्षित उनले गर्दै विस्तारै धेरै कुरा व्यवस्थित हुनेमा आफू विश्वास्त रहेकाे बताइन्। 

पुर्वी तराईको महाेत्तरीबाट सुदुरको हिमाली जिल्ला जुम्लामा अध्यानका लागि आएका सुनिल कुमार मण्डलले आफू कर्णाली जस्तो स्थानमा एमबीबीएस अध्ययनकाे लागि पुग्न पाउँदा निकै खुसी रहेको बताए। 

'म डाक्टर बनेर हाम्राे मधेसमा पछाडि परेकाे समुदायलाई अगाडि बढाउन चाहन्छु,' उनले भने, 'प्रतिष्ठानमा काम गर्ने प्रध्यापकहरु अनुभवी भएकाले पनि मेराे सपना हकिकतमा बदलिने दिन आउन धेरै समय पर्खनु पर्ने छैन।'

उनले यहाँका प्राध्यापकहरु अन्य सहरको जस्तो व्यस्त नरहने भएकाे हुनाले पनि सिक्न धेरै सहज हुने बताए। 

कर्णालीलाई माया गर्ने र विकटका जनताकाे भलाे चाहनेहरुले चरणबद्ध रुपमा गरेकाे संघर्ष पश्चात् थुप्रै चुनाैचीका साथ सुरु भएकाे एमबीबीएस कर्णालीका जनताकाे लागि बहुप्रतिक्षित कार्यक्रम हाे।  

'अबका दिनमा अवसरहरु छाेप्दै, चुनाैतीहरुकाे सामना गर्दै अगाडि बढ्नुपर्ने छ,' प्रा. डाक्टर बास्तोलाले भने, 'यसमा कर्णालीबासीकाे हिजाेदेखिका साथ सहयोग छ भने कालान्तरसम्म पनि आवश्यक हुनेछ।'

प्रकाशित मिति: : 2021-12-06 07:35:00

प्रतिकृया दिनुहोस्