वैदेशिक रोजगारी भन्नासाथै अधिकांशले खाडी मुलुक, मलेसिया, ब्रुनाईजस्ता देश सोच्छन्। तर, रोजगारी खोज्दै नेपाली नपुगेको सायदै मुलुक होला। श्रम स्वीकृति लिएर १ सय ७२ मुलुकमा नेपाली युवायुवती पसिना बगाउन पुगेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यी देशमा संस्थागत र व्यक्तिगत तवरमा श्रम स्वीकृति लिएर नेपाली रोजगारीमा जाने गरेका छन्।
रोजगारीको खोजीमा नेपालीहरू विश्वका हर कुनामा पुगे पनि उनीहरूलाई आकस्मिक विपत्ति पर्दा के गर्ने भन्ने संयन्त्रचाहिँ नेपालसँग छैन। जसले गर्दा सहज जीवनका लागि काम खोज्दै विश्वभर छरिएका नेपालीहरू विपत् पर्दा उच्च जोखिममा रहेका छन्। विगतमा समेत आपत्कालीन उद्धार नहुँदा नेपाली नागरिकले हैरानी खेपेका उदाहरण बग्रेल्ती भेटिन्छन्।
जस्तै; दुई वर्षअघि अफ्रिकी मुलुकमा तस्करी भएर पुगेका २६ जना नेपाली महिला अलपत्र परेको खबर पाएको दुई महिनासम्म पनि नेपालले उनीहरूलाई केही गर्न सकेन। अन्ततः ताजकिस्तानस्थित भारतीय नियोगको सहयोगमा ती महिलाको उद्धार भयो। दुई महिनाअघि मात्र अफगानिस्तानमा विद्रोही तालिबान लडाकुले सत्ता कब्जा गर्दा त्यतै अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन भारतीय सहयोग लिनुपरेको थियो।