विनोद खन्ना पथमा नवाजुद्दीन

Lawtrend.in
Lawtrend.in

प्रतिभाले भरिपूर्ण बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीले फिल्म उद्योगमा आफ्नो दमदार स्थान बनाइसकेका छन्। 

हालै उनले आफ्नो ओटीटी फिल्म ‘सिरियस मेन’का लागि ‘फिल्मफेयर ओटीटी अवार्ड’ जिते। उनको अभिनयका लागि उनी ‘अन्तर्राष्ट्रिय एमी अवार्ड’मा ‘उत्कृष्ट अभिनेता’को मनोनयनमा पनि परेका थिए।

यद्यपि, उनले ‘एमी अवार्ड’ जित्न सकेनन्। अवार्ड नजिते पनि उनी दुःखी छैनन्। उनी विश्वकै ‘उत्कृष्ट अभिनेता’को श्रेणीमा आफ्नो नाम आउनु आफ्ना लागि ठूलो उपलब्धि भएकोमा सन्तुष्ट छन्।

‘मैले यस्तै किसिमको फिल्ममा काम गर्दै गएँ भने अवार्ड त ८–१० वर्षमा नै पाउँछु। मलाई अवार्डभन्दा पनि राम्रो फिल्ममा जोडिने चाहना छ। म राम्रो फिल्म गर्न चाहन्छु’, उनी भन्छन्।

नवाजुद्दीनले ‘ग्याङ्स अफ वासेपुर’, ‘मन्टो’, ‘फोटोग्राफ’, ‘सिरियस मेन’, ‘रात अकेली है’ जस्ता फिल्ममा अभिनय गरेका थिए। यसबाहेक उनको अभिनय ‘किक’, ‘रईस’, ‘बजरंगी भाइजान’, ‘मुन्ना माइकल’जस्ता व्यावसायिक फिल्ममा पनि हेर्न पाइन्छ।

उनी चाँडै टाइगर श्राफका साथ फिल्म ‘हीरोपन्ती २’मा देखिँदैछन्। जहाँ उनले लोकप्रिय अभिनेता विनोद खन्नालाई सम्मान गरिरहेको दर्शकले हेर्न पाउनेछन्।

‘मैले धेरै समय अगाडि विनोद खन्ना साहबलाई एयरपोर्टमा देखेको थिएँ। त्यही बेला मैले जिन्दगीमा यस्तो चरित्रको काम गर्ने मौका मिल्यो भने विनोद खन्नाकै शैलीलाई आफ्नो भूमिकामा ढाल्ने निर्णय लिएको थिएँ। जुन मौका अहिले पाएको छु’, उनले भनेका छन्। उनले विनोद खन्नासँग एक टेलिफिल्ममा अभिनय गरे पनि त्यो टेलिफिल्म रिलिज भएन।

नवाजुद्दीनले आफ्नो अभिनय करियरमा कैयौं ठूला अभिनेताहरूसँग काम गरेका छन्। जसमा सुनील दत्तको नाम पनि पर्दछ। फिल्म ‘मुन्नाभाइ एमबीबीएस’मा सुनीलसँग उनको एक दृश्य थियो।

‘दृश्यको सुट सकिएपछि उहाँले मलाई कोकाकोला पिउन दिनुभएको थियो। त्यो कोकाकोलाको स्वाद पनि फरक थियो, किनकि सुनील दत्तले मलाई दिनुभएको थियो’, उनले भनेका छन्।

प्रकाशित मिति: : 2021-12-21 14:42:00

प्रतिकृया दिनुहोस्