सरकारले पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गरेको सरकारको आगामी आव २०८१–८२ को वार्षिक नीति तथा कार्यकममा सङ्घीय अस्पताललाई कार्य बोझको आधारमा पुनःसंरचना गरिने उल्लेख छ।
वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताललगायत पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने, कान्ति बाल अस्पतालमा थप पूर्वाधार निर्माण र स्तरोन्नति गरी सुविधा सम्पन्न बनाइने उल्लेख छ।
त्यसैगरी सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई हृदयरोगसम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम संस्थाको रूपमा विकास गरिने पनि सरकारको नीति तथा कार्यक्रममा रहेको छ।
नीति तथा कार्यक्रममा सङ्घीय एवं प्रादेशिक अस्पतालमा स्वास्थ्य तथा उपचारसँग सम्बन्धित अभिलेख एवं सेवा प्रवाहलाई विद्युतीय प्रणालीमा आधारित बनाइने, एकै किसिमको परीक्षण पटक–पटक गर्नु नपर्ने र मेडिकल रेकर्ड अद्यावधिक गर्ने गरी स्वास्थ्य संस्थाको विद्युतीय अभिलेख राख्ने व्यवस्था मिलाई त्यस्तो अभिलेखमा एक अर्काको पहुँच हुने व्यवस्था गरिने उल्लेख छ।
यसैगरी पाठेघर विरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
१० देखि १४ वर्ष उमेर समूहका बालिकालाई दिइने खोप सेवालाई जिल्ला अस्पतालसम्म विस्तार गरिने ,पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निःशुल्क स्क्रिनिङ गरिने,सुरक्षित मातृत्व र रोग नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।
सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘पाइलटिङरडेमोन्सट्रेसन’ २०८० भदौ २७ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीबाट गरेको थियो।
२० हजार मात्रा खरिद गरेर ल्याइएकाले सात प्रदेशमा एक÷एक अस्पतालबाट मात्र खोप दिइएको थियो।