नेपाली सिनेमा निर्माण एक आत्मरति

file photo
file photo

मेरा परिचितहरुमध्ये  धेरैजसोले नेपाली सिनेमा नहेर्ने बताउँछन्। उनीहरु हेर्दै हेर्दैनन् कि हेरेर पनि झूट बोल्छन्, त्यो उनीहरुलाई नै थाहा होला तर म धेरैपछिसम्म पनि नेपाली सिनेमाको नियमित दर्शक थिएँ। पछि विभिन्न कारण ले नेपाली सिनेमा हेर्न छोडे।

आफूलाई अँग्रेजी सिनेमाको दर्शक बताउँदा गर्व गर्ने मान्छे पनि भेटेको छु तर म अँग्रेजी सिनेमा हेर्दिनँ। पहिलो त म अँग्रेजी बुझ्दिनँ। दोश्रो, त्यस्ता सिनेमाको कथामा रहेको परिवेशसँग म तारतम्य राख्न सक्दिनँ।

कुनैबेला मलाई ब्रुस ली र ज्याकी चाङ्गको सिनेमा हेर्न निकै रमाइलो लाग्थ्यो।  त्यो पनि कथा बुझेर भन्दा पनि त्यस्ता सिनेमामा देखाइने 'स्टन्ट' को कारण। त्यसै गरेर अपवादको रुपमा अँग्रेजी सिनेमा पनि हेरियो। त्यो भने सिनेमाभित्र हुने नायक–नायिकाको चुम्बन र अन्तरङ्ग दृश्य हेर्नका लागि। कोही–कोही आफूलाई सभ्य र आधुनिक भन्न रुचाउनेहरुले कोरियन र इरानी सिनेमा हेर्ने बताउँछन्।

अब त्यस्ता सिनेमाहरु कस्ता हुन्छन्, त्यो मलाई थाहा छैन। पारखीले बुझाइदिए अनुग्रहित हुने थिएँ। आजकाल मैले नियमित हेर्ने भनेको हिन्दी सिनेमा हो र मलाई हास्य 'जनरा' को सिनेमा हेर्न मन लाग्छ।

म सिनेमाको ज्ञाता होइन। सिनेमा निर्माण गर्न के–कस्ता बाधा तथा अवरोध छिचोल्नुपर्छ, त्यसको पनि ज्ञान छैन। मेरो विचारमा एउटा सामान्य दर्शकलाई सिनेमा निर्माण गर्न कति मेहनत पर्छ वा कुन क्यामराले खिच्यो भन्नेजस्ता नित्तान्त प्राविधिक विषयहरुसँग त्यति मतलब होला जस्तो लाग्दैन।

यसको साथै सिनेमा निर्माण गर्नु अत्यन्तै कठिन काम हो भनेर नथाक्नेहरुको अगाडि एउटा नौ वर्षको बालकले सिनेमा निर्देशन गरिदिन्छ। त्यो सिनेमा यति स्तरीय बन्छ कि कुरै नगरौं...यो पनि मैले आजसम्म बुझ्न सकेको छैन।

सिनेमा निर्माण भनेको विशुद्ध व्यापार हो। सबैले नाफा कमाउन गर्ने भएका कारणले मन नपरी–नपरी पनि नेपाली सिनेमालाई माया गर्नका लागि मात्र सिनेमा हेर्नुपर्ने बाध्यता कसैलाई छैन।

भारतीय समाजसँग सामाजिक अवस्था र भाषा धेरै हदसम्म मिल्नजाने हुनाले सिनेमाको कथामा पनि केही समानता आउनु स्वभाविक हो तर हरेक 'फ्रेम' हुबहु नक्कल भएका नेपाली सिनेमा हेर्नुभन्दा हिन्दी सिनेमा नै किन नहेर्ने?

यसमा नेपाली सिनेमासँग सम्बन्धित व्यक्तिहरुको के विचार होला? बजारमा दशौँ किसिमका चाउचाउ छन् भने नमीठो लागेर पनि नेपालमै बनेको चाउचाउ खानुपर्ने बाध्यता जसरी उपभोक्तालाई छैन। त्यसरी नै नेपाली सिनेमा नै हेर्नुपर्ने बाध्यता दर्शकलाई छैन र हुनु पनि हुँदैन।

केही यस्ता प्रसङ्ग छन् जुन प्रसङ्गहरु हिन्दी सिनेमामा नै पचासौँ पटक दोहरिसकेका छन् भने त्यस्तै बासी प्रसङ्ग फेरि नेपाली सिनेमामा हेर्दा एउटा दर्शकको आँखा कति बिझाउला, त्यो सम्बन्धित व्यक्तिहरुले महसुस गर्नुपर्ने हो। यस्तै केही पटक–पटक हरेक सिनेमामा दोहरिइरहने प्रसङ्ग छन्। तीमध्ये केही प्रसङ्ग निम्नबमोजिम उल्लेख गरेको छु:

प्रसङ्ग १: सिनेमाकी नायिका कुनै पार्कमा खुशी भएर गीत गाउँदै नाच्दै छिन। उनले नाँच्दा नाँच्दै उस्तै लुगा लगाएका एक हुल ठिटीहरु आएर नायिकालाई काउकुती लगाउँछन् र जान्छन्।

त्यस्तै उनीहरुले गीतको बीच–बीचमा तीन–चार पटक काउकुति लगाउँछन् र बेपत्ता हुन्छन्, मानौ त्यो समुह नायिकालाई काउकुती लगाउनको लागि मात्र नियुक्त गरिएको हो।

प्रसङ्ग २: नायक र नायिका आफ्नो प्रेममा परेको बाधा सहन नसकेर घरबाट भाग्छन्। बीच बाटोमा पराल बोकेको एउटा ट्रक आउँछ। त्यसैमा चढेर लडिबुढी खेल्दै र गीत गाउँदै कता पुग्छन्, त्यो शायद् निर्देशकलाई पनि थाहा हुँदैन होला भने दर्शकले कसरी थाहा पाउने?

प्रसङ्ग ३: कलेजको पुस्तकालयमा किताब छान्दै जाँदा नायक नायिकाको भेट हुने र एउटा मात्र पुस्तक पाइने र त्यो दुवैलाई चाहिने वा कुनै पसलमा बचेको एउटा मात्र सामान दुवैलाई चाहिने। अब यो प्रसङ्गमा कुनै सिनेमामा झगडा गर्ने र कुनैमा मेलमिलापमै छुट्टिने हुन्छ तर जे भए पनि कालान्तरमा प्रेम बस्ने निश्चित छ।

प्रसङ्ग ४: नायिकाले वनमा घाँस काट्न जानु र नायक शहरबाट घर आउने एउटै समय मिल्नु। नायिकाले गाई बस्तु धपाउँदै गीत गाउँदै जाँदा गीत सकिने बेलामा नायक–नायिका आमनेसामने हुनु।

प्रसङ्ग ५: खोला किनारमा नायिका अर्धनग्न अवस्थामा नुहाइरहेको हुनु र त्यो दृश्य नायक वा खलनायकले देख्नु। यदि नायकले देख्यो भने प्रेम गाँसिने र खलनायकले देख्यो भने बलात्कार हुने निश्चित छ तर बलात्कार प्रयास भएको अवस्थामा पनि पछि नायक कताबाट झुल्किन्छ, त्यो दर्शकले बुझ्न सक्दैनन्।

यस्ता अरु पनि अनेकौँ प्रसङ्गहरु छन्, जसमा अब यस्तो हुँदैछ भनेर पहिले नै दर्शकले थाहा पाउँछन्। मेरो विचारमा पहिले नै दर्शकले यस्तो यस्तो हुन्छ भनेर अनुमान लगाउनु एउटा निर्देशकको असफलता हो।

त्यस्तै, हिन्दी सिनेमाबाट ठयाक्कै अनुवाद गरेर राखिएको सम्वाद एउटा भाषाबाट अर्को भाषामा अनुवाद गर्दैमा त्यो समाजको परिवेशसँग नमिल्ने पनि हुन्छ। जस्तै, यो क्षेत्र तथा काम मेरालागि होइन भनेर भन्न अँग्रेजीमा एउटा भनाइ छ, 'दिस इज नट माई कप अफ टी'।

अब यसैलाई नेपालीमा अनुवाद गरेर 'यो मेरो चियाको कप होइन' भनेर भन्यो भने कति हाँसो लाग्दो होला। यसका लागि नेपाली भाषामा भन्ने अरु नै भनाइहरु छन्।

यस्तै गरेर हुबहु अनुवाद गरेर राखिएका केही सम्बादमा जो आफैँ खराब छ उसले अरुलाई खराब भन्नु हुँदैन भन्ने सन्दर्भमा भनिएको एउटा सम्वाद, 'चिनोय सेठ जिसके अपने घर शिशे का हो ओ दुसरों पर पत्थर फेंका नही करते' (हिन्दी), 'हर्के साहू ऐनाको घरमा बसेर अरुलाई ढुङ्गा हान्नु हुँदैन' (नेपाली)।

त्यस्तै उर्दु भाषामा कसैले बिनामतलब झर्को लगाउने प्रश्नहरु सोधेर हैरान गरिरहेको छ भने, 'अरे मेरे बाप मुझे बक्स करो' अर्थात् मलाई यो कुरा नसोध्नु भनिन्छ, अब यस्तै प्रसङ्गमा एउटा सिनेमामा 'ए मेरो बाउ अब तिमी जाऊ' भनिएको छ। जो हास्यास्पद छ।

अर्को कुरा, नेपाली सिनेमा क्षेत्रमा एक प्रतिशत काम र ९९ प्रतिशत कुरा हुन्छ जस्तो लाग्छ। पत्रपत्रिकामा आएको समाचारअनुसार रिलिजपूर्व सबै सिनेमा यस्तो भव्य निर्माण भएका हुन्छ कि कुरा गरेर साध्य छैन तर जब सिनेमा 'रिलिज' हुन्छ त्यो सिनेमा आकाशबाट जमीनमा पुग्छ। दर्शकको लागि निर्माण गरेको सिनेमालाई दर्शकले नै अस्वीकार गरेपछि बढ्ता कुरा गर्नुको कुनै फाइदा होला जस्तो लाग्दैन।

त्यस्तै एक करोड रुपैयाँको लागतमा निर्माण भएको सिनेमाले एक हप्तामै तीन करोडको व्यापार गरेको प्रचार गरिन्छ। अब यो अनुपातमा मुनाफा कमाउने सायदै अर्को व्यापार होला। मैले नबुझेको यदि यस्तो मुनाफा हुने हो भने निर्माताहरु किन दोहोरिँदैनन्?

यस्तै सिनेमाका कलाकारहरुले फलानोले एउटा सिनेमाको लागि २० लाख पारिश्रमिक लियो भन्ने समाचार सुन्न पाइन्छ तर तिनीहरुले सरकारलाई कति कर तिर्छन्, त्यो कतै सुनिएको छैन। एउटै सिनेमाबाट त्यत्रो कमै गर्ने कलाकार भने अधिकांश भोखमरी लागेका जस्तो देखिन्छन्। विदेशमा बस्ने नेपालीसँग एउटा न एउटा बहाना गरेर पैसा माग्नु यिनीहरुको दिनचर्या हो।

यस्तै माथि उल्लिखित कुराहरु जस्तैमा मनोरन्जन गर्न नसकेर मैले नेपाली सिनेमा नियमित हेर्न छोडेको करिब दश वर्ष भयो। यसबीच दुई–तीन वटा सिनेमा हेरेको थिएँ र ती सिनेमाहरुले मन छोएको थियो तर त्यो सिनेमा बनाउने निर्देशकले पनि पुन: सिनेमा निर्माण गरेको सुन्न पाएको छैन।

नेपाली सिनेमाले हिन्दी सिनेमासँग प्रतिस्पर्धा कुनै हालतमा गर्नसक्ने होइन। यसैले  सानो भए पनि नेपाली सिनेमाको आफ्नै बजार बनाउने हो। यदि यस्तो गर्न नसक्ने हो भने सिनेमा निर्माण गरेर 'तँ नायक' र 'म निर्देशक हुँ' भन्नेबाहेक अर्को कुनै उपलब्धि हुँदैन र सिनेमा निर्माण आत्मरतिमा गएर टुङ्गिन्छ।

प्रकाशित मिति: : 2021-12-19 15:30:00

प्रतिकृया दिनुहोस्