एमाले जुम्ला अध्यक्षमा दाेहाेरिए शान्तिलाल

नेकपा एमाले जुम्लाको ८ औं जिल्ला अधिवेशनबाट शान्तिलाल महत पुन: अध्यक्षमा निर्वाचित भएका छन्।

उनी सर्वसहमतिमा अध्यक्ष भएका हुन्। अध्यक्षबाहेक अन्य पदमा निर्वाचन हुने देखिएको छ।

उपाध्यक्षमा हंशवहादुर रोकाया र सुरतवहादुर शाहीको उम्मेदवारी परेको छ भने सचिवमा धनकृष्ण पाण्डे र जयवहादुर खत्रीको उम्मेदवारी परेको निर्वाचन मण्डलका संयोजक मीमवहादुर महतले बताए।

उनका अनुसार दुई जना उपसचिवका लागि ४ जनाको दरखास्त परेको छ। राम नेपाली, धर्मेन्द्र रोकाया, मानवहादुर रोकाया र प्रेम बुढाको उपसचिव पदमा उम्मेदवारी परेको हाे।

आइतबार बिहान ८ बजेसम्म उम्मेदवारीविरुद्ध दावी विरोधको समय तोकिएको निर्वाचन समितिले जनाएकाे छ।

जिल्ला कमिटी सदस्यको पदमा पालिका स्तरमा सहमति गर्न पार्टीले निर्देशन जारी गरेकोले सबै छलफलमा जुटेका छन्। सर्वसहमतिमा पदाधिकारी चयन गर्ने भनिए पनि पदाधिकारीका आकांक्षीहरु धेरै देखिएकाले निर्वाचन हुने पार्टी सचिव धनकृष्ण पाण्डेले बताए।

'पदाधिकारीमा धेरै जना आकांक्षी देखिएपछि सहमतिमा पदाधिकारी चयन गर्ने कसरतमा पार्टी लागि परेको छ,' उनले भने, 'निर्वाचन र सहमति दुबैको प्रयास भएकाले के हुन्छ अहिले नै भन्न सकिने अवस्था छैन।'

पार्टी सचिवमा पाण्डेकाे उम्मेदवारी परे पनि सकभर सहमतिका आधारमा पदाधिकारी सहित जिल्ला कमिटीका सदस्य चयन गर्ने विषयमा छलफल भएकाे उनले थपे।

५ जना पदाधिकारी सहित ९० सदस्यीय जिल्ला कमिटी चयन हुने नेकपा एमाले जुम्लाले जनाएको छ।

प्रकाशित मिति: : 2022-01-09 12:24:00

प्रतिकृया दिनुहोस्